हाम्रो पूर्वाञ्चल गोल्डकप : आर्मी च्याम्पियन

अर्जुन राजवंशी

(बिर्तामोड) — विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा सम्पन्न अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । 

हाम्रो पूर्वाञ्चल गोल्डकप : आर्मी च्याम्पियन

डोमालाल राजवंशी रंगशालामा सोमबार फाइनलमा आर्मीेले चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । विजेता आर्मीले १२ लाख ५० हजार र उपविजेता चर्च ब्वाइजले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए । आर्मीको जितमा कप्तान टेकबहादुर बुढाथोकी नायक बने । फाइनलको दुवै गोल टेकबहादुरले गरे । उनले ३१ र ८० औं मिनेटमा गोल गरेका थिए ।


टेकबहादुरले खेलको ३१ औं मिनेटमा टंक बस्नेतको पासमा गोल गरी आर्मीलाई अग्रता दिलाए । टंकले बायाँ साइडबाट मिलाइदिएको पासलाई पेनाल्टी बक्स एरियाभित्र रहेका टेकबहादुरले पोस्टको दिशा दिए । उनले दोस्रो गोल विवेक बस्नेतको पासमा गरे । ८० औं मिनेटमा विवेकले मिलाएको पासमा अनमार्क रहेका टेकबहादुरले भलीमा गोल गरेका हुन् ।


आर्मीविरुद्ध सशक्त खेल पस्किए पनि पोस्टमा आक्रमण बुन्न नसक्दा चर्च ब्वाइज उपविजेतामै समेटियो । नवौं मिनेटमा बक्सभित्र पाएको बललाई चर्च ब्वाइजका उमेश राईले खेर फाले । उनको प्रहार फितलो हुँदा आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए । खेलको २० औं मिनेटमा कैलाश बस्नेतको कडा प्रहार पोस्ट माथिबाट बाहिरियो । ब्वाइजका सुनील खड्काले २५ औं मिनेटमा गरेको आक्रमण पनि खेर गयो । पोस्ट खाली रहेको अवस्थामा सुनीलको प्रहार लक्षित बन्न सकेन । ६५ औं मिनेटमा बक्सभित्र पाएको बललाई पाल्साङ लामाले सशक्त प्रहार गर्न सकेनन् ।


आर्मीका दीपक गुरुङले ४७ औं मिनेटमा प्रहार गरेको फ्रिकिकलाई विपक्षी गोलरक्षक विनय श्रेष्ठले पञ्च गरेर जोगाए । ५३ औं मिनेटमा टंक बस्नेतको कर्नरमा पेनाल्टी एरियाभित्र प्राप्त बल विमल पाण्डेले सही दिशा दिन सकेनन् । फाइनलको इन्ज्युरी समयमा दोहोरो पहेँलो कार्ड पाएका चर्च ब्वाइजका राजेन्द्र रावलले रातो कार्ड खादै मैदान छाडेका थिए ।


फाइनलमा म्यान अफ द म्याच चर्च ब्वाइजका अशोक खवास भए । उनले १० हजार रुपैयाँ पाए । उत्कृष्ट गोलकिपर आर्मीका विवश चौधरी भए । उत्कृष्ट डिफेन्डर आर्मीका दीपक गुरुङ, उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट फरवार्ड आर्मीकै टंक बस्नेत भए । उत्कृष्ट मिडफिल्डरको पुरस्कार चर्च ब्वाइजका सुनील खड्काले पाए । उनीहरूले जनही १५ हजार रुपैयाँ पाए । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले पाए । उनले ३२ इन्चको टीभी र ५० हजार रुपैयाँ प्राप्त गरे । स्थानीय जायोन स्पोट्स क्लबको आयोजनामा कात्तिक १६ देखि भएको प्रतियोगितामा दुई भारतीयसहित १० टिमको सहभागिता थियो ।

प्रकाशित : कार्तिक २६, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?