महिला च्याम्पियनको भव्य स्वागत

‘यो सुरुआत मात्रै हो’
कुशल तिमल्सिना

काठमाडौँ — पाँच महिनाअघि नेपाल भलिबल संघको छनोट समितिले तत्कालीन कप्तानसहित केही सिनियरलाई विश्राम दिएर युवा र कम अनुभवी खेलाडी दक्षिण एसियाली खेलकुदजस्तो प्रतियोगिताका लागि छनोट गर्ने साहसिक र अप्रत्यासित कदम चालेको थियो । वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको प्रदर्शन आधारमा भनिएको छनोट त्यतिबेला विवादमा पर्‍यो । नियमित कप्तान, उपकप्तानसहित चार खेलाडी टिमबाट बाहिर राखियो । धेरै खेलाडीलाई पहिलोपल्ट क्याम्पमा प्रवेश गराइएको थियो । 

महिला च्याम्पियनको भव्य स्वागत

यही कम अनुभवी र युवा खेलाडीको बाहुल्य रहेको राष्ट्रिय महिला टोलीले यति छोटो समयमै नेपाललाई ऐतिहासिक सफलता दिलाइदियो, जसको स्वाद नेपाली भलिबलले नै अहिलेसम्म लिन पाएको थिएन । बंगलादेशको सहिद सूरवार्दी इन्डोर कभर्डहलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरी पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । राष्ट्रिय खेलका विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धिमेबाजासहित भव्य स्वागत गरियो ।


कप्तान अरुणा शाहीको शब्दमा खुसी उपाधि जितेभन्दा स्वागतको यो तरिकाले दिलायो । किनभने उनीहरूले अहिलेसम्म यस्तो स्वागत देखेका थिएनन् । यसपल्ट पनि अपेक्षा गरेका थिएनन् ।


‘हामीले लामो समयदेखि महिला भलिबलमा अन्तर्राष्ट्रिय सम्भावनाबारे वकालत गरिरहेका थियौं,’ खेलाडी स्वागत गर्न विमानस्थल पुगेका भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने, ‘१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा यो उपाधिले हाम्रो टिमलाई ठूलो हौसला दिएको छ । संघको लगानीमा खेलाडीले आफूलाई प्रमाणित गर्न सकेका छन् ।’


महासचिव चन्दले राष्ट्रिय टोली छनोटका लागि लिइएको साहसिक निर्णयको कारण यस सफलतालाई आंशिक रूपमा स्वीकारे । ‘धेरै हदसम्म जेठमा हामीले छनोट गरेको टिम नै नेपाललाई च्याम्पियन बनाउने आधार हो । त्यसबाहेक हामीले के पनि बिर्सनुहुँदैन भने यो टिममा सिनियर खेलाडीहरू पनि थिए । यो ५ महिनाबीचमा हाम्रो तयारी उच्चस्तरको थियो,’ उनले थपे, ‘हामीले आगामी ५–७ वर्षको भविष्य हेरेर यो निर्णय गरेका हौं । अहिलेको टिमले धेरै अन्तर्राष्ट्रिय सफलता हासिल गर्नेछ, यो सुरुआतमात्र हो ।’


अफगानिस्तान, किर्गिस्तान, घरेलु टोली बंगलादेश र माल्दिभ्सजस्ता प्रतिस्पर्धीविरुद्ध नेपालले शतप्रतिशत जितमात्र होइन कुनै पनि सेट नगुमाई उपाधि उचालेको हो । संघका अनुसार सेन्ट्रल जोनको सफलता भनेको नेपाली भलिबलको एसियाली स्तरमा प्रवेश पनि हो । ‘अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सागमात्र कुर्नुपर्ने स्थिति अन्त्य भएको छ । हाम्रै पहलमा सेन्ट्रल जोन प्रतियोगिता यसपल्टदेखि सुरु भएको छ र यसले निरन्तरता पाउनेछ । यसबाहेक यो उपाधिले हामीलाई एसियाली स्तरका च्याम्पियनसिपमा पनि मार्ग खोल्नेछ, जसकारण टिम वर्षभरि नै व्यस्त हुनेछ,’ महासचिव चन्दले भने ।


