१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दक्षिण एसियाली ओलम्पिक काउन्सिल बैठक : १३ औं साग निर्धारित मितिमै

कुशल तिमल्सिना

काठमाडौँ — पूर्वाधार तयारीमा भइरहेको प्रगति हेर्दा विश्वस्त हुने ठाउँ नरहे पनि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मंसिर १५ देखि २४ गतेको निर्धारित मितिमै आयोजना हुने निश्चित भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार राजधानीमा बसेको बैठकमार्फत नेपालले सबै सदस्य राष्ट्रलाई निर्धारित मितिमै प्रतियोगिता हुनेमा विश्वास दिलाएको छ । 

दक्षिण एसियाली ओलम्पिक काउन्सिल बैठक : १३ औं साग निर्धारित मितिमै

उद्घाटन र समापनसहितको मुख्य खेलस्थल दशरथ रंगशाला, पोखरा रंगशाला र ललितपुरमा वातानुकूलित पौडी पोखरीको निर्माण कार्य जारी रहेकै अवस्थामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले सार्कका सबै राष्ट्रका ओलम्पिक कमिटीका प्रतिनिधिलाई निर्धारित समयमा नेपाल आयोजना गर्न तयार रहेको ब्रिफिङ गरेका थिए । शनिबार बैठकमा ओलम्पिक कमिटीका प्रतिनिधिको जिज्ञासाको जवाफस्वरुप सदस्यसचिव सिलवालले निर्माणाधीन खेलस्थल कात्तिक मसान्तसम्म सम्पन्न गरिसक्ने र मंसिर १५ गते उद्घाटन हुनेमा सबैलाई विश्वस्त पार्ने प्रयास गरेका थिए ।


‘सहभागी देशका प्रतिनिधिमाझ रहेको केही अन्योललाई प्रस्ट पार्ने काम मन्त्रीज्यू र सदस्यसचिवज्यूले गर्नुभएको छ, उहाँहरू तयारी समितिमार्फत साग तयारीमा प्रत्यक्ष खटिनुभएको छ,’ बैठकपछि पत्रकार सम्मेलनमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘सहभागी सबै देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरू हाम्रो तर्फबाट आएको प्रतिवद्धतामा विश्वस्त हुनुहुन्छ ।’


बैठकमा सहभागी देशका प्रतिनिधिले मौसमसँग अनुकूल हुन प्रतियोगिताको केही दिनअघि नै नेपालमा आएर तयारी गर्नुपर्ने प्रस्तावमा आयोजक पक्ष सकारात्मक रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरूले पूर्वाधारकै कारणले प्रतियोगितामा असर पर्न नहुने भन्दै त्यसका लागि आवश्यक भएमा नेपाललाई सहयोग गर्न आफूहरू तयार रहेको पनि बताए । ‘ओलम्पिक काउन्सिलका हामी सबै पदाधिकारीले दक्षिण एसियाली प्रतियोगिता सबैको साझा प्रतियोगिता भएको र नेपाल त्यसको आयोजक मात्र हुनाले उसलाई तयारीका क्रममा आवश्यक पर्ने सहयोगका लागि पनि उहाँहरूले प्रस्ताव गर्नुभयो । सबैले यस प्रतियोगितालाई अपनत्व लिनुभयो, हाम्रा लागि यो सकारात्मक पक्ष रह्यो,’ अध्यक्ष श्रेष्ठले भने ।


बैठकमा नेपालको तर्फबाट ब्रिफिङ गरेका राखेप सदस्य–सचिव सिलवालले यसै महिनाको अन्तिमसम्ममा पूर्वाधार तयार पार्ने प्रतिबद्धतासहित सबै खेल निर्धारित समय र स्थलमै आयोजना गर्नेमा विश्वस्त पारेका थिए । यसअघि बैठकको उद्घाटन समारोहमा खेलकुदमन्त्री विश्वकर्माले निर्धारित मितिमै साग आयोजना गर्न नेपाल तयार रहेको र डिसेम्बर १ (मंसिर १५) मा सबै बिदेशी पाहुनालाई काठमाडौंमा स्वागत गर्न आतुर रहेको बताएका थिए । मन्त्री विश्वकर्माले ओलम्पिक प्रतिनिधिहरूलाई आ–आफ्नो देशका खेलकुदमन्त्रीसमक्ष सन्देश पुर्‍याइदिन अनुरोधसमेत गरे ।


खेलाडी थपिने

बैठकले एथलेटिक्स, साइक्लिङ र बक्सिङ खेलमा सहभागी खेलाडीको संख्या बढाउने निर्णय गरेको छ । एथलेटिक्समा यसअघि हरेक विधामा एकमात्र खेलाडी सहभागी गराइएकोमा अब सबै विधामा हरेक देशबाट २–२ खेलाडी सहभागी गराउन पाइनेछ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार सहभागी देशको आग्रहमा यसो गरिएको हो । साइक्लिङमा दुई स्पर्धामा २–२ खेलाडी थप भएका छन् भने बक्सिङमा ९१ केजी माथिको स्पर्धा समावेश गर्ने निर्णय भएको छ ।


