कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल इमर्जिङबाट बाहिरियो

काठमाडौँ — बंगलादेशसँग ८ विकेटको पराजयपछि नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बंगलादेशमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित नेपालले शनिबार हङकङमाथि ४० रनको जित पाएको थियो । 

नेपाल इमर्जिङबाट बाहिरियो

तीन खेलमा दोस्रो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । यस प्रतियोगितामा नेपाल अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन । बंगलादेश तीनै खेल जित्दै समूह ‘बी’ को विजेता बन्यो । भारत १ हार र २ जित नतिजासहित सेमिफाइनल पुगेको छ । भारतले सोमबार अन्तिम लिग खेलमा हङकङलाई १ सय २० रनले पराजित गर्‍यो । हङकङ सबै ३ खेलमा पराजित भयो ।


ढाकास्थित बीकेएसपी–३ मैदानमा बंगलादेशले टस जितेपछि ब्याटिङमा निम्त्याइएको नेपाल ४४.३ ओभरमा १ सय ३८ रनमा अलआउट भयो । नाजमुल सान्तोले ५६ बलमा अविजित ५९ रन बनाएपछि बंगलादेशले २४ ओभरमै लक्ष्य पूरा गर्‍यो । शान्तोले ६ चौका र २ छक्का प्रहार गरे । अर्का अविजित ब्याट्सम्यान यासिर अली चौधरीले १५ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाए ।


बंगलादेशका टेस्ट खेलाडी सौम्य सरकार ११ रनमात्र जोड्दै आउट भए । एक छक्का प्रहार गरेका उनलाई करण केसीले आउट गरे । अर्का ओपनर मोहम्मद नइम शेखले ५६ बलमा ५ चौकासहित ४५ रन बनाए । उनलाई सुसन भारीले आउट गरे । सुसनले ३ ओभरमा २४ रन खर्चिए । करणले ६ ओभरमा २ मेडन राख्दै ११ रनमात्र खर्चे । सोमपाल कामीले ३ ओभरमा २४, पवन सर्राफले ६ ओभरमा ३६ र शरद भेषावकरले ५ ओभरमा ३२ रन खर्चिएका थिए ।


यसअघि कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले सातौं ओभरमा ३३ रन जोड्दै नेपाललाई राम्रो सुरुआत दिलाए । तर ३ रनको अन्तरमा ३ विकेट गुमाएपछि नेपाल १० औं ओभरमा ३५–३ को स्थितिमा पुग्यो । कुशल २२ बलमा १० रन जोडी आउट भए । प्रतियोगिताको पहिलो दुई खेलमा खाता नखोली आउट भएका ज्ञानेन्द्रले २७ बलमा २२ रन बनाउँदा ४ चौका प्रहार गरे । दुबैलाई सुमोन खानले आउट गरे । शरद १ रनमात्र बनाई तनविर इस्लामको बलमा आउट भए ।


दीपेन्द्रसिंह ऐरी ६, आरिफ शेख ११, पवन ९, सन्दीप जोरा शून्य र विनोद भण्डारी ८ रनमा आउट भएपछि नेपाल २८ ओभरमा ८५–८ को स्थितिमा पुगेको थियो । सोमपाल र करणले नवौं विकेटमा ५० रनको साझेदारी गरे । नवौं खेलाडीका रूपमा आउट भएका करणले ४७ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाए । सोमुनको तेस्रो सिकार सोमपाल भए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाए । सुसन १ रनमा अविजित रहे ।


सुमोनले ८.३ ओभरमा २९ रन खर्चेर नेपालको महत्त्वपूर्ण ३ विकेट लिए । मिनहाजुल अबेदिन अफ्रिदीले पनि ३ विकेट लिनेक्रममा १० ओभरमा २९ रन नै खर्चे । इस्लाम र मेहदी हसनले २–२ विकेट लिए ।


प्रकाशित : मंसिर ३, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?