कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सिंगारिँदै जनकपुर कभर्डहल

अजित तिवारी, सन्तोष सिंह

(जनकपुर) — १३ औं दक्षिण एसियाली खेलकुद (साग) को कुस्ती खेल जनकपुरमा गर्ने निर्णयसँगै आयोजक नेपाललाई खेलस्थल छान्न हम्मे पर्‍यो । खुला ठाउँ तिरहुतिया गाँछीमा अस्थायी संरचना बनाउने कि साँघुरो कभर्डहल मर्मतसम्भार गर्ने । यी दुवै ठाउँको तयारी आयोजकका लागि चुनौतीपूर्ण बन्यो । 

सिंगारिँदै जनकपुर कभर्डहल

समय थोरै, तयारी धेरै गर्नुपर्ने बाध्यताबीच कुस्तीका लागि जनकपुरस्थित जीर्ण कभर्डहलको मर्मतसम्भार गर्न थालिएको छ । २०४२ सालमा निर्माण गरिएको कर्भडहललाई पहिलोपल्ट कुस्ती प्रतियोगिता गर्न मर्मतसम्भार र रंगरोगन थालिएको छ । काठमाडौंपछिको दोस्रो ठूलो यस कर्भडहलले निर्माण भएको ३४ वर्षपछि पुनर्जीवन पाउने भएको छ ।


मुजेलियास्थित कभर्डहलको अग्लो पर्खालमा बाँसको भर्‍याङ चढेर मजदुरहरू मंगलबार रंगरोगन गर्न व्यस्त थिए । हलभित्रको दर्शक बस्ने प्यारापिटलाई व्यवस्थित बनाइँदै छ । शौचालय र स्नानगृह पूरै भत्काएर नयाँ बन्दैछ । साँघुरो भएपछि कर्भडहलको पश्चिमी प्यारापिट भत्काइएको छ । कर्भडहलमा कुस्तीको दुइटा रिंग बनाइने छ । ‘३४ वर्षसम्म उपेक्षित कभर्हहलको बल्ल मर्मतसम्भार थालिएको छ,’ टेबलटेनिसका प्रशिक्षक अनिल घिमिरेले कान्तिपुरसँग भने, ‘जीर्ण हललाई सबैतिर टाल्नु र मर्मतसम्भार गर्नुपरेको छ ।’


कभर्डहललाई केसरिया रंगले रंगिँदै छ । रातदिन खटेर मजदुरले कभर्डहललाई चिटिक्क बनाउँदै छन् । टुटेका र भत्केका ठाउँलाई टालटुल पारिँदै छ । मंसिर २० देखि जनकपुरमा हुने कुस्तीका लागि खेलाडीहरू मंसिर १७ मै जनकपुर आइपुग्दै छन् । उनीहरूको बसाइका लागि जनकपुरका सबै ठूला होटल बुक गरिएको छ ।


जनकपुरको कर्भडहल धनुषा जिल्ला खेलकुद विकास समितिको संरक्षण र रेखदेखमा छ । तर, बजेट र पूर्वाधारको अभावमा त्यहाँ प्रशिक्षक बस्ने एक–दुई कोठाबाहेक प्राय: सबै ठाउँ जीर्ण अवस्थामा थियो । ‘सबैतिर मर्मत गरेर भए पनि साग कुस्तीलाई व्यवस्थित र भव्य बनाउने हाम्रो योजना छ,’ प्रशिक्षक घिमिरेले भने, ‘मर्मतसम्भारको गति तीव्र बनाइएको छ । प्रतियोगिताको दिनसम्म सबै ठीकठाक हुनेछ ।’


सागमा पुरुष र महिला दुवैको कुस्ती यसै कभर्डहलमा हुनेछ । कभर्डहलको मर्मत, रंगरोगन, बत्ती जडान, शौचालय निर्माण, खानेपानी व्यवस्थापक, दर्शक बस्ने स्थानको मर्मत निर्माणको काम तीव्र पारिएको छ ।


जनकपुरको कर्भडहलमा पहिलोपल्ट अर्न्तराष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । चार दिन चल्ने कुस्तीका लागि ८ देशका १ सय ६० पुरुष, महिला खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, निर्णायक जनकपुर आइपुग्ने छन् ।


कभर्डहलको मर्मत र रंगरोगन धमाधम भइरहेको खेलकुद विकास समिति धनुषाका प्रशासकीय अधिकृत विनोद सिंहले बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साग कुस्ती खेलका लागि कभर्डहल मर्मतका लागि २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको उनले बताए ।


कर्भडहलमा चेन्जिङ रुम र अन्य कार्यकक्ष निर्माण भइरहेको छ । प्रतियोगिता हुने समय थोरै भएकाले मर्मतसम्भारको काम राति पनि गर्नुपरेको सिंहले बताए । कभर्डहलमा करिब १ हजार दर्शक अट्ने प्यारापिट रहेकाले बाहिर स्क्रिन राखेर पनि देखाइने योजना छ ।


वर्षौदेखि फुटेका झ्याल र ढोकामा नयाँ सिसा लगाइएको छ । कर्भडहलको प्रयोगविहीन शौचालयमा टायल लगाइँदै छ । खेलका लागि आवश्यक उज्यालोका लागि बत्तीको व्यवस्था गरिएको छ ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले प्रदेश २ का जिल्लाहरूमा कुस्ती प्रख्यात रहेकाले सागमा दर्शकले घुइँचो लाग्ने बताए । ‘पहिलोपल्ट जनकपुरमा अन्तर्राष्ट्रिय खेल हुँदै छ । त्यो पनि यस क्षेत्रको विशेष पहिचान भएको कुस्ती हुनेछ । यसले जनकपुर र प्रदेश २ को खेलकुद विकासमा मदत पुग्ने विश्वास छ,’ उनले भने ।


प्रकाशित : कार्तिक २७, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?