२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

क्रिकेटमा भारत र पाकिस्तान नखेल्ने

विनोद पाण्डे

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेटतर्फ भारत र पाकिस्तान नखेल्ने भएका छन् । साग मंसिर १५ देखि २४ सम्म नेपालले आयोजना गर्दै छ । नेपाल तेस्रो पटक दक्षिण एसियाली खेलकुद मेला आयोजना गर्नेक्रममा छ । 

क्रिकेटमा भारत र पाकिस्तान नखेल्ने

निर्धारित तालिकाअनुसार पुरुष क्रिकेट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र महिला क्रिकेट पोखरा क्रिकेट रंगशालामा हुनेछ । तर विश्व क्रिकेटका शक्तिशाली भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता नजनाउने भएका छन् । क्रिकेटमा नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानले मात्र खेल्ने छन् ।


सागमा दोस्रो पटक क्रिकेट समावेश गरिएको हो । बंगलादेशमा सन् २०१० मा भएको ११ औं सागमा क्रिकेटलाई पहिलोपल्ट समावेश गरिएको थियो । तर भारतले त्यो सागसहित २०१४ को इन्चोन एसियाली खेलकुदमा पनि क्रिकेटमा सहभागिता जनाएको थिएन ।


पाकिस्तानले पुरुष फुटबलमा भाग नलिने भएको छ । पाकिस्तान नखेलेपछि ६ राष्ट्रले मात्र फुटबलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको पछिल्लो सागमा आयोजकलाई २–१ ले पराजित गरी फुटबलको स्वर्ण जितेको थियो । नेपालको पुरुष फुटबल टोलीले १९८४, १९९३ र २०१६ मा गरी तीन पटक सागको फुटबल स्वर्ण जितेको छ । भारतले १९९५ को मद्रासयता सागमा फुटबलको स्वर्ण जित्न सकेको छैन ।


निर्धारित तालिकाअनुसार सागको पुरुष फुटबल काठमाडौं दशरथ रंगशाला र महिला फुटबल पोखरा रंगशालामा हुने कार्यक्रम छ । ६ टोलीमात्र भएकाले फुटबलका खेलहरू उद्घाटनकै दिन मंसिर १५ देखि हुने तालिका छ । फुटबल यसअघिका सागमा उद्घानटनको २–३ दिनअघि नै सुरु हुने गर्थ्यो । भलिबलका खेल भने चार दिनअघि अर्थात मंसिर १० र उसु मंसिर १३ देखि सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भलिबलको महिला र पुरुष दुवैको प्रतिस्पर्धा हुनेछ ।


‘सम्बन्धित देशले खेलसंख्या दर्ता गरिसकेका छन् र खेलाडी दर्ता हुनेक्रम जारी छ । त्यो अन्तिम समयसम्म चल्नेछ,’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने । शनिबारदेखि काठमाडौंमा बस्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको कार्यकारिणी बैठकले सबै टुंगो लगाउने छ । तीनदिने बैठकमा सम्बन्धित देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरू सहभागी हुनेछन् ।


भारतको पछिल्लो सागमा जस्तै यसपटक ट्रायथलनमा तीन देशले सहभागिता जनाउने छ । पोखराको लेकसाइडमा हुने ट्रायथलनमा नेपाल, भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । तीन सातापछि हुने सागमा २७ खेल समावेश हुने भनिए पनि प्याराग्लाइडिङ हटाइएको छ । सागमा प्याराग्लाइडिङलाई पहिलोपल्ट समावेश गरिएको हो । पोखराको साराङकोटमा हुने भनिएको प्याराग्लाइडिङमा नेपालबाहेक अन्य राष्ट्रले सहभागिता नजनाउने भएपछि यस खेललाई हटाउनुपरेको हो । यद्यपि प्याराग्लाइडिङ हटाइएको आधिकारिक निर्णय भने गरिसकेको छैन । ‘पाकिस्तान खेल्न तयार छ र भारतले मानेको खण्डमा प्याराग्लाइडिङको प्रतिस्पर्धा हुनेछ । भारतको प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय संस्था नभएकाले सहभागी हुन केही समस्या देखिएको छ,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले भने । उनले पूर्वाधारका कारण साग नरोकिने जनाउँदै भने, ‘साग आयोजनाको चिन्ता सबैभन्दा बढी मलाई छ । निर्धारित मितिमै आयोजना हुनेमा म ढुक्क छु ।’