दर्ता समयसीमा थप

सागका लागि नेपाल ओलम्पिक कमिटीले खेल र खेलाडी दर्ता प्रक्रिया जारी राखेको छ । सहभागी सबै देशका लागि सहभागी हुने खेल र खेलाडी दर्ता गर्न मंसिर ४ सम्मको समयसीमा बढाइएको छ । यसअघि कात्तिक २९ सम्मको समयसीमा निर्धारण गरिएकोमा खेलाडी संख्या थप्ने निर्णयअनुसार दर्ता समय बढाइएको हो । काठमाडौं, ललितपुर, कास्की र धनुषामा आयोजना हुने सागमा २७ खेल समावेश गरिएको छ । त्यसमध्ये कास्कीमा हुने तय भएको प्याराग्लाइडिङका लागि सहभागी देशको संख्या नपुगेका कारण आयोजना नहुने सम्भावना छ । ‘नेपालबाहेक अन्य देशमा प्याराग्लाइडिङको संघ रहेनछ । त्यसैले सम्बन्धित देशको ओलम्पिक कमिटीसम्मको पहुँच भएन । सकेसम्म समावेश गर्ने प्रयास गरेका छौं,’ अध्यक्ष श्रेष्ठले भनेका छन् । बैठक सकेर सहभागी देशका प्रतिनिधिहरू खेलस्थल निरीक्षणका लागि पोखरा पुगेका छन् । आइतबार काठमाडौं र ललितपुरका खेलस्थल अनुगमन तथा निरीक्षण हुनेछ ।


सेफ द मिसनको सेमिनार

शनिबारै सागमा सहभागी देशका सेफ द मिसनको सेमिनारसमेत आयोजना भएको छ । सेमिनारमा आयोजकका तर्फबाट राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले प्रतियोगिताको खेलस्थल र तयारीबारे प्रस्तुति दिएका थिए । त्यसपछि प्रश्नोत्तर कार्यक्रममा सेफ द मिसनका प्रतिनिधिबाट आएको प्रश्नको जवाफ सदस्य–सचिव आफैंले दिएका थिए । नेपालबाट सेफ द मिसन प्रतिनिधिको रूपमा ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्टिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले सहभागिता जनाएका थिए ।


राजवैद्यले सेमिनारमार्फत सबै प्रतिनिधिले प्रतियोगिताको तयारी सन्तोषजनक रहेकोमा खुसी व्यक्त गरेको जानकारी गराए । सेमिनारमा काठमाडौं आएका खेलाडीहरूलाई पोखरा र जनकपुरसम्म पुर्‍याउने तयारीबारे जिज्ञासा राखेका थिए ।


सदस्य–सचिवले मौसमका कारण काठमाडौंबाहिरको खेलस्थलसम्म पुग्नका लागि सडकमार्गको प्रयोग गरिने जनाएका थिए । त्यस्तै सुरक्षासम्बन्धी जिज्ञासामा नेपाल प्रहरीका प्रतिनिधिले सुरक्षा योजना प्रस्तुत गरेका थिए । सेमिनारमा साग सुरक्षा समितिका संयोजकसमेत रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पनि उपस्थिति थियो । सेमिनारपछि सेफ द मिसनका प्रतिनिधि खेलस्थल अवलोकन निरीक्षणका लागि पोखरा गएका छन् । आइतबार टोलीले काठमाडौं र ललितपुरका खेलस्थल निरीक्षण गर्नेछन् ।


अर्को संस्करण पाकिस्तानमा !

बैठकले दुई वर्षपछि हुने १४ औं सागको आयोजक मुलुक पनि टुंगो लगाएको छ । अर्को संस्करण आयोजनाका लागि पाकिस्तानलाई अनुरोध गर्ने निर्णय गरेको एनओसी अध्यक्ष श्रेष्ठले जानकारी गराए । ‘सागको विधानअनुसार देशको नामको सुरुआती अक्षरका आधारमा आलोपालो गर्ने व्यवस्था भएअनुसार पाकिस्तानलाई आयोजना प्रस्ताव गर्ने निर्णय भएको छ,’ उनले थपे, ‘पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएमा १३ औं सागको समापनको दिन उसलाई झण्डा हस्तान्तरण गरिनेछ ।’


आयोजनाको जिम्मा पाएको देशको भौतिक पूर्वाधारलाई दक्षिण एसिया ओलम्पिक काउन्सिलको टोलीले ६ महिनाभित्र अनुगमन गर्नेछ । काउन्सिललाई चित्त नबुझेमा आयोजना अधिकार खोस्न सकिने निर्णय भएको छ । आफ्नो पालोमा पाकिस्तानले आयोजना गर्न असमर्थ रहे १४ औं संस्करणको आयोजना श्रीलंका र माल्दिभ्सका प्रतिनिधिले आफूहरूले मिलेर गर्ने प्रस्ताव राखेका छन् । ‘यसबारेमा काउन्सिलको अर्को बैठकले निर्णय गर्नेछ,’ अध्यक्ष श्रेष्ठले भने ।


प्रकाशित : कार्तिक २४, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?