कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्रिकेट सिकाउँदै एमसीसी

दीपक परियार

(पोखरा) — धुलो उडिरहेको मैदानको बीचमा कार्पेट बिछ्याइएको छ । स्टम्प, ब्याट र बल राखिएका छन् । विद्यार्थी हुरुरु आए । कसैले बलिङ गरे, कसैले ब्याटिङ । उनीहरूलाई क्रिकेट सिकाउन मैदानमा खटिएका थिए, बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) का खेलाडी । 

क्रिकेट सिकाउँदै एमसीसी

नेपाल भ्रमणका क्रममा पोखरा आएको एमसीसीका खेलाडीले पोखरा मालेपाटनस्थित बाराही माविका विद्यार्थीलाई क्रिकेट सिकाए । एमसीसी फाउन्डेसनले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था किडासासँगको साझेदारीमा पोखरामा सञ्चालित परियोजनाअन्तर्गत उनीहरू सहभागी भएका हुन् । उक्त परियोजनाको कार्यान्वयन भने बालहितकारी परियोजना नेपालले गरेको छ ।


एमसीसी फाउन्डेसन र किडासाले नेपालमा विद्यालयस्तरमा क्रिकेटका पूर्वाधार निर्माण र प्रशिक्षण दिन ९ महिले कार्यक्रम ल्याएका छन् । उक्त परियोजनाअन्तर्गत पोखराका ५ विद्यालयमा सुविधासम्पन्न क्रिकेट अभ्यास पिच बनाउने फाउन्डेसनको लक्ष्य छ । बाराही माविको मैदानमा पिच बनिसकेको छ । उक्त पिचको उद्घाटन सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसी र एमसीसी फाउन्डेसनकी निर्देशक एबी कार्टरले संयुक्त रूपमा गरे ।


बाँकी ४ विद्यालय छनोटको क्रममा रहेको बताइएको छ । दुई संस्थाले १० विद्यालयलाई क्रिकेट सामग्री सहयोग गरेका छन् । १५ विद्यालयका छात्रछात्राको छुट्टाछुट्टै क्रिकेट टिम बन्नेछ । ती टिमलाई पोखरामा रहेको क्रिकेट एकेडेमीमा ६ महिना प्रशिक्षण दिइनेछ । ५ प्रशिक्षक र १५ फोकल शिक्षकलाई पुन: तालिम दिने एमसीसी र किडासाको योजना छ ।


एमसीसी फाउन्डेसनकी निर्देशक कार्टरले दक्ष क्रिकेट खेलाडी उत्पादन गर्न पूर्वाधार सुविधामा सहयोग गर्न चाहेको बताइन् । उनले डिसेम्बरमा एमसीसीको महिला टोली ल्याएर नेपालका छात्रालाई क्रिकेट प्रशिक्षण दिने उल्लेख गरिन् । किडासा बेलायतकी प्रमुख कार्यकारी अधिकृत जेनिस मिलरले भविष्यमा ‘स्टार क्रिकेटर’ उत्पादन गर्न चाहेको बताइन् । ‘हामी अवसर सिर्जना गर्न चाहन्छौं,’ उनले भनिन्, ‘विद्यालयस्तरबाटै खेलको सीप सिकाएर परिपक्व बनाउने छौं ।’ पोखराका मेयर जीसीले खेलकुदलाई प्राथमिकताका साथ राखेर ३३ वटै वडामा मैदान बनाउन सुरु गरेको बताए । बालहितकारी परियोजनाका अध्यक्ष गोविन्दराज पहारीले परियोजनालाई २ वर्षसम्म निरन्तरता दिने प्रयास भइरहेको जनाए ।

प्रकाशित : कार्तिक २७, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?