१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वर्ण लयमा फर्कने आशा

विनोद पाण्डे

काठमाडौँ — बिहानको लाइट सेसनमा नेपाली खेलाडी निकै जोससँग मुक्का बर्साउने प्रयास गरिरहेका थिए । प्रशिक्षणभर प्रशिक्षक अलिक्सियर रामोले केही भनेनन् । खेलाडीले जसरी खेलिरहेका थिए, त्यसलाई खुला छाडिदिए । प्रशिक्षण सकिएपछि भने यी उज्वेकिस्तानका प्रशिक्षकको हाउभाउ अर्कै थियो । 

स्वर्ण लयमा फर्कने आशा

उनी काठमाडौं आएर नेपाली टोली हेर्न लागेको एक महिनामात्र भएको छ । त्यसैले नेपाली खेलाडी र टोलीबारे बुझ्न उनलाई अझै समय लागिरहेको छ । प्रशिक्षक रामो चाहन्छन् नेपाली खेलाडीले जुन जोस प्रशिक्षणमा देखाएका छन्, त्यो एकैपल्ट दक्षिण एसियाली खेलकुदको बक्सिङ रिङभित्र देख्न पाइयोस् । उनको हिसाबमा अहिलेको प्रशिक्षण भनेको विस्तारै लय समात्ने मात्र हो र आरामसँग प्रशिक्षण गर्ने हो ।


नेपालको अन्तिम चरणको प्रशिक्षण असोज १ देखि सुरु भएको हो । त्योभन्दा अघि थाइल्यान्डमा ५५ दिन प्रशिक्षण गरेको थियो नेपाली टोलीले । वैकल्पिकमा रहेकाहरू काठमाडौंमा बसेर प्रशिक्षण गरिरहेका थिए । असोजपछि चार साता पोखरा बसेर प्रशिक्षण गरेको थियो । पोखराको प्रशिक्षण पावर र स्ट्रेन्थ बढाउनका लागि थियो । डाँडातिर दौडिनुका साथै जिम हुन्थ्यो त्यहाँ । यसले पावर र फिटनेस दुवै बढथ्यो ।


महिला बक्सर संगीता सुनार


‘हाम्रो घुमाउरो प्रशिक्षण भइरहेको छ । थाइल्यान्डमा प्रशिक्षण गर्‍यौं, त्यसपछि पोखरा गयौं, पोखराबाट यहाँ आएका छौं । समग्रमा राम्रै भएको छ । अझ अलिकति लामो प्रशिक्षण गर्न सकिन्थ्यो,’ उज्वेक रामोसँगै नेपाली टोलीको प्रशिक्षकमा रहेका प्रकाश थापामगरले भने, ‘विदेशी प्रशिक्षक भर्खर आउनुभएको छ, उहाँको प्रशिक्षण, रणनीति सबै राम्रो देखिएको छ । तर हाम्रो र उहाँको प्रशिक्षणमा अलिकति फरक देखिएको छ । उहाँ आफू पनि विश्व च्याम्पियन र उहाँको खेलाडी पनि विश्व च्याम्पियन भइसकेकाले प्रशिक्षण अलिकति फरक देखिएको छ । त्यसैले अलिकति समय पाएको भए प्रशिक्षकलाई अझ मौका हुने थियो ।’


नेपालको अभ्यास राम्रो भइरहेको तथा राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले सहयोग गरिरहेकामा खुसी छन् रामो । उनीसँग दुई दर्जनभन्दा बढी व्यावसायिक बक्सिङ भिडन्तको अनुभव छ । त्यसमा २१ बाउट जितेका र ३ बाउट हारेका छन् । उनी एसियन च्याम्पियनसिप र ओलम्पिक खेलिसकेका खेलाडी हुन् । उनी आफूले हेर्न लागेको एक महिनाको अवधिलाई छोटो मान्छन् र नेपाली खेलाडीको प्रशिक्षण समय कम भएको स्वीकार्छन् । ५–६ जना धेरै राम्रा बक्सर भएकाले अब गृहकार्य गर्नेतर्फ उनी लागेका छन् ।


