२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

‘भव्य पार्न हरसम्भव प्रयास हुन्छ’

कुशल तिमल्सिना

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुदको मिति नजिकिँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तयारीलाई अन्तिम रूप दिन थालेको छ । सात देशका खेलाडी, अफिसियलसमेत गरी करिब ७ हजारको व्यवस्थापन तथा खेलमेला भव्य पार्न हरसम्भव प्रयास गरिने राखेपको दाबी छ । 

‘भव्य पार्न हरसम्भव प्रयास हुन्छ’

मंसिर १५ देखि २४ सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुर सहरमा आयोजना हुने प्रतियोगिताका लागि शनिबारदेखि १५ दिने काउन्टडाउन सुरु भएको छ । तर पूर्वाधार, खेल सामग्रीलगायतका महत्त्वपूर्ण कामहरू सम्पन्न भइसकेका छैनन् । प्रतियोगिताको उद्घाटन तथा समापनस्थल दशरथ रंगशाला र पोखरा रंगशालाको निर्माण जारी छ । राज्यको प्रतिष्ठासँग जोडिएकाले यस प्रतियोगितालाई राष्ट्रिय उत्सवको रूपमा सम्पन्न गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सुनाए ।


‘पूर्वाधारलगायत अनेक तयारीबारे तपाईहरू कसैले पनि शंका गर्नुपर्दैन । नेपालले ठूला प्रतियोगिता आयोजना गर्न सम्भव छ भन्ने सन्देश दिनेगरी प्रतियोगिताअघि नै सबै तयारी सम्पन्न हुनेछ, १३ औं साग भव्य हुनेछ,’ सिलवालले पत्रकार सम्मेलनमा भने । साग आयोजना अपटेडबारे राखेपले लामो समयपछि औपचारिक पत्रकार सम्मेलन गरेको हो । सदस्य–सचिव सिलवालले पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारीलाई एकैसाथ अगाडि लगिएको र सबैमा सन्तोषजनक प्रगति भइरहेको जानकारी गराए । उनका अनुसार सागको पूर्वाधार मंसिर १० सम्म तयार हुनेछ । ‘अधिकांश खेलको पूर्वाधार तयार अवस्थामा छन्,’ उनले भने, ‘सातदोबाटोको पौडीपोखरी र दशरथ रंगशाला मंसिर ७ सम्म र पोखरा रंगशाला १० सम्म तयार हुने स्थिति बनेको छ ।’


सातदोबाटोस्थ्ति वातनुकूलित पौडी पोखरीमा टायल बिछ्याउने काम भइरहेको छ । कम्प्लेक्सको छानो हालेर पोखरीमा पानी भर्ने काम बाँकी छ । दशरथ रंगशालाको भीआईपी प्यारापिटतर्फ छानोका लागि फलामे फ्रेम राख्ने काम अहिले भइरहेको छ । त्यसमाथि फ्याब्रिक छानो राखिनेछ । छानो मंगलबार नै चीनबाट नेपाल आइसकेको छ । पोखरा रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्न बाँकी रहेको सदस्य–सचिवले सुनाए ।


सागका लागि १५ समिति बनाएर तयारी थालिएको थियो । सबै समितिले आ–आफ्नो तयारीलाई अन्तिम रूप दिइएको सिलवालले जनाए । प्रतियोगिताका लागि ४ अर्ब बजेट निकासा भएको छ । त्यसमध्ये १ अर्ब ६२ करोड पूर्वाधार निर्माणका लागि खर्च भएको छ । बाँकी रकम आयोजनामा खर्च भएको छ । अपुग बजेटका लागि सरकारले प्रतिवद्धता जनाइसकेको सिलवालले बताए ।


‘सागमा समावेश खेल आयोजनाका लागि खेल सामग्री आयात अहिले प्रक्रियामा छ । २० खेलको सामाग्री व्यवस्थापन टेन्डर प्रक्रियामा गएको छ भने बाँकी खेलका लागि राखेप आफैंले खरीद प्रक्रिया अगाडि बढाएको छ,’ खेल सामग्री व्यवस्थापनको ढिलाइबारे सदस्य–सचिवले भने, ‘एक सातासम्म सबै खेल सामग्री सम्बन्धित भेन्यूमा पुगिसक्छ ।’