नेपाल र श्रीलंकाले सबै २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशले ट्रायथलनबाहेक अन्य २५ खेलमा सहभागिता जनाउने छ । भारतले २१, पाकिस्तानले १८, भुटानले १४ र माल्दिभ्सले ११ खेलमा आफ्ना खेलाडीलाई उतार्ने पक्का गरेका छन् । भारतले आर्चरी, क्रिकेट, कराँते, तेक्वान्दोलगायत खेलमा भाग लिने छैन । भारतको आर्चरी निलम्बनको अवस्थामा छ भने कराँते र तेक्वान्दोमा विवाद रहेकाले नखेल्ने बताइएको छ । पाकिस्तानले क्रिकेट, फुटबलसहित आर्चरी, साइक्लिङ, फेन्सिङ, ह्यान्डबल, कबड्डी, खोखो र ट्रायथलनमा प्रतिस्पर्धा नगर्ने भएको छ ।


शुक्रबार प्राप्त जानकारीअनुसार आयोजक नेपालले सबैभन्दा बढी ६ सय ३६ खेलाडी उतार्ने सम्भावना छ । त्यस्तै बंगलादेशका ५ सय ९१, श्रीलंकाका ५ सय ५६, भारतका ५ सय ३५, पाकिस्तानका ३ सय ७८, माल्दिभ्सका २ सय ५२ र भुटानका १ सय १७ खेलाडीले सागमा प्रतिस्पर्धा गर्ने भएका छन् ।डिङबाहेक पोखरामा ८ खेल र जनकपुरमा कुस्ती तथा अन्य सबै खेलको प्रतिस्पर्धा राजधानीमा हुनेछ । पोखरामा आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, हयान्डबल, ट्रायथलन, बिच भलिबल र भारोत्तोलन हुनेछ । सागको उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ ।


‘अफगानको सहभागिता रहन्न’

१३ औं सागमा सहभागी हुन इच्छुक देखिएको अफगानिस्तानले प्रतियोगिता खेल्न नपाउने भएको छ । सन् २००४ को नवौंदेखि २०१६ को १२ औं संस्करणसम्म सागमा सहभागिता जनाएको अफगानिस्तानले पछिल्लो संस्करणलगत्तै आफ्नो सदस्यता मध्य एसियाली क्षेत्रमा सारेको थियो ।


केहि साताअघि नेपाल ओलम्पिक कमिटीसँग अफगानिस्तानले सागमा भाग लिने इच्छा व्यक्त गरेको थियो । तर ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले अनुमति दिनुपर्ने व्यवस्था भएका कारण अफगानिस्तानको सहभागिता नहुने निश्चित भएको हो । ‘३ वर्षअघि अफगानिस्तान हामीसँग छुट्टिएर मध्य एसियामा गएको थियो । त्यहाँ खेलकुद गतिविधि कम भएको भनेर उसले फेरि सागमै फर्कन इच्छा देखाएको थियो,’ दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘अफगानिस्तानलाई पुन: दक्षिण एसियाली क्षेत्रमा ल्याउन ओसीएको साधारणसभामार्फत स्वीकृति लिनुपर्छ, जुन अहिले सम्भव भएन ।’


अध्यक्ष श्रेष्ठले अफगानिस्तानलाई आसन्न सागमा सहभागी गराउने विषयमा छलफल पनि भएको र केही खेलमा सहभागिताको प्रस्ताव गरिएको जानकारी दिए । ‘उनीहरू मार्सल आर्ट्समा बढी इच्छुक देखिन्थे, हामीले उनीहरूले चाहेअनुसारको खेलमा भाग लिन अहिलेलाई दिएनौं,’ श्रेष्ठले भने ।


प्रकाशित : कार्तिक २३, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?