१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विश्वकप २०२२ छनोट : थिम्पुमा अंकको आस

राजु घिसिङ

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले २०७२ को महाभूकम्पले जीर्ण बनाएको दशरथ रंगशालाको सबलीकरणको कामलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि रातारात तीब्र पारेको थियो । तर, विश्वकप २०२२ छनोटमा कुवेतविरुद्धको खेल आयोजनालाई सम्भव भएन । त्यसैले नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोटको पहिलो घरेलु खेल (होम म्याच) तटस्थ भूमिमा खेल्न बाध्य भयो । घरेलु मैदानमा खाडी मुलुकविरुद्ध प्रतिस्पर्धा गर्ने अवसरबाट वञ्चित भए पनि नेपाली टिमले भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा मंगलबार खेल्दा अंक जोड्ने आशा गरेको छ ।

विश्वकप २०२२ छनोट : थिम्पुमा अंकको आस

‘यो (कुवेतविरुद्ध) खेल हाम्रा लागि महत्वपूर्ण छ,’ नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले भने, ‘हामी वास्तवमै खेलमा फर्कन चाहन्छौं । हामी कडा मिहिनेत गर्दै चुनौती दिन चाहन्छौं । अरु खेलमा जस्तै यसमा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य बनाएका छौं ।’ छनोटको पहिलो खेल (५ सेप्टेम्बर) मा कुवेत सिटीमा नेपालले अनपेक्षित रूपमा ७–० को हार बेहोरेको थियो । त्यो खेलमा नेपाली टिम मैदानको सबै क्षेत्रमा निरीह बनेको थियो । त्यो प्रदर्शन र नतिजाबाट उक्सिन चाहेको छ कालिनको टिम ।


आजको खेल

नेपालविरुद्ध कुवेत

समय : १४ :४५ बजे


फिफा वरीयतामा ११ स्थानमाथिको प्रतिद्वन्द्वीबारे कालिनले भने, ‘यो छनोटमा कुवेतले धेरै राम्रो गरिरहेको छ तर हामी आत्मविश्वासी छौं ।’ मान्डलयमा नोभेम्बर ७ मा भएको मैत्रीपूर्ण खेलमा नेपाली टिम ३–० ले म्यानमारविरुद्ध हारेको थियो । उक्त खेलमा पहिलो रोजाइका अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी र सन्तोष तामाङ शुक्रबार राति ठमेलका विभिन्न नाइटक्लबमा मोजमस्तीमा रहेको पाइएपछि चारै खेलाडीलाई टिमबाट बर्खास्त गर्दै कालिन २० खेलाडी लिएर शनिबार थिम्पु पुगेका थिए । उक्त नाइट क्लब काण्डबारे उनी बोल्न चाहेनन् । भने, ‘हामीसँग यहाँ थिम्पु) मा रहेका खेलाडीप्रति केन्द्रित हुनु आवश्यक छ । मेरा खेलाडीहरू विमानस्थलबाटै सबै किसिमले राम्रो मनस्थितिमा छन् र कडा संघर्ष गर्न तयार छन् ।’ चार खेलाडीलाई टिमबाट हटाएको केही घण्टामै मिडफिल्डर सुवास गुरुङलाई लिएर कालिनको टिम भुटानतर्फ उडेको थियो ।


कुवेतमा ७–० ले हारेको पाँचौं दिनमै ताइवानमा चाइनिज ताइपेईविरुद्ध २–० को जित रचेको खेलमा अन्जन विष्टले दुवै गोल गरे । त्यसैले उनीसहित चार खेलाडीको अभाव नेपाललाई भुटानी रंगशालामा हुनसक्छ । तर, स्विडिस प्रशिक्षक कालिन अनुशासनलाई प्राथमकिता दिन चाहन्छन् । त्यसपछि आफ्नो रणनीति खेलाडीमार्फत् मैदानमा उतार्न चाहन्छन् । खाडी मुलुकको टिमविरुद्ध थिम्पुको काठमाडौंसँग मिल्दोजुल्दो मौसम पनि नेपाली खेलाडीनिम्ति अनुकूल बन्नसक्छ ।


