१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एसीसी इमर्जिङ टिम्स कप : नेपालको पहिलो जित

कान्तिपुर संवाददाता

काठमाडौँ — शरद भेषावकरको सानदार ८९ रन र विनोद भण्डारीको कीर्तिमानमा नेपालले एसीसी इमर्जिङ टिम्स कपमा पहिलो विजय हात पारेको छ । बंगलादेशमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित नेपालले शनिबार हङकङमाथी ४० रनको विजय हात पार्‍यो । 

एसीसी इमर्जिङ टिम्स कप : नेपालको पहिलो जित

शरदले क्रिजमा डटेर खेलेपछि नेपाल ढाकास्थित बिकेएसपी ३ मैदानमा पुरा ५० ओभर खेली २ सय १७ रनमा अलआउट भयो । जबाफमा आएको हङकङलाई नेपालले ४५.५ ओभरमा १ सय ७७ रनमा अलआउट गर्‍यो । हङकङको यो लगातार दोस्रो हार हो ।

बंगलादेश पहिलो दुई खेल जिति समूह ‘बी’ को शीर्ष स्थानमा छ । भारत जस्तै नेपालको २–२ अंक छ । बंगलादेशले भारतलाई शनिबार भएको खेलमा ६ विकेटले पराजित गरेको थियो । भारतले बनाएको २ सय ४६ रनलाई बंगलादेशले ४३ औं ओभरको पहिलो बलमा पुरा गर्‍यो । नेपालले सोमबार बंगलादेशसँग खेल्ने छ । सेमिफाइनल पुग्नका लागि नेपाललाई सो खेल जित्नै पर्नेछ ।

टस हारेर आएको नेपालको सुरुआत राम्रो रहेन । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल सुरुमै पेभेलियन फर्किए । कप्तान ज्ञानेन्द्रले लगातार दोस्रो खेलमा खाता खोल्न सकेनन् । भारतसँगको खेलमा नेपालबाट ‘डेब्यु’ गरेका कुशलले १ रनमात्र जोड्न सके । शरदले उपकप्तान दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटमा ८३ रनको साझेदारी गरे । दीपेन्द्र ६७ बलमा ३ चौका प्रहार गरी ३७ रनमा आउट भए ।

आरिफ शेखले शरदलाई बलियो साथ दिए । यी दुईले पाँचौं विकेटमा ७४ रन जोडे । आरिफले ४८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन बनाए । शरद नेपाली इनिङ्सको अन्तिम बलमा आउट भए । उनले १ सय ३९ बलको इनिङ्समा ९ चौका प्रहार गरे । यस बिचमा पवन सर्राफ शुन्य, विनोद भण्डारी १५, करण केसी ७ र सुशन भारी ६ रनमा आउट भए । अन्तिम बलको सामना गरेका ललितनारायण राजवंशी १ रनमा रनआउट भए । हङकङका एइजाज खानले ३ तथा नसरुल्ला राना र इहसान नवाजले २–२ विकेट लिए ।

हङकङका सुरुआत निकै खराब रहयो । टोलीले ४७ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । त्यसमा करण केसीले २ र राष्ट्रिय टोलीबाट ५० ओभरमा पहिलो खेल खेलिरहेका अविनाश कर्णले २ विकेट लिए । सबै क्याच विकेटकिपर विनोद भण्डारीको नाममा थियो । उनले अर्को क्याच लिदैं एकै खेलमा ६ शिकार बनाउने पहिलो नेपाली खेलाडी बने ।

हङकङबाट किन्चित शाहले ५३ रन बनाए । उनले ८० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । इहसान नवाज ५३ बलमा ४४ रन बनाई अविजित रहे । नेपालबाट करण र अविनाशले ३–३ विकेट लिए । करणले ९ ओभरमा १ मेडन राख्दै र अविनाशले ९ ओभरमा २ मेडन राखि समान ३२ रन खर्चे । सुशनले २ विकेट लिए ।


प्रकाशित : कार्तिक ३०, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?