विश्वकप २०२२ छनोट : ‘स्वदेशमै खेल्न पाएको भए...’

नेपाल–कुवेतको खेल थिम्पुमा हुने
राजु घिसिङ

काठमाडौँ — ‘हामीलाई लाज नै हो,’ म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानी गरेर स्वदेश फर्किएका सुजल श्रेष्ठले विश्वकप २०२२ छनोटमा कुवेतविरुद्ध थिम्पुमा हुने प्रतिस्पर्धाबारे भने, ‘आफ्नो रंगशाला (दशरथ) नबनेर अर्को ठाउँमा खेल्नुपर्ने भएको छ । यहाँ (स्वदेश) खेल्न पाएको भए छुट्टै जोस हुन्थ्यो । धेरै दर्शकबीच खेल्दाको जोस बेग्लै हुन्थ्यो । त्यो अवसर नपाउँदा दु:ख लागेको छ ।’

नेपाली राष्ट्रिय टिमले विश्वकप २०१८ छनोटअन्तर्गत प्ले–अफको दोस्रो लेगमा भारतविरुद्ध गोलरहित (मार्च २०१५) मा खेलेयता दशरथ रंगशालामा खेल्न पाएको छैन । त्यसको अर्को महिना (२५ अप्रिल २०१५) को महाभूकम्पले देशको एकमात्र रंगशाला क्षतिग्रस्त बनाइदियो । जिम्मेवार निकायले रंगशाला बनाउन तदारुकता देखाएन । सोलिडारिटी कप जितेपछि नेपालले एसियन कप २०१९ छनोटको तेस्रो चरणमा खेल्ने अवसर पाएको थियो । त्यसको ‘होम म्याच’ नेपाली टिमले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र एपीएफको हल्चोक मैदानमा खेलेको थियो ।

विश्वकप २०२२ र एसियन कप २०२३ छनोटको दोस्रो चरणमा कुवेतविरुद्ध प्रतिस्पर्धा तयारीमा नेपाली टिम म्यानमार पुगेको थियो । मान्डलयमा बिहीबार ३–० ले हारेपछि स्वदेश फर्कंदा नेपाली टिमका लागि दु:खद खबर आइसकेको थियो– कुवेतविरुद्ध दशरथ रंगशालामा खेल नहुने । कारण थियो, महाभूकम्पले रुग्ण बनाएको दशरथ रंगशालाको सबलीकरण चार वर्षसम्म पनि पूरा नहुनु । त्यसैले एएफसीका प्रतिस्पर्धा समितिका प्रतिनिधिको आकस्मिक निरीक्षणलगत्तै एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोटको खेल आयोजनाका लागि दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै नेपालको ‘होम म्याच’ तटस्थ भूमिमा गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई गत बिहीबारै निर्देशन दिएको थियो ।

एन्फाले रणननीतिक ढंगले भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा कुवेतविरुद्ध खेल्ने प्रस्ताव एएफसीलाई गर्‍यो । तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्य बनाएको कुवेतले थिम्पुको चिसो मौसममा खेल्न चाहेन । एएफसीमा माथिल्लो हैसियतमै लबिङ गर्‍यो । तर, भुटानी राष्ट्रिय टिमले विश्वकप छनोटको घरेलु खेल खेलिसकेको १० हजार दर्शक क्षमताको चाङलिमिथाङ रंगशाला नेपाली टिमलाई तटस्थ मैदानको रूपमा खेल्नलाई एएफसीले सोमबार स्वीकृति दियो । यस रंगशालाको ‘आर्टिफिसियल टर्फ’ मा नेपालका थुप्रै खेलाडीले प्रतिस्पर्धा गरिसकेका छन् ।

समुद्री सतहबाट करिब १४०० मिटर (काठमाडौं) बाट लगभग २३०० मिटर (थिम्पु) मा खेल सार्दाको प्रभावबारे विंगर सुजलले भने, ‘गेम एउटै हो । जुन मैदानमा खेले पनि ९० मिनेट खेल्ने हो । यत्ति हो कि भुटानमा खेल्दा हाम्रो १२ औं खेलाडी (दर्शक) नहुने भयो ।’

उनले थपे, ‘जति जे भए पनि भुटानमा नेपाली टिमलाई रुचाइन्छ जस्तो लाग्छ । मानिसहरू खेल हेर्न आउँछन्, हामीलाई समर्थन गर्छन् जस्तो लाग्छ । त्यसैमा हामी कुवेतमा बेहोरेको ७–० को हारमा सुधार गर्ने प्रयास गर्नेछौं । त्यो खराब नतिजापछि कुवेतविरुद्ध सुधार गर्ने दोस्रो अवसर हो यो ।’

