डेब्युमै उत्कृष्ट प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — लिबरो सलिना श्रेष्ठका लागि सेन्ट्रल जोन भलिबल करिअरको महत्त्वपूर्ण कोसेढुंगाको रूपमा रह्यो । उनी १२ सदस्यीय टिममा एकमात्र लिबरो थिइन् । उनको जिम्मेबारी धेरै नै थियो । ४ फिट ७ इन्चकी यी उनले आफ्नो प्रतिभालाई भरपूर उजागर गरिन् । उनी प्रतियोगिताकै उत्कृष्ट लिबरो पनि भइन् । 

डेब्युमै उत्कृष्ट प्रदर्शन

न्यु डायमन्ड एकेडेमीको उत्पादन सलिना घरेलु प्रतियोगितामा परिचित हुन् । शारीरिक उचाइ कम भए पनि उनको खेलस्तर माथिल्लो श्रेणीको भएकाले राष्ट्रिय टोलीमा प्रवेश पाइन् । वैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट खेलेकी उनी त्यही प्रदर्शनका आधारमा राष्ट्रिय टिममा प्रवेश पाइन् । पाँच महिनाको क्याम्पपछि अन्तर्राष्ट्रिय डेब्यु पाइन् । पहिलो प्रतियोगितामै उत्कृष्ट बनिन् ।


‘५ महिना क्याम्पमा बस्दा धेरै कुरा सिक्न पाएँ । आत्मविश्वास बढेको र आफ्नो स्तर बढेको महसुस भएको छ,’ एडमार्क कलेजमा स्नातक चौथो वर्ष अध्ययनरत २१ वर्षीया सलिनाले भनिन्, ‘सेन्ट्रल जोनमा लिबरो म मात्र थिएँ र मेरो जिम्मेबारी धेरै थियो । मैले आफ्नो शतप्रतिशत दिएँ ।’


नैकापकी सलिनालाई राष्ट्रिय टिमसम्मको यात्रामा पुर्‍याउने श्रेय न्यु डायमन्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राईलाई जान्छ । १३ वर्षे उमेरदेखि नै भलिबल खेल्न थालेकी उनी छोटो समयमै न्यु डायमन्ड टिमको मुख्य खेलाडी बनिसकेकी थिइन् । सानैदेखि भलिबल संस्कारमा हुर्किएकी सलिनाका लागि राष्ट्रिय टिममा रहिराख्न चुनौती छ । त्यो उनले बुझेकी छन् । ‘टिममा पर्न प्रतिस्पर्धा धेरै छ । यसमा मैले आफूलाई प्रमाणित गरिराख्नुपर्छ,’ उनले थपिन् ।


सलिनाका अनुसार १३ औं साग आफूलाई थप प्रमाणित गर्ने अवसर हो । ‘भारत, श्रीलंकाजस्ता बलिया टोलीसँग खेल्नुपर्छ । त्यसमा मैले अहिलेभन्दा राम्रो प्रदर्शन गर्नुपर्छ र त्यसका लागि तयार पार्नेछु,’ उनको विश्वास छ ।

राष्ट्रिय प्रतियोगिता खेल्दा र अन्तर्राष्ट्रिय खेल्दाको फरक के हुँदोरहेछ ? उनले सुनाइन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व हुन्छ र त्यहीअनुसार जिम्मेवारी तथा दबाब बढ्ने रहेछ । सेन्ट्रल जोनअघि हाम्रो लामो समय काठमाडौं र थाइल्यान्डको प्रशिक्षणबाट स्तर र आत्मविश्वास बढेको थियो, आफूले सिकेका कुरा यो प्रतियोगितामा लागू गरेका हौं ।’


प्रकाशित : कार्तिक ३०, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?