३ सय २४ स्वर्ण पदक

सागमा २७ खेल समावेश गरिएको छ । सबै देशका लागि खेल तथा खेलाडी दर्ताको समय बुधबारसम्म कायम रहेकाले अन्तिम सूची आइसकेको छैन । अहिलेसम्म प्याराग्लाइडिङका लागि नेपाल र पाकिस्तानबाट मात्र टिम दर्ता भएकाले सो खेल हुने/नहुने निश्चित भइसकेको छैन । प्याराग्लाइडिङ भएमा ३ सय २४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । ३ सय २४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि ७ देशका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । सागका लागि नेपालका २१ खेलका खेलाडीहरूले वैदेशिक प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसर पाएका छन् । बाँकी ६ खेलले विदेशी प्रशिक्षक बोलाएर स्वदेशमै प्रशिक्षण गरिरहेको र तयारीलाई क्रमशः अन्तिम रूप दिएको सदस्य–सचिव सिलवालले जानकारी दिए ।


नेपालबाट २७ खेलमै सहभागिता हुनेछ । समावेश सबै खेलमा सहभागिता जनाउने नेपालमात्र हो । जहाँ ६ सय ४८ खेलाडी उत्रँदैछन् । त्यसपछि बंगलादेश २५, भुटान १४, भारत २०, माल्दिभ्स १०, पाकिस्तान १८ र श्रीलंकाले २५ खेलमा सहभागिता जनाउने निश्चित गरेका छन् । दर्ता अवधि बुधबारसम्म रहेकाले यो संख्या थपिन सक्नेछ ।


आसन्न सागमा नेपालले कम्तीमा ५० स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । ‘आठौं संस्करणमा १२ खेल समावेश थियो । हामीले ३१ स्वर्ण जितेका थियौं । अहिले खेलसंख्या दोब्बरभन्दा बढी छ । हामीले कम्तीमा ५० स्वर्णको अपेक्षा गरेका छौं, त्योभन्दा बढी हुनेमा ढुक्क पनि छौ,’ सदस्य–सचिवले पदक लक्ष्य सुनाए । उनले पदक जित्ने खेलाडीको प्रोत्साहनका लागि प्रधानमन्त्रीबाट केही दिनमा सम्बोधन हुने गरी कार्यक्रम आउने बताए ।


उद्घाटनमा १५ हजारको मार्चपास

सदस्य–सचिव सिलवालले सागको उद्घाटनमा नेपालको कला, संस्कृति र गौरव झल्काउने तथा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी प्रस्तुति रहने जानकारी दिए । सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल संयोजक रहेको समारोह समितिले हल्चोक मैदानमा अहिले तयारी गरिरहेको छ ।


मंसिर १ देखि दशरथ रंगशालामै आंशिक रूपमा तयारी गरिने, मंसिर ८ देखि पूर्ण तयारी रंगशालामा गरिने, मंसिर ११ र १२ गते प्रि–रिहर्सल तथा १३ मा ग्रान्ड रिहर्सल गरिने राखेपले जनाएको छ । ‘३ घण्टा १४ मिनेटको उद्घाटन समारोहमा नेपालको पहिचान स्मरण गराइने छ,’ सिलवालले भने, ‘१५ हजारभन्दा बढी खेलाडी/कलाकारको मार्चपास तथा प्रस्तुति रहनेछ, लेजर बिमको प्रयोग गरिनेछ र पहिलोपल्ट ड्रोनको प्रयोग गर्न लागेका छौं ।’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिककै छातामुनि रहेर हुने प्रतियोगिता भएकाले सागलाई भव्य कुनै कन्जुस्याइँ गर्न नहुने बताए । रंगशालामा प्रत्यक्ष उद्घाटन हेर्न नसक्नेका लागि जनकपुर, पोखरा र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५० स्थानमा ठूला स्क्रिनबाट देखाइने व्यवस्था मिलाइने सदस्य–सचिवले जानकारी गराए । पुरुष फुटबलको फाइनल सकिएपछि दशरथ रंगशाला र महिला फुटबलको फाइनल सकिएपछि पोखरा रंगशालामा समापन समारोह हुनेछ ।


सातै राष्ट्रको प्रतिनिधित्व हुने गरी १३ औं सागका लागि तयार पारिएको डिजिटल प्रोमोको प्रसारण त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा शनिबारै सुरु गरिएको छ । सागको आधिकारिक वेबसाइट पनि सुरुआत गरिएको थियो ।

प्रकाशित : मंसिर १, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?