१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेपालको सहज विजय

कान्तिपुर संवाददाता

काठमाडौँ — पहिलोपल्ट आयोजना भएको एसियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले अफगानिस्तानमाथि ३–० को सेटमा सहज विजय हासिल गरेको छ । झन्डै २ वर्षको अन्तरालमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको नेपाली टोलीबाट ६ खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । 

नेपालको सहज विजय

बंगलादेशको मिरपुरस्थित सहिद सुराबर्दी इन्डोर रंगशालामा प्रशिक्षक जगदीश भट्टले तुलनात्मक रूपमा कमजोर प्रतिस्पर्धी अफगानिस्तानविरुद्ध पहिलो सेटमै ३ नयाँ खेलाडी समेटेर कोर्टमा उतारेका थिए । स्पाइकर निरुता ठगुन्ना, मिडिल ब्लकर सुनीता खड्का र लिब्रो सलिना श्रेष्ठसहित कप्तान अरुणा शाही, प्रतिभा माली र उषा भण्डारी सम्मिलित टिमले पहिलो सेटमा २५–४ को जित निकाल्यो ।


कप्तानको रूपमा अरुणा शाहीको पनि यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । सन् २०१३ मा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी उनी विनिता बुढाथोकीलाई प्रतिस्थापन गर्दै टोलीको कप्तान भएकी हुन् ।


दोस्रो सेटमा थप ३ खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु पाए । सेटर जानकी भण्डारी, मिडिल ब्लकर सोफिया पुन र स्पाइकर पूनम चन्दले दोस्रो सेटदेखि अवसर पाए । दोस्रो सेटमा नेपालले मुख्य स्पाइकर प्रतिभा मालीबाहेक सबै डेब्यु खेलाडीलाई उतारेको थियो । त्यस सेट नेपालले २५–९ ले जित्यो । नेपालले तेस्रो सेटमा पनि २५–६ को जितका साथ सुखद सुरुआत गरेको हो । प्रतिभा माली खेलको उत्कृष्ट खेलाडी चुनिइन् ।


१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपालले यस प्रतियोगितामा नयाँ र कम अनुभवी खेलाडीलाई पर्याप्त म्याच एक्स्पोजर प्रदान गर्ने अवसरको रूपमा लिएको छ । त्यसैले प्रशिक्षक भट्टले नियमित टोलीका स्पाइकर सरस्वती चौधरी र सेटर कमला पुनलाई पहिलो खेलमा आराम दिएका थिए ।


नेपाल र अफगानिस्तानसहित बंगलादेश, माल्दिभ्स र किर्गिस्तान गरी ५ टोली सम्मिलित प्रतियोगिता राउन्ड रोविन लिग प्रणालीमा सञ्चालन हुनेछ । शीर्ष दुई टिमले फाइनल खेल्नेछन् भने लिग चरणमा तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो स्थानको प्लेअफ खेल्नेछन् ।

प्रकाशित : कार्तिक २५, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?