कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चीनमाथि सहज जित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला यू–१९ राष्ट्रिय टोलीले चीनमा जारी बेल्ट एन्ड रोड कप च्याम्पियनसिप ट्वान्टी–२० क्रिकेटअन्तर्गत पहिलो जित हासिल गरेको छ । सोमबार थाइल्यान्डसँग २९ रनले पराजित नेपालले बुधबार घरेलु टोली चीनमाथि ८ विकेटको जित दर्ता गरेको हो । 

सांघाई कम्युनिटी स्पोर्ट्स क्लबको मैदानमा चीनले दिएको ३८ रनको लक्ष्य नेपालले ६.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कविता कुँवरले ११ र राजमति ऐरीले ५ रन जोडे । लक्ष्मी साउद ९ र कप्तान डोली भट्ट ५ रनमा अविजित रहे । नेपालले ८ अतिरिक्त रन पाएको थियो ।


यसअघि टस जितेर ब्याटिङ गरेको चीनले १० ओभरमा सबै विकेट गुमायो । चीनका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कमजोर प्रतिस्पर्धीविरुद्ध हाबी भए पनि नेपाली बलरले अनुशासित बलिङ गरेनन् । चीनको पूरा टिमले जोडेको रनभन्दा धेरै नेपालले अतिरिक्त रन दिएको थियो ।


चीनका चार खेलाडी खाता नखोली आउट भए भने अरु चारले १–१ रनमात्र बनाउन सके । झाङ रोङ यूको खाता सर्वाधिक ८ रन थियो । उनले एक चौका प्रहार गरिन् । चीनको पूरै टिमले ब्याटबाट १८ रन जोडेको थियो भने १९ अतिरिक्त रन पायो । त्यसमध्ये ९ वाइड तथा ५–५ लेगबाइ र बाइमार्फत आएको थियो ।


नेपालबाट ईश्वरी विष्टले ३ विकेट लिइन् । उनले २ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएकी हुन् । खुशी डंगोल र कविता कुँवरले २–२ विकेट झारे । कप्तान डोली र कृतिका मरासिनीको नाममा १–१ विकेट रह्यो ।

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार म्यानमारसँग खेल्नेछ । स्पर्धामा ५ देशका टोली सहभागी छन् ।


प्रकाशित : कार्तिक २८, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?