कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालका ५ सय ९७ खेलाडी प्रतिस्पर्धामा : एथलेटिक्स र भारोत्तोलनका खेलाडी कटौती

कुशल तिमल्सिना

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ सय ९७ नेपाली खेलाडीको सहभागिता रहने निश्चित भएको छ । राष्ट्रिय टिम तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्याराग्लाइडिङबाहेक २८ खेलमा नेपालका ३ सय १३ पुरुष र २ सय ८४ महिला खेलाडीको प्रतिस्पर्धा रहने जानकारी दिएको हो । 

नेपालका ५ सय ९७ खेलाडी प्रतिस्पर्धामा : एथलेटिक्स र भारोत्तोलनका खेलाडी कटौती

प्रतिस्पर्धी टिम नभएपछि सागबाट प्याराग्लाइडिङ खेल हटाइएको छ । यद्यपि टिम दर्ता समय बुधबारसम्म निर्धारण गरिएको छ । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले संघसँगको सम्पर्कमा अन्य टिमको दर्ता सम्भावना समाप्त भएको जानकारी पाएपछि प्याराग्लाइडिङको खेलाडी कटौती गरिएको बताए । एथलेटिक्स र भारोत्तोलनमा पनि कटौती भएको छ । एथलेटिक्समा २८ जना र भारोत्तोलनमा ६ खेलाडी कटौती हुनेछन् ।


एथलेटिक्समा महिला र पुरुषका १८–१८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा एउटा देशबाट बढीमा २ खेलाडी समावेश गर्न पाइने प्रावधान छ । नेपालबाट एथलेटिक्समा पुरुषतर्फ २६ र महिलातर्फ १८ गरी ४४ खेलाडीको सहभागिता रहनेछ ।


‘हामीले सबै स्पर्धामा २ खेलाडी समावेश गरेका छैनौं । यद्यपि नेपालले सबै इभेन्टमा भाग लिनेछ । पदकको सम्भावना भएका म्याराथन, मध्यम दूरीका ८ सय, १५ सय, ५ हजार र १० हजार मिटरलगायतका दौडमा २ खेलाडी हुनेछन् । फिल्डतर्फका स्पर्धामा नेपाल कमजोर छ र त्यसमा एक खेलाडीमात्र राखिनेछ,’ खेलाडी कटौतीको कारणबारे एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङले भने । उनले म्याराथन तथा ५ हजार र १० हजार मिटरमा स्वर्ण पदकको दाबीसमेत गरे ।


भारोत्तोलनले पनि १० मध्ये ७ स्पर्धामा मात्र सहभागिता जनाउने छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अहिले पुरुष/महिला १०–१० खेलाडी छन् । नेपालले सहभागिता जनाउने स्पर्धाको टुंगो प्रतियोगिताको दुई दिनअघि मात्र लाग्ने संघका महासचिव पार्थ सारथी सेन गुप्तले जानकारी दिए । ‘यसअघिका दुई संस्करणमा पनि हामीले ६ स्पर्धामा मात्र सहभागिता जनाएका थियौं । अन्य टिमको दर्ता हेरेर पदकको सम्भावना बढी भएको तौल समूहमा प्राथमिकता दिनेछौं,’ उनले भने ।


मंगलबार पत्रकार सम्मेलनमा संयोजक रानाभाटले राष्ट्रिय टिम तयारीले गरेका काम र उपलब्धिको फेहरिस्त प्रस्तुत गरेका थिए । सागलक्षित तयारीका लागि २१ खेलका राष्ट्रिय टोलीले बैदेशिक प्रशिक्षण तथा प्रतियोगितामा सहभागी भएको, खेलाडीहरूलाई इन्ज्युरीबाट जोगिने, एन्टी डोपिङ, मनोवैज्ञानिक अभिप्रेरणा, पोषण र खुराक तथा प्रशिक्षण विधिविज्ञानबारे तालिम दिइएको उनले जानकारी दिए ।


सागलक्षित तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठ १५ देखि चरणबद्ध प्रशिक्षण सिविर सञ्चालन गरेको थियो । जेठ १५ देखि साउन १ सम्म विशेष प्रशिक्षण, साउन १ देखि भदौ १५ सम्म पहिलो चरण, भदौ १६ देखि असोज मसान्तसम्म दोस्रो चरण सम्पन्न भएको छ । कात्तिक १ देखि प्रतियोगितासम्म चल्ने तेस्रो चरणको प्रशिक्षण जारी छ । अहिले १२ खेलका राष्ट्रिय टोली विदेशमै रहेर तयारी गरिरहेका छन् ।


‘एसियाली खेलकुददेखि आठौंसम्मको तयारीका क्रममा बन्द प्रशिक्षणको अवधि लामो रह्यो । सागकै लागि पनि टोलीले ६ महिनाको प्रशिक्षण पाएका छन्,’ संयोजक रानाभाटले भने, ‘हामीले उच्च तयारी गरेका छौं र अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल हुनेमा ढुक्क छौं ।’ राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार एउटा कार्यक्रममा नेपालले आसन्न सागमा ५० स्वर्ण जित्ने भविष्यवाणी गरेका थिए ।


राष्ट्रिय टिम तयारीका लागि ४५ करोड रुपैयाँ छुट्याइएको संयोजक रानाभाटले जानकारी दिए । ‘हामीले त्यही सिलिङमा रहेर खर्च गरेका छौं,’ उनले थपे । सागको तयारीमा रहेका खेलाडीले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी क्रमश: २ हजार, २२ सय र २५ सय रुपैयाँ पाइरहेका छन् । त्यसबाहेक २ सय ५० रुपैयाँ पाकेट खर्च पनि उपलब्ध गराइएको छ ।


प्रकाशित : मंसिर ४, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?