२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लिभरपुललाई ८ अंकको अग्रता

(एएफपी)

लन्डन — लिभरपुलले आइतबार राति इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराएको छ । अंकतालिकामा ८ अंकको अग्रता लिएको लिभरपुल एनफिल्डमा प्राप्त यो जितले ३० वर्षयता पहिलोपल्ट लिग उपाधि जित्ने बाटोमा अघि बढेको छ । 

लिभरपुललाई ८ अंकको अग्रता

सुरुआती १३ मिनेटभित्र फाबिन्हो र मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले ठोस अग्रता लिएको थियो । साडियो मानेले हेडबाट तेस्रो गोल गरे । अन्त्यतिर बर्नान्डो सिल्भाले एक गोल फर्काए । हारले सिटी चौथो स्थानमा रह्यो । लिभरपुलसँग सिटी ९ अंकको दूरीमा छ । अब सिटीले लगातार तेस्रोपल्ट लिग उपाधिका लागि चुनौती पेस गर्न कडा मिहिनेत गर्नुपर्नेछ ।


खेलपछि लिभरपुल व्यवस्थापक योर्गन क्लोपले भने, ‘हामीलाई पक्कै ८ अंकको अग्रता प्राप्त भएको छ, तर हामीले तय गर्नुपर्ने यात्रा अझै लामो छ । नोभेम्बरमा को अगाडि रहन्छ, त्यसले खासै अर्थ राख्दैन । मेमा को अगाडि हुन्छ, त्यो मात्र निर्णायक हुन्छ ।’ चोटग्रस्त आयमेरिच लापोर्टको अनुपस्थितिमा पछिल्लो समय सिटीको डिफेन्स कमजोर रहेको छ । त्यसको झलक फेरि एकपल्ट लिभरपुलविरुद्धको खेलमा पनि देखियो ।


सुरुमै दुई गोल खाएपछि सिटीलाई खेलमा फर्कन गाह्रो भएको हो । रेफ्री र ‘भार’ का केही निर्णय सिटीको पक्षमा पनि रहेन । सिटी व्यवस्थापक पेप ग्वार्डिओलाले भने, ‘के भयो, यसबारे मलाई सोध्ने होइन । रेफ्रीलाई हो । म टिमको प्रदर्शनबारे मात्र बोल्न सक्न सक्छु र म यसमा गर्व गर्छु ।’


आइतबारै म्यानचेस्टर युनाइटेडले ब्राइटन एन्ड होभलाई ३–१ ले हरायो भने उल्भसले एस्टन भिल्लामाथि २–१ को जित निकाल्यो । युनाइटेडले यो जितपछि अंकतालिकाको सातौं स्थान कब्जा गरेको छ । दुई महिनायता क्लबको यो सबैभन्दा राम्रो स्थिति हो । प्रशिक्षक ओले गन सोल्सारले टिमको प्रदर्शन अहिलेसम्मकै सबैभन्दा राम्रो भएको दाबी गरे । उल्भस पनि जितपछि आठौं स्थानमा उक्लन सफल रह्यो ।


इटाली

मिलान– पाउलो डिबालाले गरेको निर्णायक गोल मदतमा युभेन्ट्सले इटालीको सिरी ‘ए’ मा आइतबार राति एसी मिलानलाई १–० ले हरायो । क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा छिरेका डिबालाको यो गोलपछि युभेन्ट्स अंकतालिकाको शीर्षस्थानमा उक्लन सफल भएको छ । टुरिनमा भएको खेलमा अर्जेन्टिनी खेलाडी डिबालाले ७७ औं मिनेटमा गोल गरे ।


त्यसको २० मिनेटअगाडि उनले रोनाल्डोलाई स्थानान्तरण गरेका थिए । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सलाई एन्टोनियो कोन्टेको इन्टर मिलानमाथि एक अंकको अग्रता प्राप्त छ । एसी मिलानका लागि यो १२ खेलमा सातौं हार हो । टिम खराब प्रदर्शन गर्दै १४ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रबाट ४ अंकको दूरीमात्र हो । अर्को खेलमा पार्माले भने एएस रोमामाथि २–० को जित दर्ता गर्दै छैटौं स्थानमा आयो । अन्य खेलमा लाजियोले लेचेलाई ४–२ र कागलिरीले फियोरेन्टिनालाई ५–२ ले हराएर शीर्ष चारमा स्थान बनाएका छन् ।


स्पेन

म्याड्रिड– एट्लेटिको म्याड्रिडले आइतबार स्पेनी ला लिगामा स्पान्योललाई ३–१ ले हरायो । एट्लेटिको २४ अंकसहित तालिकाको तेस्रो स्थानमा कायम रह्यो । यो शीर्षस्थानमा रहेको बार्सिलोनासँग १ अंकको दूरी हो । बार्सिलोनासँग २५ अंक छ । रियल म्याड्रिड समान अंकसाथ दोस्रो स्थानमा छ । रियल बेटिसलाई उसकै घरमा २–१ ले पन्छाएर सेभिया चौथो स्थानमा रह्यो । सेभियाको पनि २४ अंक छ ।


प्रकाशित : कार्तिक २६, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?