चिसो मौसम
एक्युवेदरको मौसम पूर्वानुमानअनुसार नोभेम्बर १९ (मंसिर ३) मा थिम्पुको तापक्रम अधिकतम १७ र न्युनतम ८ डिग्री सेल्सियस हुनेछ । त्यतिबेला काठमाडौंको तापक्रम २२/११ डिग्री सेल्सियस अनुमान गरिएको छ भने कुवेत सिटीको २६/१४ । त्यसैले कुवेती टिमको तुलनामा नेपाली खेलाडीलाई थिम्पुको चिसो मौसमले धेरै फरक नपार्न सक्छ । त्यसकै कारण हुनसक्छ, खाडी मुलुकले थिम्पुमा खेल्न नचाहेको पनि ।

‘काठमाडौंभन्दा चिसो छ थिम्पु,’ नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा म्यानमारविरुद्ध ‘आर्मब्यान्ड’ बाँध्ने अवसर पाएका सुजलले भने, ‘तर एउटा व्यावसायिक खेलाडीको रूपमा मौसमलाई लिएर फाइदा–बेफाइदाको कुरा गर्नु मूर्खता हुन्छ । कहिले वर्षात्मा खेल्नुपर्छ, कहिले हिउँमा । हामी कुवेतमा खेल्दा तापक्रम ५० डिग्री थियो तर हामीले मौसमलाई दोष दिन मिल्दैन । सात गोल खाएकै हो ।’

समुद्री सतहबाट करिब ३०० मिटर उचाइमा रहेको कुवेत सिटीमासेप्टेम्बर ५ मा नेपाली टिम ७–० ले हारेको दिनको मौसम एक्युवेदरका अनुसार अधिकतम ४८/३० डिग्री सेल्सियस थियो ।

थिम्पुको अनुभव
सोलिडारिटी कप २०१६ को फाइनलमा एकमात्र गोल गोल गरेका सुजल चाङलिमिथाङ रंगशालाका अनुभवी खेलाडी हुन् । उनको टिम मनाङ मर्स्याङदीले यस रंगशालामा सन् २०१३ मा भएको किंग्स कपको उपाधि नै जितेको थियो । त्यो संस्करणमा अरु दुई नेपाली क्लब थ्रीस्टार र मछिन्द्रले पनि किंग्स कप खेलेको थियो । अर्को वर्ष मनाङ सेमिफाइनलमा बंगलादेशको शेख जमल धनमुन्दीविरुद्ध अतिरिक्त समयमा २–१ ले हारेको थियो । ती दुवै संस्करणमा सुजल मनाङका मुख्य खेलाडी थिए ।

घरेलु लिग नभएको अवसरमा सुजलसँगै फरवार्ड नवयुग श्रेष्ठले तीन वर्षअघि भुटानको राष्ट्रिय लिग पनि खेल्न भ्याएका थिए । गत वर्ष त्यही रंगशालामा भएको साफ यू–१८ च्याम्पियनसिप विजेता नेपाली युवा टिमका केही खेलाडी पनि सिनियर टिममा आइसकेका छन् । कुवेती खेलाडीको लागि भने थिम्पु यात्रा बिल्कुलै नयाँ गन्तव्य हुनेछ ।

‘हामी ३–४ जनाले त्यो रंगशालामा खेलेका छौं,’ सुजलले भने, ‘हामीले यहाँ (सातदोबाटो) आर्टिफिसियल टर्फमै अभ्यास गरिरहेका छौं । त्यहाँ (थिम्पु) पनि टर्फमै खेल्दैछौं । यसले अलि सजिलो हुन्छ भन्ने लागेको छ ।’ कुवेतले घरेलु मैदानमा बिहीबार चाइनिज ताइपेईविरुद्ध खेल्दैछ । त्यसपछि कुवेती टिम थिम्पु आउनेछ । नेपाली टिम शनिबार थिम्पु जाने एन्फाले जनाएको छ ।

किरणको नयाँ पासपोर्ट
मान्डलयमा अनपेक्षित रूपमा ३–० ले हारेर फर्किएको नेपाली टिम आइतबारदेखि नै अभ्यासमा फर्किएको छ । मिडफिल्डर रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्ता र गोलकिपर किरण चेम्जोङ आई लिग टिम मिनर्वा पन्जाबमा व्यस्त भएकाले यी दुई स्टार खेलाडीबिनै नेपाली टिम म्यानमार पुगेको थियो । उनीहरू भुटान जानुअघि टिममा फर्किने छन् । पासपोर्ट चोरी भएपछि नयाँ पासपोर्ट बनाउन किरण एक दिनका लागि स्वदेश आएका छन् । सोमबार पासपोर्ट बनाएका उनी बुधबार पन्जाब फर्किंदै छन् ।

