तेन्दुलकर नेपालमा

‘दसौं लाखको सपना’
‘हरेक बालबालिकालाई खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ तेन्दुलकर र दास पिचमा आमनेसामने हुँदा यही नारा बोकेका हुनेछन् । 
विनोद पाण्डे

काठमाडौँ — हिजोको दिन (नोभेम्बर १५) नै हो । ठीक ३० वर्षअगाडि सचिन तेन्दुलकरले टिनएजरका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेका थिए । पाकिस्तानसँगको टेस्ट क्रिकेटमा कराँचीको नेसनल स्टेडियममा उनीसँगै ‘डेब्यु’ गर्नेमा घरेलु टोलीका तीव्र गतिका बलर वकार युनिस पनि थिए ।

तेन्दुलकर नेपालमा

तीन दशकअघिको आजको दिनलाई तेन्दुलकरले मात्र नभई विश्व क्रिकेटले नै भुल्ने छैन । तेन्दुलकरले भुलुन पनि कसरी, वसिम अक्रम र युनिसको योर्कर र इनस्विङ्गरलाई झेल्न उनलाई कति गाह्रो भएको थियो । तेन्दुलकरले पहिलो इनिङ्समा जसोतसो १५ रन बनाए । उनी दोस्रो इनिङ्समा ब्याटिङ गर्न नआए पनि बाँकी इतिहास बन्यो ।


टेस्ट मात्र नभएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एकछत्र राज गरे । दुवै विधामा उनी सर्वाधिक रन र शतक बनाउने खेलाडी बने । संयोग के छ भने आफ्नो अन्तर्राष्ट्रिय ‘डेब्यु’ को ३० औं वर्षगाँठका दिन तेन्दुलकर शुक्रबार राति साढे १० बजे नेपाल आइपुगेका छन् । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा तेन्दुलकर नेपाल आउका हुन् । उनी युनिसेफका सद्भाव दूत हुन् ।


बालअधिकार वकालतका लागि मैत्रीपूर्ण क्रिकेट शनिबार एउटा बहानामात्र हुनेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दाससम्मिलित एउटा मैत्रीपूर्ण खेल खेल्नेछन् । १० ओभरको उक्त खेलमा बाँकी सबै बालबालिका हुनेछन् । एउटा अर्को संयोग के छ भने बालअधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा यस खेल आयोजना गरिएको हो ।


तेन्दुलकरले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै गर्दा बालअधिकार महासन्धि पारित भएको थियो । ‘हरेक बालबालिकालाई खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ,’ बालअधिकार महासन्धिको धारा ३१ मा यही लेखिएको छ । तेन्दुलकर र दास पिचमा आमनेसामने हुँदा यही नारा बोकेका हुनेछन् ।


एकसमय नेपाली क्रिकेटमा केही नहुँदाका रोल मोडल हुन् दास । सफल खेलाडीका रूपमा आफ्नो १५ वर्षे यात्रा टुंग्याएका दासले तेन्दुलकरसँगको भेटलाई भावनामा लुकाउन सकेनन् । ‘एउटा सपना पूरा हुन लागेको छ, २५ वर्षदेखिको प्रतीक्षा पूरा हुन केही सेकेन्डमात्र बाँकी छ,’ क्रिकेटका भगवान् मानिने तेन्दुलकरसँगको भेटलाई दासले सोसल मिडियामा यसरी पोखेका छन् । क्रिकेटका पर्यायवाची तेन्दुलकरसँगको भेटका लागि आफ्नो नाम जसले अगाडि बढाए, उनलाई पनि दासले धन्यवाद दिँदै यसलाई ‘दसौं लाखको सपना’ भनेका छन् ।


दासले तेन्दुलकरसँग खेल्ने नै निश्चित थिएन । नेपाली यू–१९ टोलीका प्रशिक्षक दास भारतको हैदराबादमा थिए । नेपाली यू–१९ टोलीले शुक्रबार भारत यू–१९ ‘बी’ सँग च्यालेन्जर्स सिरिजमा खेलिरहेको थियो । उनी मैदानमै नगई शुक्रबार राति काठमाडौं आइपुगेका हुन् । दास जतिखेर खेले त्यतिखेरसम्म टेस्ट राष्ट्रसँग नेपालको खेल असम्भवजस्तै थियो । तेन्दुलकरसँगको भेटलाई अविस्मरणीय बनाउन दास आतुर छन् ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?