यू–१९ टिमको लगातार हार

कान्तिपुर संवाददाता

काठमाडौँ — ब्याटिङ र बलिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रहँदा नेपाल यू–१९ टिमले च्यालेन्जर्स ट्रफीमा घरेलु टोली भारतको ‘ए’ टिमसँग १ सय ७ रनको हार बेहोरेको छ । लगातार दुई खेलमा पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना सकिएको छ । 

सोमबार पहिलो खेलमा नेपाली टिम भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । च्यालेन्जर्स ट्रफीमा भारतको ‘ए’, ‘बी’ र ‘सी’ तथा नेपाली यू–१९ राष्ट्रिय टिमको सहभागिता छ । राउन्ड रोबिन लिग चरणमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । समान २ खेलबाट भारत ‘बी’ ४ अंकसहित शीर्षस्थानमा छ । भारत ‘ए’ र ‘सी’ को समान खेलबाट २–२ अंक छ । नेपाल अंकविहीन छ । लिगको अन्तिम खेलमा शुक्रबार भारत ‘ए’ र ‘सी’ तथा नेपाल र भारत ‘बी’ प्रतिस्पर्धी हुनेछन् । नयाँ खेलाडीलाई एक्सपोजरको रूपमा लिइएको एकदिवसीय प्रतियोगिताअन्तर्गत बुधबार २ सय ४८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय ४० रनमात्र बनायो । पूरै ओभर खेले पनि नेपालले रनरेटमा सुधार गर्न सकेन । ठूलो लक्ष्य पछ्याउने क्रममा नेपालका विशालविक्रम केसीबाहेक अन्य सबै ब्याट्सम्यान कमजोर देखिए । तेस्रो नम्बरमा आएका विशालले १ सय २६ बलमा ११ चौका प्रहार गर्दै ७१ रनको योगदान गरे । एउटा एन्डबाट उनले रन बनाए पनि अर्को एन्डबाट लगातार विकेट झरिरह्यो । उनीसहित नेपालका ३ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

लोकेश बम, कुशल मल्ल र हरिबहादुर चौहानले खाता खोल्न नसकेको इनिङ्समा १५.५ ओभरमा नेपाल ४९–६ को दयनीय स्थितिमा थियो । ओपनर लोकेश र कप्तान रित गौतम पहिलो ओभरको चौथो र छैटौं बलमै आउट भए । रनआउट भएका रितले ५ रन जोडे । विशाल र शेर मल्लले सातौं विकेटमा ५६ रनको साझेदारी गरेपछि नेपालले सय रनको आँकडा पार गरेको हो । शेरले ५४ बलमा २१ रन जोडे । प्रतिश जिसीले ६ रनमात्र बनाउन सके । आकाश चन्द ३६ बलमा ३ चौकासहित १९ रनमा अविजित रहे । भारतका नितिश कुमार यादव र समीर हसिनले २–२ विकेट झारे ।

यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतीय टोलीले ४८.२ ओभरमा अलआउट हुँदै २ सय ४७ रनको योगफल खडा गर्‍यो । नेपालले सुरुमा आक्रामक बलिङ गर्‍यो । २० ओभरमा ११५–५ को स्थितिमा पुगेको भारतका ध्रुवचन्द जिरेल र नितिश कुमार रेड्डीले छैटौं विकेटमा ९२ रनको साझेदारी गरेपछि ठूलो योगफल बनेको हो ।

कप्तान ध्रुवचन्दले ६५ बलमा ६ चौका र ३ छक्का मदतमा ७४ तथा नितिशले ५८ बलमा ३० रनको योगदान गरे । यसअघि ओपनर भूपेन्द्र यजश्वी जैसवालले ३३ तथा सुदर्शन भारद्वाजले ३४ रन जोडे । आकाश चन्दको बलमा बोल्ड हुनुअघि यजश्वीले २७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । सुदर्शनलाई लोकेश बमले रनआउट गरे । नेपालका शेरले ३, आकाशले २ तथा प्रतिश जिसी र हरिबहादुर चौहानले १–१ विकेट लिए । तीन भारतीय खेलाडी रनआउट भए ।

प्रकाशित : कार्तिक २८, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चीनमाथि सहज जित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला यू–१९ राष्ट्रिय टोलीले चीनमा जारी बेल्ट एन्ड रोड कप च्याम्पियनसिप ट्वान्टी–२० क्रिकेटअन्तर्गत पहिलो जित हासिल गरेको छ । सोमबार थाइल्यान्डसँग २९ रनले पराजित नेपालले बुधबार घरेलु टोली चीनमाथि ८ विकेटको जित दर्ता गरेको हो । 

सांघाई कम्युनिटी स्पोर्ट्स क्लबको मैदानमा चीनले दिएको ३८ रनको लक्ष्य नेपालले ६.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कविता कुँवरले ११ र राजमति ऐरीले ५ रन जोडे । लक्ष्मी साउद ९ र कप्तान डोली भट्ट ५ रनमा अविजित रहे । नेपालले ८ अतिरिक्त रन पाएको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको चीनले १० ओभरमा सबै विकेट गुमायो । चीनका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कमजोर प्रतिस्पर्धीविरुद्ध हाबी भए पनि नेपाली बलरले अनुशासित बलिङ गरेनन् । चीनको पूरा टिमले जोडेको रनभन्दा धेरै नेपालले अतिरिक्त रन दिएको थियो ।

चीनका चार खेलाडी खाता नखोली आउट भए भने अरु चारले १–१ रनमात्र बनाउन सके । झाङ रोङ यूको खाता सर्वाधिक ८ रन थियो । उनले एक चौका प्रहार गरिन् । चीनको पूरै टिमले ब्याटबाट १८ रन जोडेको थियो भने १९ अतिरिक्त रन पायो । त्यसमध्ये ९ वाइड तथा ५–५ लेगबाइ र बाइमार्फत आएको थियो ।

नेपालबाट ईश्वरी विष्टले ३ विकेट लिइन् । उनले २ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएकी हुन् । खुशी डंगोल र कविता कुँवरले २–२ विकेट झारे । कप्तान डोली र कृतिका मरासिनीको नाममा १–१ विकेट रह्यो ।
प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार म्यानमारसँग खेल्नेछ । स्पर्धामा ५ देशका टोली सहभागी छन् ।

प्रकाशित : कार्तिक २८, २०७६ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×