‘साग सफल पार्न सबै लाग्नुपर्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले निर्धारित समयमै पूर्वाधारलगायतका सम्पूर्ण तयारी सकिने भएकाले १३ औं साग खेलकुद भव्यसँग सफल पार्न आ–आफ्नो क्षेत्रबाट दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित मंगलबार सुरु मिडिया वर्कसपमा बोल्दै खेलकुदमन्त्री विश्वकर्माले साग आयोजना सुनिश्चित भएसँगै अब यसलाई सफल बनाउनु सबैको जिम्मेवारी र दायित्व रहेको बताए ।


राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले साग खेलकुदलक्षित गरेर दुईदिने मिडिया वर्कसप आयोजना गरेको छ । ठूलो खेलकुद प्रतियोगिताको रूपमा रहेको सागका लागि समाचार संकलन र लेखन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले वर्कसप गरिएको मञ्चले जनाएको छ ।


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस्ता वर्कसपबाट खेलकुद प्रतियोगितासम्बन्धी प्राविधिक ज्ञान हासिल हुने विश्वास व्यक्त गरे ।


सदस्य–सचिव रमेशकुमार सिलवालले अर्जुनदृष्टिमा रहेर १३ औं सागको तयारी गरिरहेको बताउँदै कुनै पनि हिसाबले सफल आयोजनामा कमी हुन नदिने जानकारी गराए । पहिलो दिन अग्रज खेलपत्रकार राजु सिलवालले खेलकुद रिपोर्टिङका क्रमका आफ्ना अनुभव साटे भने द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालले ठूला खेलकुद इभेन्टबाट नेपाली मिडिया कस्ता समाचार अपेक्षा गर्छ त भन्ने विषयमा बोलेका थिए । कराँते, जुडो, तेक्वान्दो, फुटबल, पौडीलगायतका खेल संघका प्रतिनिधिले आफ्नो खेलको साग तयारीबारे चर्चा गरेका थिए ।


प्रकाशित : कार्तिक २७, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?