१३ औं दक्षिण एसियाली खेलकुद  : पोखरा रंगशालाको आधा दुबो फेर्नुपर्ने

दुबो आयातमा भारतीय क्वारेन्टाइनको अड्चन
फुटबल हुनेमा अन्योल
दीपक परियार

(पोखरा) — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि सक्नुपर्ने पोखरा रंगशाला फुटबल मैदान निर्माणमा ढिलाइ भएको छ । भारतबाट ल्याउने प्रक्रिया लम्बिँदा दुबो बाटैमा सुकेकाले त्यही ल्याएर मैदानमा बिछ्याइँदा अहिले आधाभन्दा बढी फेर्नुपर्ने देखिएको छ । 

१३ औं दक्षिण एसियाली खेलकुद  : पोखरा रंगशालाको आधा दुबो फेर्नुपर्ने

पोखरा रंगशालामा सागअन्तर्गत महिला फुटबल हुँदै छ । साग सुरु हुन २० दिन बाँकी रहँदा मैदानमा बिछ्याइएको दुबो बिग्रिएर फेर्नुपर्ने भएपछि महिला फुटबल हुने/नहुने अन्योल उत्पन्न भएको छ ।


भारतको कोलकोलाबाट झिकाइएको माटोसहित बर्मुडा दुबोको चपरी भारतीय क्वारेन्टाइनले भन्सारमा रोक्दा पोखरा ल्याउन ८ दिन लागेको थियो । तिनै दुबो पोखरा रंगशालामा बिछ्याइयो । फुटबल मैदानको ८७ हजार वर्गफिट क्षेत्रमा दुबोको चपरी बिछ्याइएको थियो । तर आधाभन्दा बढी दुबो उम्रिएन । नउम्रिएको दुबो झिकेर निर्माण कम्पनीले थप ६३ हजार वर्गफिट दुबो बिछ्याइसकेको छ । थप १२ हजार वर्गफिट दुबो मगाइएको छ ।


निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले दुबोको ढुवानीमा समय लाग्दा बाटोमै बिग्रिएको स्वीकारे । ‘भारतले कानुनी रूपमा आफ्नो देशको माटो बाहिर पठाउन नदिँदो रहेछ,’ उनले भने, ‘दुबोको जरासँगै माटो मिसिएको भनेर क्वारेन्टाइनले हरेकपल्ट रोक्यो ।’


उनले कम्पनीको प्रयासले मात्रै दुबो भित्र्याउन सम्भव नभएपछि खेलकुदमन्त्री, सचिव र राष्ट्रिय खेलकुद परिषद् गुहारेको खुलासा गरे । ‘डेढ लाख वर्गफिट दुबो ल्याइसक्यौं, थप १२ हजार वर्गफिट आउँनै बाँकी छ,’ उनले भने, ‘भारतीय पक्षले नरोके ३ दिनभित्र आउँछ ।’ ताजा दुबो ल्याएर मरिसकेको दुबोलाई बदल्ने उनले जनाए । बिछ्याएको दुई सातामा फुटबल खेल्न मिल्ने उनी बताउँछन् ।


‘शनिबार आइपुग्ने भनेको सामान अझै आएको छैन । बाटोमै छ । रेलमा छ । यो कुरा सरकारलाई पनि भन्यौं,’ म्यानेजर बरालले भने, ‘सरकारकै प्रयासमा फास्ट ट्र्याकमा ल्याउन लागिएको छ ।’ सरकारले दिल्ली दूतावास र दूतावासले भारतीय महावाणिज्य दूतलाई भनेर चाँडै गर्दागर्दै पनि सामान आइनपुगेको उनले गुनासो गरे । इन्टरलक प्रविधिको ग्रान्ड स्ट्यान्ड जोड्न फ्रान्सबाट दुई प्राविधिक पोखरा आइसकेका छन् । २० हजार दर्शक क्षमताको प्यारापिटमध्ये १० हजार सिट जोड्ने कम्पनीको लक्ष्य छ । चारमध्ये दुई ब्लक जोड्न एक साता लाग्ने प्राविधिकले बताए ।


