कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हिमाल चुम्न ‘याक अट्याक’

आश गुरुङ

(लमजुङ) — चक्रीय अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रियस्तरको साइकल दौड ‘याक अट्याक २०१९’ सुरु भएको छ । प्रतियोगिताको १३ औं संस्करणको पहिलो दिन सोमबार उनीहरूले बेंसीसहरदेखि घलेगाउँ जाने बाटो पुमागाउँ, बाग्लुङपानी, नजरेबाट चण्डीस्थान मकैडाँडा हुँदै बेंसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाए ।

हिमाल चुम्न ‘याक अट्याक’

मंगलबार प्रतियोगी मनाङतर्फ लागेका छन् । उनीहरूले ७ दिन साइकल कुदाउने छन् । चौथो दिन मनाङको मनाङ गाउँ (३,५४० मि.) मा एकदिन विश्राम गर्नेछन् । ९ दिने यात्राअन्तर्गत अन्तिम दिन म्याग्दीको तातोपानीदेखि पोखरासम्म साइकलमा उनीहरूको ग्रुपराइड र सवारी यात्रा हुनेछ ।


प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मनी, अमेरिकालगायत १२ देशका २५ अन्तर्राष्ट्रिय साइकल रेसरले भाग लिएका छन् । यसमा नेपाली ५ जना छन् । दुई विदेशी महिला छन् । यसपल्ट दक्षिण एसियाली खेलकुदका कारण बन्द प्रशिक्षणमा रहेकाले नेपाली महिला भने सहभागी छैनन् । पहिलो दिन क्यानडाका कोरी वाल्लेस अगाडि छन् । निर्धारित दुरीलाई उनले १ घण्टा ४९ मिनेट ४० सेकेण्डमा पार गरे । लगातार तीन वर्ष ‘याक अट्याक’ जितेका उनले यसपालि पनि बाजी मार्ने दाबी गरे । ‘मैले ३ वर्ष लगातार जितेर पनि २४ घण्टा साइकल कुदाएर चक्रीय अन्नपूर्ण पार गरेको छु’ उनले भने, ‘मसँग यो यात्रामा रातदिन हिँडेको अनुभव छ ।’


नेपाली साइकल रेसर रोहन तामाङ १ घण्टा ५१ मिनेट ७ सेकेण्डबाट दोस्रामा छन् । उनी गत वर्ष दोस्रो भएका थिए । भारतीय नागरिक सुरज मलिक १ घण्टा ५३ मिनेट १६ सेकेण्डबाट तेस्रो र बेलायती नागरिक राइज भर्नर १ घण्टा ५४ मिनेट १० सेकेण्डबाट चौथो स्थानमा रहे ।


नेपालका रमेश आले १ घण्टा ४३ मिनेट १७ सेकेन्डबाट पाँचौं स्थानमा छन् । दोस्रो दिन चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने माउन्टेन बाइक कम्पनी (एमटीबी) का निर्देशक अजय पण्डित क्षेत्रीले बताए । उनका अनुसार पाचौं दिन थोराङ फेदी, छैटौं दिन पदमार्गमा विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला (५,४१६ मि.) पास गरेर कागबेनी, सातौं दिन कागबेनीवरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सकिनेछ । उनीहरूको बास भने म्याग्दीको तातोपानीमा हुनेछ । प्रतियोगिताभर २२० किमि पार गर्नुपर्ने हुन्छ ।


११ औं संस्करणसम्म प्रतियोगितामा भाग लिएका र ५ पटकसम्म च्याम्पियन बनेका अजय पण्डित क्षेत्रीले गत वर्षदेखि भाग लिएका छैनन् । प्रतियोगिताको सफलताको कामना गर्दै बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले साइकल पर्यटनलाई विश्वले चिनेको दाबी गरे । ‘यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले भिजिट नेपाल २०२० लाई सघाउ पुग्छ । यसलाई सफल बनाउन आवश्यक छ,’ उनले भने । आयोजक बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडका निर्देशक फिल इभान्सले प्रतियोगितामा ५ हजार अमेरिकी डलर पुरस्कार राखिएको बताए ।


प्रकाशित : कार्तिक २७, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?