मंसिर १५ देखि २४ सम्म सागमा नेपालले एसियाली पावरहाउस भारत र श्रीलंकाको चुनौती सामना गर्नुपर्नेछ । सेन्ट्रल जोनमा बंगलादेश र माल्दिभ्समाथि धावा बोलेको नेपाली टिमले आफ्नै कोर्टमा भारत र श्रीलंकाको दबाब खेप्नुपर्नेछ । त्यसबारे टिम जानकार छ । टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले सागको फाइनलमा पुगेर स्वर्ण जित्ने लक्ष्य सुनाए । त्यसमा उनका केही तर्क छन्, ‘हाम्रो टिम पहिलाजस्तो छैन । प्रतियोगिताअघि हामीले महत्त्वपूर्ण उपाधि जितेर मनोबल उच्च पारेका छौं । त्यसअघि थाइल्यान्डमा तीन साताको प्रशिक्षणक्रममा आफ्ना कमजोरी सुधार गर्ने अवसर पायौं,’ उनले भने, ‘अझै केही कमजोरी छन् । हामीसँग रहेको दुई साताको समय अझै राम्रो तयारीमा खर्चन्छौं ।’


सेन्ट्रल जोनको ५ खेलमा प्रशिक्षक भट्टले सबै खेलाडीलाई कोर्टमा उतारे । उनका अनुसार टिमका १२ खेलाडी एउटैस्तरका हुन् र पोजिसनअनुसार सबैले समान अवसर पाउनुपर्छ । उनको यही फर्मुलाले यस प्रतियोगितामा काम गरेको हो । अफगानिस्तानविरुद्धको एउटै खेलमा उनले ६ खेलाडीलाई अन्तर्राष्ट्रिय डेब्यु गराइदिए । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी सुनीता खड्का एउटा खेलको प्लेयर अफ द म्याच भइन् । अर्का डेब्यु खेलाडी सलिना श्रेष्ठले प्रतियोगिताकै उत्कृष्ट लिबरोको अवार्ड पाइन् ।


‘पछिल्लो चार महिना हामीले नयाँ, युवा र कम अनुभवी खेलाडीको सेट तयार गर्न समय खर्चियौं । हाम्रा सबै खेलाडी उत्तिकै प्रतिभावान छन्, केवल उनीहरूलाई आत्मबल र मनोबल आवश्यक थियो । काठमाडौंकै बन्द प्रशिक्षण, थाइल्यान्डको वैदेशिक प्रशिक्षण र बंगलादेशमा हामीले उनीहरूको मनोवैज्ञानिक तयारीलाई प्राथमिकता दियौं,’ उनले भने ।


थाइल्यान्डको प्रशिक्षणका क्रममा नेपालले त्यहाँको युवा राष्ट्रिय टोली र स्थानीय टोलीसँग प्रतिस्पर्धा गरेको थियो । थाइल्यान्ड र बंगलादेशको तयारीअनुसार नेपालको कमजोरीका रूपमा रहेको सर्भिस र ब्लकमा सुधार भएको छ । रिसिभमा अपेक्षाकृत सुधार नभएको प्रशिक्षक भट्टले स्वीकार गरे । ‘भलिबलमा पाँच पोजिसन हुन्छ र सबैमा राम्रो गरे मात्र राम्रो नतिजा ल्याउने हो । पहिलेदेखि नै हाम्रो स्पाइक राम्रो छ । पछिल्लो तयारीले ब्लक र सर्भिसमा धेरै सुधार भएको छ । रिसिभमा हामीले सोचेअनुसार प्रदर्शन गर्न अझै सकेका छैनौं । तर साग अगाडि कमजोरीबारे विस्तृत छलफल गर्नेछौं र सुधारको प्रयास गर्नेछौं,’ उनले थपे, ‘भारत, श्रीलंकाजस्तो टिमसँग प्रतिस्पर्धा गर्न हाम्रो सबै पक्ष उत्कृष्ट हुनुपर्छ ।’