स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेको नेपाली टिमले विश्वकप छनोटमा सबै ‘अवे’ खेल खेलिसकेको छ । छनोटको समूह ‘बी’ को पहिलो खेलमा कुवेतमा ७–० ले हारेको नेपाली टिमले ताइवानमा २–० को जित हात पारेको थियो । त्यसपछि अस्ट्रेलियामा ५–० र जोर्डनमा ३–० ले हार्‍यो । नोभेम्बर १९ मा कुवेतको सामना गरेपछि नेपालले घरेलु भूमिमा चाइनिज ताइपेई (२६ मार्च, २०२०), अस्ट्रेलिया (३१ मार्च) र जोर्डन (४ जुन) विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : कार्तिक २६, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हाम्रो पूर्वाञ्चल गोल्डकप : आर्मी च्याम्पियन

अर्जुन राजवंशी

(बिर्तामोड) — विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा सम्पन्न अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । 

डोमालाल राजवंशी रंगशालामा सोमबार फाइनलमा आर्मीेले चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । विजेता आर्मीले १२ लाख ५० हजार र उपविजेता चर्च ब्वाइजले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए । आर्मीको जितमा कप्तान टेकबहादुर बुढाथोकी नायक बने । फाइनलको दुवै गोल टेकबहादुरले गरे । उनले ३१ र ८० औं मिनेटमा गोल गरेका थिए ।

टेकबहादुरले खेलको ३१ औं मिनेटमा टंक बस्नेतको पासमा गोल गरी आर्मीलाई अग्रता दिलाए । टंकले बायाँ साइडबाट मिलाइदिएको पासलाई पेनाल्टी बक्स एरियाभित्र रहेका टेकबहादुरले पोस्टको दिशा दिए । उनले दोस्रो गोल विवेक बस्नेतको पासमा गरे । ८० औं मिनेटमा विवेकले मिलाएको पासमा अनमार्क रहेका टेकबहादुरले भलीमा गोल गरेका हुन् ।

आर्मीविरुद्ध सशक्त खेल पस्किए पनि पोस्टमा आक्रमण बुन्न नसक्दा चर्च ब्वाइज उपविजेतामै समेटियो । नवौं मिनेटमा बक्सभित्र पाएको बललाई चर्च ब्वाइजका उमेश राईले खेर फाले । उनको प्रहार फितलो हुँदा आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए । खेलको २० औं मिनेटमा कैलाश बस्नेतको कडा प्रहार पोस्ट माथिबाट बाहिरियो । ब्वाइजका सुनील खड्काले २५ औं मिनेटमा गरेको आक्रमण पनि खेर गयो । पोस्ट खाली रहेको अवस्थामा सुनीलको प्रहार लक्षित बन्न सकेन । ६५ औं मिनेटमा बक्सभित्र पाएको बललाई पाल्साङ लामाले सशक्त प्रहार गर्न सकेनन् ।

आर्मीका दीपक गुरुङले ४७ औं मिनेटमा प्रहार गरेको फ्रिकिकलाई विपक्षी गोलरक्षक विनय श्रेष्ठले पञ्च गरेर जोगाए । ५३ औं मिनेटमा टंक बस्नेतको कर्नरमा पेनाल्टी एरियाभित्र प्राप्त बल विमल पाण्डेले सही दिशा दिन सकेनन् । फाइनलको इन्ज्युरी समयमा दोहोरो पहेँलो कार्ड पाएका चर्च ब्वाइजका राजेन्द्र रावलले रातो कार्ड खादै मैदान छाडेका थिए ।

फाइनलमा म्यान अफ द म्याच चर्च ब्वाइजका अशोक खवास भए । उनले १० हजार रुपैयाँ पाए । उत्कृष्ट गोलकिपर आर्मीका विवश चौधरी भए । उत्कृष्ट डिफेन्डर आर्मीका दीपक गुरुङ, उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट फरवार्ड आर्मीकै टंक बस्नेत भए । उत्कृष्ट मिडफिल्डरको पुरस्कार चर्च ब्वाइजका सुनील खड्काले पाए । उनीहरूले जनही १५ हजार रुपैयाँ पाए । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले पाए । उनले ३२ इन्चको टीभी र ५० हजार रुपैयाँ प्राप्त गरे । स्थानीय जायोन स्पोट्स क्लबको आयोजनामा कात्तिक १६ देखि भएको प्रतियोगितामा दुई भारतीयसहित १० टिमको सहभागिता थियो ।

प्रकाशित : कार्तिक २६, २०७६ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×