अहिले ५–६ जनालाई खेलाए पनि केही फरक नपर्ने तर अरुलाई तिखार्न अझै बाँकी रहेकाले अभ्यास समय केही अपुग देख्छन् थापामगर । रामोलाई थापामगरसहित प्रशिक्षणमा प्रवीण तुलाधर, डम्बरदत्त भट्ट, किशोर लिम्बु, सुरेश मल्ल र दीपक महर्जनले सघाइरहेका छन् । टोलीको व्यवस्थापकमा पुरुषतर्फ प्रेम पौंजु र महिलामा प्रमिला राई छन् । प्राय: सबै प्रशिक्षक सागका पदकधारी हुन् ।


प्रकाश र उनका भाइ रामचन्द्रले सन् १९९९ मा घरेलु भूमिमा स्वर्ण जितेयता नेपाली खेलाडी सागमा त्यो उपलब्धिबाट रोकिँदै आएका छन् । दुई दशकपछि साग नेपालमै फर्किएर आएको छ । बक्सिङको स्वर्ण खडेरीमा पनि पुरिएला त ? ‘५–६ जना खेलाडी बलिया छन् । भारतसँग पनि प्रतिस्पर्धा गर्नलायक खेलाडी छन् । उनीहरूबाटै हो हामीले स्वर्ण पदकको आशा गरेको,’ थापामगर भन्छन्, ‘महिलामा पुनम रावल र संगीता सुनार राम्रो खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरूले राम्रो चुनौती तेर्स्याउँदै आएका छन् । भारतलाई पनि राम्रो चुनौती दिनसक्ने भएकाले हामीले उनीहरूबाट स्वर्ण पदकको आशा गरेका छौं ।’


प्रशिक्षक थापामगरले पुरुष ४९ केजीमा सुशील थापामगर, ५२ केजीमा तेजबहादुर देउवा, ६४ केजीमा भूपेन्द्र थापा, ७५ केजीमा दीपक श्रेष्ठ र ९१ केजीमाथि आशिष दवाडीले राम्रो फाइट दिनसक्ने भएकाले आशा राखेका छन् । भारतमा सन् २०१६ मा भएको पछिल्लो सागमा घरेलु टोलीले पुरुष र महिलाको सबै स्वर्ण ‘क्लिनस्विप’ गरेको थियो । त्यसैले भारतीय खेलाडीलाई हराउन सके स्वर्ण पक्का जस्तै भएको नेपाली टोलीले बुझेको छ । ‘मैले नेपालबारेमा सुन्न त सुनेको थिएँ । त्यति राम्रोसँग थाहा थिएन । तर मैले एउटा कुरा के थाहा पाए भने नेपालले बक्सिङमा उच्च स्तरमा पदक लिन सकेको रहेनछ । नेपाली खेलाडीलाई ओलम्पिकमा छनोट गराउने मेरो प्रमुख लक्ष्य हो,’ नेपाली खेलाडीलाई लिएर रामोमा अझै केही अन्योलता देखिन्छ । तर नेपालले केही स्वर्ण जित्ने उनी बताउँछन् ।


‘दक्षिण एसियाली खेलकुदमा पनि हाम्रो लक्ष्य राम्रै छ । नेपाली खेलाडी कमजोर त कमजोर छन् । नेपाली खेलाडीलाई शीर्ष बनाउन लागिरहेको छु । ५–६ स्वर्ण पदक ल्याउने आशा मैले देखेको छु,’ रामोले अगाडि भने, ‘हाम्रा लागि मुख्य प्रतिद्वन्द्वी भनेको भारतीय नै हुन् । दक्षिण एसियाका अरु प्रतिद्वन्द्वीभन्दा भारत धेरै अगाडि छ । पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटान त्यति नै बलियो छन् जस्तो मलाई लाग्दैन ।’