उनका अनुसार स्टेडियमको संरचनातर्फ ७० प्रतिशत काम सकिएको छ । १७ ट्वाइलेट ब्लकमध्ये १२ वटा बनेका छन् । चेन्जिङ रुम भने यसपल्ट मैदान नजिकैको बहुउद्देश्यीय कभर्डहलबाट काम चलाउन लागिएको छ । ट्र्याक एन्ड फिल्डमा आइतबारदेखि रबर दाना हाल्न सुरु गरएको छ । सिन्थेटिक ट्र्याकको सामान पोखरा आइसकेको छ । प्यारापिटका लागि ग्रान्ड स्ट्यान्डको फाउन्डेसन तयार भएको छ । फ्रान्सबाट ल्याइएको ग्रान्ड स्ट्यान्ड भारतको विशाखापट्टनम बन्दरगाहमै रहेको बरालले बताए । त्यहाँबाट वीरगन्ज भन्सार आइपुग्न समय लाग्ने उनले सुनाए ।


सागका प्रतियोगिता गर्न मिल्ने गरी मैदान सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ । ‘अन्तर्राष्ट्रिय मान्यता पनि के छ भने मैदान ७० प्रतिशत ठिक छ भने खेल्न मिल्छ,’ कम्पनीका प्रोजेक्ट म्यानेजर बरालले भने, ‘इमान्दारीपूर्वक काम गर्दै गर्दा कहिलेकाहिँ त्रुटि हुन्छ । सबै दुबो हरियो नै चाहिन्छ भन्ने हो भने हामीले केही गर्न सक्दैनौं ।’


राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले भारतले रोक्दा दुबो र ग्रान्ड स्ट्यान्ड ल्याउन ढिलाइ भएको बताएका छन् । ‘विगतमा कहिल्यै दुबो ल्याइएको थिएन । दुबो ल्याउन पाउने, माटो ल्याउन नपाउने भनेर भारतीय साइडबाट रोकियो,’ आइतबार पोखरामा उनले भने, ‘पहिलोपल्ट नेपालको तर्फबाट रोकिएको थियो, हामीले त्यहीं दिन क्लियर गर्‍यौं । दोस्रोपल्ट भारतीय पक्षबाट रोकियो । त्यो पनि अनुरोध गरेर फास्ट ट्र्याकमा ल्याउने कुरा भएको छ । हाम्रो कारणले दुबो रोकिएको होइन ।’


दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सेभ द मिसनको टोलीसहित पोखरा आएका सदस्यसचिवले ५ दिनभित्र ग्रान्ड स्ट्यान्डका सामान पोखरा उतार्ने दाबी गरे । ग्रान्ड स्ट्यान्ड छुटाउन भारतीय पक्षसम्म पत्राचार गरिसकेको उनले पत्रकार सम्मेलनमा बताए । ‘सामान ल्याउने कन्टेनर क्यूमा बस्नुपर्छ । क्यूमा नबसी फास्ट ट्र्याकमा ल्याउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘पहिला पनि राखेपकै पहलमा दुबो छुटेको थियो ।’ दुबोको अवस्थाले गर्दा म्याच नरोकिने उनले स्पष्ट पारे । ‘पोखराको उद्घाटन गर्ने नै त्यहीं ठाउँमा हो,’ उनले भने, ‘सकिएन भने उद्घाटन हुँदैन ।’

ह्यान्डबलको सामान पनि भन्सारमा आइसकेको उनले बताए ।


पोखरामा हुने ब्याडमिन्टन, भारोत्तोलन, ट्रायथलन, आर्चरी, ह्यान्डबल, बिच भलिबल र महिला क्रिकेटको सम्पूर्ण तयारी मंसिर ५ सम्म सकिने सदस्य–सचिवले उल्लेख गरे ।


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग नहुने प्रश्नमा शनिबारदेखि पूर्णविराम लागेको बताए । ‘फेरि पनि खेल सर्ने हो कि भन्ने धेरैलाई शंका थियो,’ उनले भने, ‘साग ओलम्पिक काउन्सिलको बैठकपछि शतप्रतिशत निर्धारित समयमा हुने निश्चित छ ।’ उनले सहभागिताका लागि अझै प्रयास भइरहेकाले प्याराग्लाइडिङ नहुने निष्कर्षमा नपुग्न आग्रह गरे । प्याग्लाइडिङमा सहभागी हुने खेलाडीलाई दुईतर्फी हवाई भाडा, नि:शुल्क खानेबस्ने सुविधा र दर्ताका लागि नोभेम्बर २० सम्म समय दिएको उनले उल्लेख गरे ।


गत पुस १३ मा स्टेडियम बनाउन सम्झौता भएको थियो । फागुनमा शिलान्यास भएको स्टेडियम ६ महिनाभित्रै बनाउने भनिए पनि अन्तिम समयमा मात्रै कामको गति बढाइएको छ । स्टेडियमको लागत १ अर्ब २८ करोड रुपैयाँ छ ।




प्रकाशित : कार्तिक २६, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?