नेपाललाई ऐतिहासिक ट्रफी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले फाइनलमा माल्दिभ्सलाई निरीह तुल्याउँदै बिहीबार ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि जितेको छ । नेपाली महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो ।

नेपाललाई ऐतिहासिक ट्रफी

पाँच देश सहभागी प्रतियोगिताको पहिलो संस्करणमा समूह चरणबाट नेपाली टिम शतप्रतिशत जितसहित फाइनल पुगेको थियो । नेपाललाई समूह चरणमा जित हात पार्न खासै गाह्रो परेको थिएन । फाइनलको अवस्था पनि उस्तै रह्यो ।


नेपालमा मंसिर १५ देखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिम माल्दिभ्सविरुद्ध पहिलो सेट २५–१३ ले कब्जा गर्दै उपाधितर्फ अग्रसर भएको थियो । सहिद सुरवार्दी इन्डोर रंगशालामा ‘बेस्ट अफ फाइभ’ को फाइनलमा नेपालले दोस्रो सेटमा २५–१२ को आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट २५–८ ले कब्जा गर्दै नेपाली टिमले ऐतिहासिक ट्रफी चुमेको हो ।


नेपाली टोलीकी प्रतिभा माली उत्कृष्ट स्पाइकर भएकी छन् । न्यु डायमन्ड एकेडेमीमा हुर्किएकी प्रतिभा ‘टिनएज’ मै नेपाली टिमकी मुख्य खेलाडीको रूपमा स्थापित भइसकेकी छन् । उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्दा प्लयेर अफ द म्याच चुनिएकी थिइन् । अरुणा शाहीको कप्तानीमा रहेको युवा खेलाडीको बाहुल्यतामा नेपाली टिम बंगलादेश पुगेको थियो ।


कप्तान अरुणा शाहीसहित नेपाली टोली ट्रफीसाथ ।


राउन्ड रोबिन लिगबाट शीर्ष दुई स्थानमा रहेका टिमले उपाधि होडमा प्रतिस्पर्धा गरेका हुन् । समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्स नै हराएको थियो । बिहीबार फाइनलअघि किर्गिस्तानले घरेलु टिम बंगलादेशमाथि २५–१३, २५–१४ र २५–१२ को जित रच्दै तेस्रो स्थान हासिल गर्‍यो ।


सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा महिला भलिबलको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । जहाँ नेपाली महिला टोलीले कांस्य पदक जितेको जित्यो । त्यसयता महिला भलिबलले सन् २००६ मा श्रीलंका तथा २०१६ मा भारतमा भएको क्रमश: ११ र १२ औं सागमा पनि कांस्य जितेको थियो । दक्षिण एसियामा बलियो प्रतिद्वन्द्वीको रुपमा रहेको भारत र श्रीलंका भने यस प्रतियोगितामा सहभागी थिएन ।


प्रकाशित : कार्तिक २९, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?