सागमा पदक जित्ने बक्सिङ खेलाडी

पहिलो :१९८४, काठमाडौं

स्वर्ण :स्व. दलबहादुर रानामगर

रजत :प्रकाश तुलाधर, प्रवीण तुलाधर, उत्तम श्रेष्ठ, मनबहादुर श्रेष्ठ, राम अवाले

कांस्य :उमेश मास्के


दोस्रो : १९८५, ढाका

रजत :स्व. पुष्करध्वज शाही

कांस्य : अनुप लामा, प्रवीण तुलाधर, स्व. दलबहादुर रानामगर, कुमार केसी, मनबहादुर श्रेष्ठ,

कृष्ण थापा


तेस्रो :१९८७, कोलकाता

स्वर्ण : स्व. दलबहादुर रानामगर

रजत :स्व. पुष्करध्वज शाही, रामबहादुर गिरी, चित्रबहादुर गुरुङ, विजय देउजा

कांस्य : मनोजकुमार श्रेष्ठ, लालबहादुर विक, शम्भु विक, सुशील पोखरेल, किशोरकुमार थापा


चौथो : १९८९, इस्लामाबाद

स्वर्ण : चित्रबहादुर गुरुङ

रजत :विष्णुबहादुर सिंह, सुरेश मल्ल, स्व. दलबहादुर रानामगर, गणेशबहादुर भट्टराई

कांस्य : ध्रुवलाल श्रेष्ठ, सुशील पोखरेल, डम्बर दत्त भट्ट, रामबहादुर गिरी, लालबहादुर विक,

किशोरकुमार थापा


पाँचौं : १९९१, कोलम्बो

रजत :विष्णुबहादुर सिंह, कृष्णमान श्रेष्ठ, प्रकाश थापामगर

कांस्य : ओम मास्के, सुरेश मल्ल, तेजबहादुर चन्द, प्रेमकृष्ण महर्जन, रामबहादुर साउद, किशोर थापा, सुरज डंगोल


छैटौं :१९९३, ढाका

रजत :निमा तामाङ, उमेश कटुवाल

कांस्य : रामबहादुर साउद, चित्रबहादुर गुरुङ,

राजकपुर थापा, पूर्णबहादुर गुरुङ,

किशोर थापा, ओम मास्के, होमबहादुर थापा


सातौं : १९९५, मद्रास

कांस्य : हरिबहादुर केसी, निमा तामाङ, शेरबहादुर रानामगर, कृष्णमान श्रेष्ठ, बुद्धिबहादुर पोखरेल, रणबहादुर साउद, चित्रबहादुर गुरुङ, राजकुमार थपलिया, सुरज डंगोल


आठौं : १९९९, काठमाडौं

स्वर्ण : प्रकाश थापामगर र रामचन्द्र थापामगर

रजत : रामकुमार भट्टराई, राजन डंगोल, प्रेमकृष्ण महर्जन, हरिबहादुर केसी, रमेशदास श्रेष्ठ

कांस्य : निमा तामाङ, इन्द्रबहादुर रानामगर

नवौं :२००४, इस्लामाबाद

रजत :विष्णुप्रसाद रिजाल

कास्य : दीपेन्द्र महर्जन, धनबहादुर हिताङ, सूर्यबहादुर रानामगर, हरिचन्द्र खड्का, कुलबहादुर रावल


दसौं :२००६, श्रीलंका

रजत :सुशील घिमिरे

कांस्य : महेश रिजाल, पूर्णबहादुर लामा, अनिल गुरुङ, विष्णु रिजाल


एघारौं : २०१०, ढाका

रजत : अजित गुरुङ

कास्य : लक्ष्मण साउद


बाह्रौं : २०१६, गुवाहाटी/सिलोङ

कांस्य : दीपक श्रेष्ठ, मिनु गुरुङ, सरस्वती रानमगर

प्रकाशित : मंसिर ४, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?