सागका लागि टिमको छनोट विवादित बन्दा छनोट समितिका सदस्य रहेका प्रशिक्षक भट्टले भविष्यको टिम तयार भएको बताएका थिए । यो टिमले १० वर्षसम्म राष्ट्रिय टिमका लागि योगदान दिनसक्ने उनको भनाइ थियो । अहिले पनि छ । उनले प्रतिभावान खेलाडीलाई छनोट गर्ने निर्णयकै प्रतिफलको रूपमा यो सफलता मूल्यांकन गरेका छन् ।


सेन्ट्रल जोन विजेता महिला टिमका सदस्यलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनही ३ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । टिमको स्वागतार्थ विमानस्थल पुगेका राखेप सदस्यसचिव रमेशकुमार सिलवालले खेलाडीको सम्मान र प्रोत्साहनका लागि उक्त पुरस्कार घोषणा गरिएको बताए ।


राष्ट्रिय टिमको औसत उमेर २३ वर्ष छ । उषा विष्ट सबैभन्दा बढी २७ वर्ष तथा प्रतिभा माली र पुनम चन्द सबैभन्दा कम १८ वर्षका छन् ।


अन्तर्राष्ट्रिय सहभागिताको २० वर्षमा नेपालले पहिलो मुख्य उपाधि जितेको हो । सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो सहभागितामै नेपाली टोलीले कांस्य जितेको थियो । सन् २००६ मा दसौं साग तथा २०१६ को १२ औं सागमा पनि कांस्य जितेको थियो । सन् २०१४ मा दक्षिण एसियाली भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको थियो ।


भाग्यमानी अरुणा

कप्तान अरुणा शाहीका लागि यो प्रतियोगिताले दोहोरो खुसी दियो । २५ वर्षीया अरुणाले कप्तानका रूपमा पहिलो अन्तर्रष्ट्रिय प्रतियोगितामा नेतृत्व लिने अवसर पाएकी थिइन् । उनले आफ्नो नेतृत्वमै पहिलो ट्रफी उचाल्न पाउने इतिहास कायम गरेकी छन् ।


‘टिममा नयाँ सेट थियो । थाइल्यान्डको प्रशिक्षणबाट हाम्रो मनोबल उच्च थियो र तुलनात्मक रूपमा प्रतिस्पर्धी सहज थिए,’ उनले भनिन्, ‘यो टिम गेम हो । मेरो वा अरु एउटा खेलाडीको प्रदर्शनभन्दा पनि हामी सबैले उत्कृष्ट खेल्न सक्यौं । सबैको प्रयासबाट आएको सफलता हो । कप्तानको रूपमा ट्रफी उचाल्न पाउँदाको खुसी बयान गर्न सक्दिन’ ।’


चार महिनाअघि अधिकांश नयाँ खेलाडी समावेश भएपछि टिमसेट गर्न कठिन भएको अरुणाले स्वीकारिन् । ‘तर यसबीच सँगै रहँदा भावनात्मक रूपमा सबै परिचित भयौं । वैदेशिक प्रशिक्षण र यो प्रतियोगिताले हामी सबैको मनोबल बढेको छ । कमजोरी सुधार्ने धेरै प्रयास गरेका छौं । अझै सर्भिस र रिसिभमा सोचेजति सुधार आएको छैन । सागसम्ममा हामी कमजोरी सुधारेर गयौं भने भारत र श्रीलंकालाई पनि हराउन कठिन छैन,’ उनले थपिन् ।


अरुणाले सन् २०१३ मा माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन् । त्यसयता सबै अन्तर्राष्ट्रिय प्रतियोगिता तथा मैत्रीपूर्ण खेलमा उनी राष्ट्रिय टिममै छन् । सुरुमा अपोजिट पोजिसनबाट खेलेकी उनले सेन्ट्रल जोनबाट पोजिसन परिवर्तन गरी सेटरमा खेलिन् । उनी दोस्रोपल्ट दक्षिण एसियाली खेलकुद खेल्दैछिन् । सन् २०१६ मा भारतमा भएको १२ औं सागमा उनीसम्मिलित नेपाली टोलीले कांस्य जितेको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?