सटपुट खोइ ?

दक्षिण एसियाली खेलकुद
विनोद पाण्डे

काठमाडौँ — दक्षिण एसियाली खेलकुदको एथलेटिक्स विधामा पहिलोपटक सटपुटविहीन हुने भएको छ । मंसिर १५ गतेदेखि नेपालले आयोजना गर्न लागेको दक्षिण एसियाको ओलम्पिकको १३ औं संस्करणमा सटपुटलाई राखिएको छैन । एथलेटिक्समा सटपुट अनिवार्य नभए पनि यसअघिका संस्करणमा नियमित रहँदै आएको थियो । 

सटपुट खोइ ?

क्षिण एसिया ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठककै क्रममा भएको सेभ द मिसन सेमिनारमा प्रतिस्पर्धा हुन लागेको २७ खेलकै ‘टेक्निकल ह्यान्डबुक’ बाँडिएको थियो । त्यसमा सटपुटबिनाको एथलेटिक्सको ह्यान्डबुकलाई सहभागी हुन लागेका सातै देशले स्वीकृत गरेका थिए ।


राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक चन्द्र गुरुङले सटपुट छुट्न गएको र सेफ द मिसनको बैठकमा बुकलेट बाँडिसके पनि यसलाई थप्न केही फरक नपर्ने जनाए । निर्धारित तालिकाअनुसार एथलेटिक्स मंसिर १७ बाट सुरु भई २१ मा टुंगिनेछ । एथलेटिक्सको विधा सुरु हुनुअघिको व्यवस्थापक बैठकमा सटपुट छुटेको बारेमा जानकारी गराई थपिने गुरुङ बताउँछन् । नेपाल एथलेटिक्स संघले टेक्निकल ह्यान्डबुक निकालेको हो ।


‘मैले बनाएर दिएको तालिका तोडमोड भएको छ । जसले निकाले पनि फाइनल भएपछि प्रमुख प्रशिक्षकलाई सोध्नुपर्दैन । महाप्रशिक्षक को निस्कियो मलाई थाहा छैन,’ गुरुङले कान्तिपुरसँग भने, ‘टाइप गर्नेले प्रिन्ट मिस्टेक गरेको हुन सक्छ । टाइप छुटे पनि अन्तिम निर्णय गर्ने सम्बन्धित मान्छे हुनुपर्छ ।’ उनले यसको ठूलो विषय नभएको बताए । आफूले ३ तारिख पहिलो दिनको बिहान ९.१५ मिनेटमा सटपुट पुरुष र महिला राखेको दाबी उनको छ ।


एथलेटिक्सको तालिका पनि आयोजक राष्ट्र नेपालकै लागि हानिकारक भएको जानकारहरू बताउँछन् । ५ हजार र १० हजार मिटरलगत्तै परेकाले यसलाई खेलाडीलाई बाधा पार्न सक्नेछ । ५ हजार र १० हजार मिटर प्रायः एउटै खेलाडीले दौडिने हुनाले असर पर्न सक्ने सम्भावना धेरै देखिएको हो । आफूले बनाएको तालिकामा यो पनि परिवर्तन भएर आएको गुरुङले गुनासो पोखे । ‘मैले बनाएको तालिकामा पहिलो दिन १५ सय, दोस्रो दिन १० हजार र चौथो दिन ५ हजार राखेको थियो । तर परिवर्तन भएर आएको छ । किन परिवर्तन भयो मलाई थाहा भएन,’ उनले निराशा पोखे ।


परम्परागत हिसाबमा एथलेटिक्सको पहिलो दिन हुँदै आएको म्याराथन पाँचौं तथा अन्तिम दिन राखिएको छ । यसले विदेशी खेलाडीलाई फाइदा पुग्ने देखिन्छ । ‘नेपालजस्तो देशमा आएर म्याराथनमा प्रतिस्पर्धा गर्न सजिलो छैन, यहाँ आएर नभिजेसम्म लामो दूरीमा दौडिन निकै गाह्रो हुन्छ, त्यसैले नेपालले यसको फाइदा लिनुपर्ने थियो,’ एथलेटिक्सका एक अधिकारीले दुखेसो पोखे, ‘म्याराथन अन्तिम दिन राखिएपछि विदेशी खेलाडीलाई यहाँको वातावरणसँग घुलमिल गर्न राम्रो अवसर पाएका छन् । अन्तिम दिनमा म्याराथन राख्दा विदेशी खेलाडीले तयारीका लागि ७–८ दिन अवसर पाउँछन् । जबकि पहिलो दिन नै म्याराथन राखिएको भए नेपाली खेलाडीलाई फाइदा हुने थियो ।’ मुख्य प्रशिक्षक गुरुङ अन्तिम दिन राख्ने निर्णयको भने बाध्यता रहेको भन्दै रक्षा गर्छन् ।


‘शनिबार परेकाले सवारीको चाप कम हुन्छ भनेर धेरैलाई बाधा नपरोस् भनेर म्याराथन अन्तिम दिन राखिएको हो । सरकारले यातायातको चाप मिलाउँछ भने त कुनै पनि दिन राख्दा हुन्छ,’ उनले भने ।


सन् १९९९ मा पछिल्लोपटक नेपालले साग खेलकुद आयोजना गर्दा म्याराथन एथलेटिक्सको पहिलो दिन अर्थात् उद्घाटनको भोलिपल्ट खेलाइएको थियो, जसमा नेपालका गणेश राई तेस्रो भएका थिए । साग म्याराथनमा नेपालको समृद्ध इतिहास छ । वैकुण्ठ मानन्धरले पहिलो तीन सागमा स्वर्ण जितेका थिए । यसलाई निरन्तरता दिने क्रममा टीका बोगटीले मद्रास सागमा म्याराथनमा स्वर्ण जितेका थिए ।


२०१० मा बंगलादेशमा राजेन्द्र भण्डारीले म्याराथनमा अर्को स्वर्ण जिते । तर आयोजकले दूरी नाप्न गल्ती गरेका कारण पछि त्यो इभेन्टलाई सिटी म्याराथन भनिएको थियो ।


प्रकाशित : कार्तिक २५, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?