कुवेतले आफ्नो घरेलु मैदानमा नेपालविरुद्ध ७–० को जित निकालेको पाँचौं दिनमै पाहुना टिम अस्ट्रेलियाले कुवेत सिटीमै ३–० को सफलता रचेको थियो । त्यो हारसँगै कुवेत फुटबल संघले क्रोएसियाली प्रशिक्षक रोमियो जोज्याकलाई बर्खास्त गर्दै थामेर एनादलाई टिम हेर्ने जिम्मेवारी दियो । एनादको टिमले अम्मानमा जोर्डनविरुद्ध गोलरहित खेल्यो भने पाँच दिनअघिमात्रै कुवेत सिटीमा ताइपेईलाई ९–० ले हरायो । ताइपेईविरुद्ध सात खेलाडीले गोल गरे । त्यसैले थिम्पुमा अंक जोड्न नेपाललाई त्यति सजिलो भने छैन ।


‘हामीले राम्रो खेल खेल्ने र ३ अंक जोड्ने आस गरेका छौं,’ कुवेतका प्रशिक्षक थामेर एनादले प्रि–म्याच कन्फ्रेन्समा भनेका छन्, ‘नेपाललाई सजिलो प्रतिद्वन्द्वीका रूपमा लिएका छैनौं । नेपाल कमजोर टिम होइन । उस्तै किसिमको मौसम काठमाडौंको भएकोले यहाँ (थिम्पु) को माहोलले नेपाललाई साथ दिने निश्चित छ ।



मैदानबाहिरको खेल

एसियन कप २०२३ छनोटको रूपमा पनि रहेको यस विश्वकप छनोटको खेलमा नेपाल र कुवेती टिम मैदानमा ओर्लनुअघि नै दुई देशको फुटबल संघबीच मैदानबाहिर ठूलै प्रतिस्पर्धा चलेको थियो । त्यो आयोजनास्थल (रंगशाला) लाई लिएर भएको ‘खेल’ थियो । कुवेतले दशरथ रंगशाला तयार नभएको भन्दै यहाँ खेल्न अस्वीकार गरेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले प्रतिस्पर्धा समितिका पदाधिकारीलाई रंगशाला निरीक्षण गर्न काठमाडौं पठायो । ती प्रतिनिकिकै प्रतिवेदनअनुसार दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एएफसीले नेपालको ‘होम म्याच’ तटस्थ भूमिमा सञ्चालन गर्न एन्फालाई निर्देशन दियो ।


वास्तवमा कुवेती टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने आशामा रणनीतिक रूपमा यो चिसो मौसममा काठमाडौंमा खेल्न चाहँदैनथ्यो । तर, एन्फाले उस्तै चाल चाल्यो काठमाडौंभन्दा जाडो हुने थिम्पुमा खेलाउने प्रस्ताव गर्दै । त्यसविरुद्ध कुवेती फुटबल संघले एएफसीमा लबिइङ गर्‍यो । अन्त्यमा आएर नेपालको पहिलो घरेलु खेल थिम्पुको रंगशालामा गर्न एएफसीले स्वीकिृति दियो । १० हजार दर्शक क्षमताको यो रंगशालामा विंगर सुजल श्रेष्ठलगायत केही नेपाली खेलाडीले क्लब फुटबलमा प्रतिस्पर्धा गरिसकेका छन् । स्वदेशमा आर्टिफिसियल टर्फमा गरिएको अभ्यास र थिम्पुको उस्तै टर्फमा हुने खेल र त्यो मैदानमा अनुभवी खेलाडीको संलग्नताले कुवेतविरुद्ध नेपाली टिमलाई फाइदा गर्नसक्छ ।



प्रकाशित : मंसिर ३, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?