१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रसारण अधिकार अनुभवहीन कम्पनीलाई

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टेलिभिजन प्रसारण अधिकारलाई अनुभवहीन भारतीय कम्पनीसँग सम्झौता गरेको छ । 

प्रसारण अधिकार अनुभवहीन कम्पनीलाई

सम्झौताअनुसार टेलिभिजन प्रसारण मात्र होइन मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुर सहरमा आयोजना हुने प्रतियोगिताका लागि कुनै पनि सञ्चारमाध्यमले आफूखुसी फोटोसमेत खिच्न नपाउने जनाउने थियो । तर साँझ विज्ञप्ती मार्फत पत्रकार सम्मेलनको भनाई फेर्दै फोटो खिच्न बन्देज नरहेको जनाएको छ ।


आइतबार १३ औं सागको प्रसारण अधिकारसम्बन्धी सम्झौता कार्यक्रममा फरक–फरक तीन सम्झौता भयो । दक्षिण एसिया ओलम्पिक काउन्सिलले प्रतियोगिताको टेलिभिजन प्रसारणका लागि भारत उडिसाको एनके मिडिया भेन्चर्स प्रालि र राखेपसँग सम्झौता गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्र श्रेष्ठ र एनके मिडियाका प्रबन्ध निर्देशक प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरे । काउन्सिलले प्रसारण अधिकार र विज्ञापनबापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्नेछ । राखेप आफैंले ल्याउने विज्ञापनमा भने कसैको अधिकार हुने छैन । काउन्सिल र एजेन्ट कम्पनी फिस्कल एजेन्टका प्रतिनिधि प्रियानाथ चट्टोपाध्याय बीच भएको सम्झौतामा एजेन्ट कम्पनीले प्रसारण र विज्ञापनबापतको कमिसन प्राप्त गर्नेछ ।


भारतको भूवनेश्वरबाट उडिसा राज्य लक्षित प्रान्तीय टेलिभिजन नक्षत्र न्युज प्रसारण गरिरहेको एनके मिडिया भेन्चर्सको वेबसाइटमा उल्लेख भएअनुसार उसले चलचित्र, रेडियो, टेलिभिजन र अन्य मनोरञ्जनात्मक गतिविधि गर्दै आएको छ । सम्झौता कार्यक्रममा एनके मिडियाका प्रबन्ध निर्देशक मल्लिकले अन्तर्राष्ट्रिय प्रतियोगिताको अधिकार पहिलोपल्ट लिएको बताए । उनका अनुसार खेलकुदसम्बन्धी कार्यक्रममा यो पहिलो आबद्धता हो ।


एनके मिडियाले राखेपसँग १३ औं सागका लागि ८ करोड रुपैयाँमा प्रसारण अधिकार खरिद गरेको हो । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले प्रशारण अधिकारबाट प्राप्त रकम खेलकुदको विकासका लागि प्रयोग गरिनेमा एनओसीसँग सहमति भएको जानकारी दिए ।


एनके मिडियाले प्रसारण अधिकार लिएर सागमा सहभागी देशका टीभी च्यालनसँगको सहकार्यमा उसले ‘क्लिन फिड’ उपलब्ध गराउनेछ । मल्लिकले सबै देशमा सागको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइने दाबी गरे । नेपालमा नेपाल टेलिभिजनबाट सबै खेलको प्रत्यक्ष प्रसारण हुनेछ । नेपाल टेलिभिजनको हकमा प्रायोजनबाट आउने रकम आधा/आधा गर्ने व्यवस्था गरिएको सदस्यसचिव सिलवालले बताए ।


‘साग खेलकुद इतिहासमै पहिलोपल्ट टेलिभिजन प्रसारण अधिकारका लागि स्वतन्त्र कम्पनीसँग सम्झौता गरेका छौं । यसले नेपाली खेलकुद र खेलकुद प्रतियोगितालाई विश्वव्यापी बनाउन सहयोग पुग्नेछ,’ सिलवालले भने, ‘उनीहरूले १ सय ५० देखि २ सय क्यामरामार्फत सबै २७ खेलको प्रत्यक्ष प्रसारण गर्नेछन् । कम्तीमा १५ वटा टेलिभिजन च्यालनबाट प्रत्यक्ष प्रसारण हुनेछ र स्थानीय सञ्चारमाध्यमका लागि अधिकारप्राप्त कम्पनीले नै आवश्यक खेलको भिडियो फुटेज मिडिया सेन्टरमार्फत उपलब्ध गराउनेछ ।’


सदस्यसचिव सिलवालले सागको प्रत्यक्ष प्रसारणलाई नेपाली टेलिभिजन च्यालनसँग प्रस्ताव गर्दा गर्न नसक्ने जानकारी आएपछि विदेशी संस्थालाई छनोट गरिएको बताए । ‘नेपाल टेलिभिजन र अन्य निजी टेलिभिजन च्यानलसँग प्रस्ताव गर्दा उहाँहरूले नसक्ने जानकारी गराउनुभयो । हामी हाम्रो देशमा हुने प्रतियोगितालाई विश्वव्यापी बनाउन चाहन्थ्यौं र त्यहीअनुसार उहाँहरू छनोटमा पर्नुभएको हो,’ सिलवालले थपे । सम्झौताबारे विस्तृत जानकारी गराइएन ।


सिलवालले टेलिभिजन प्रसारणसँगै फोटो खिच्नका लागि पनि सञ्चारमाध्यमलाई निषेध गरिएको जनाएका थिए । उनका अनुसार राखेप, ओलम्पिक कमिटी र एसियाली ओलम्पिक कमिटीका आधिकारिक फोटोग्राफरहरूले प्रकाशन सञ्चारमाध्यमका लागि आवश्यक तस्बिर उपलब्ध गराउनेछ । फोटो खिच्ने नाममा भिडियो खिचिदिने भएकाले फोटोग्राफरलाई पनि निषेध गरिएको हास्यास्पद तर्क सदस्यसचिवले पत्रकार सम्मेलनमा राखे ।


मुख्यतः छापा तथा अनलाइन पत्रकारबाट गुनासो आएपछि सिलवालले पत्रकार सम्मेलनमै एनके मिडियाका प्रतिनिधिसँग छलफल गरी फोटोको बन्देज हटाउन अनुरोध गरे । फिस्कल एजेन्टका प्रतिनिधि चट्टोपाध्ययले नेपाली छापा सञ्चारमाध्यमका लागि एउटा सञ्चारगृहबाट १ जनालाई फोटो खिच्ने सुविधा दिन सकिने जनाए । २७ खेल समावेश १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदै छ । प्रतियोगितास्थलमा अनलाइन सञ्चारमाध्यमका फोटोग्राफर र भिडियोग्राफर प्रवेश गर्न पाउने छैनन् । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौतालाई ऐतिहासिक कोसेढुंगाको रूपमा व्याख्या गरे ।

प्रकाशित : मंसिर २, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?