कुस्तीको तयारी : ‘एक्सपोजरबिना शतप्रतिशत दिन्छौं’

सुवास बिडारी

(मकवानपुर) — १३ औं दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा कुस्ती खेलाडी र प्रशिक्षक अन्तिम तयारीमा जुटेका छन् । साउन १० देखि हेटौंडामा बन्द प्रशिक्षण सुरु गरेको कुस्तीका खेलाडी तथा प्रशिक्षकहरू प्रतियोगिता नजिकिँदै गर्दा पनि म्याच एक्सपोजर र वैदेशिक प्रशिक्षण नपाउँदा निराश भएका छन् । सागमा समावेश विभिन्न खेलका खेलाडीहरू बन्द प्रशिक्षणका लागि विभिन्न देश गए पनि कुस्तीका खेलाडीले त्यो मौका पाएनन् ।

कुस्तीको तयारी : ‘एक्सपोजरबिना शतप्रतिशत दिन्छौं’

‘प्रशिक्षणका लागि इरान वा भारत लैजाने भनिएको थियो । तर हाम्रो संघको आन्तरिक विवाद र राष्ट्रिय खेलकुद परिषद्बाट बजेट उपलब्ध नहुँदा त्यो सम्भव भएन । हामीलाई वैदेशिक प्रशिक्षणका लागि बिदाइ गरिए पनि उड्न भने पाएनौं,’ कुस्तीका मुख्य प्रशिक्षक ब्रम्हदेव यादवले इरानमा प्रशिक्षणका लागि सबै कागजपत्र तयार पारिएको र बिदाइसमेत भएको अवस्थामा उड्न नपाउँदा खेलाडीहरू निराश भएको सुनाए ।


प्रशिक्षक यादवले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण खेलमा खेलाडी सहभागी हुन नपाए पनि आफ्ना खेलाडीले सागमा शतप्रतिशत मिहिनेत गर्ने दाबी गरे । ‘विदेशी खेलाडीसँग प्रतियोगताअगाडि प्रतिस्पर्धा गर्ने मौका प्राप्त भएको भए मनोवैज्ञानिक रूपमा हाम्रा खेलाडीहरू बलिया हुने थिएँ । तर राखेपका कारण सम्भव भएन । हामीलाई आवश्यक बजेट उपलब्ध नगराउँदा समस्या भयो ।’ उनले यस्तो अवस्थामा पनि आफूहरू राष्ट्रका लागि खेल्न तयार रहेको र पदक जितेरै छाड्ने दाबी गरे ।


मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुर साग हुँदै छ । कुस्तीको खेल जनकपुरमा हुनेछ । सागका लागि बन्द प्रशिक्षणमा सहभागी ४२ खेलाडीबाट तीन चरणको छनोटपछि ७–७ महिला/पुरुष खेलाडी अन्तिम छनोट भएका छन् । छनोट खेलाडीहरू अहिले विशेष निगरानीमा प्रशिक्षण गरिरहेका छन् ।


कुस्ती खेलाडीहरू अहिले दैनिक दुई चरणमा प्रशिक्षण गर्छन् । उनीहरूले बिहान शारीरिक र दिउँसो प्राविधिक विषयमा प्रशिक्षण लिइरहेका छन् । ‘शारीरिक, मानसिक र प्राविधिक रूपमा बलियो बनाउने गरी खेलाडीलाई प्रशिक्षण दिइरहेका छौं,’ प्रशिक्षक यादवले भने ।


सागको पुरुषतर्फ ५७ केजीमा नरेश यादव, ६५ केजीमा सरोज यादव, ७० केजीमा सुरेश चुनारा, ७९ केजीमा बुनीलाल राउत ऐर, ८६ केजीमा सागरकुमार यादव, ९२ केजीमा सुमिरकुमार शाह तथा १२५ केजीमा राम यादवले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ५० केजीमा मनीषा सिंह, ५३ केजीमा शिवाङ्गी दुबे, ५५ केजीमा संगीता धामी, ५७ केजीमा अम्बिका भण्डारी, ५९ केजीमा कोमल खत्री, ६२ केजीमा सुशीला चन्द र ६८ केजीमा निर्मला जांगरी छन् ।


भारतमा सम्पन्न १२ औं सागमा ६५ केजीतर्फ पुरुषमा सरोज यादव र ६१ केजीतर्फ रामबाबु यादवले कांस्य पदक जितेका थिए । ‘यसपल्ट हामीले स्वर्ण पदक नै जित्ने गरी तयारी गरेका छौं । प्रशिक्षणको समयमा खेलाडीलाई डेंगु भएका कारण केही समस्या भएको थियो । तर हामी महिला र पुरुष गरी कम्तीमा पाँच स्वर्णको आस गरेका छौं । हामीलाई विशेष गरी घरेलु दर्शकको फाइदा उठाउने छौं,’ मुख्य प्रशिक्षक यादवले कुस्ती खेल जनकपुरमा लोकप्रिय रहेको र घरेलु दर्शकको समर्थन बढी हुने विश्वास व्यक्त गरे ।


सागका लागि कुस्तीतर्फ यादवसहित धर्मराज यादव, ममताज अली इद्रिसी, शिरोधारी यादव र राजेन्द्र चन्दले खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् ।

प्रकाशित : मंसिर ३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?