कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपालको हार

कान्तिपुर संवाददाता

काठमाडौँ — मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई २ सय ८ रनले पराजित गरेको छ । तेस्रो तथा अन्तिम दिन शुक्रबार अन्तिमसत्रमा ३ सय ९३ रनको पाएको नेपालको दोस्रो इनिङ्स ४१ औं ओभरमा १ सय ८४ रनमै समेटिएको थियो ।

तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपालको हार

१४ वर्षपछि मान्यताप्राप्त तीनदिवसीय खेलिरहेको नेपालबाट सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए । एमसीसीका माइल्स हेमोन्डलाई लगातार दुई चौका प्रहार गरेका सोमपाल त्यसपछिको अर्को बलमा आउट भए । उनले ८३ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । आउट हुने अन्तिम ब्याट्सम्यान उनले सन्दीप लामिछानेसँग नवौं विकेटमा ५० रनको साझेदारी गरेका थिए ।


पहिलो इनिङ्समा अविजित ३९ रन बनाएका सन्दीप २५ रनमा एलबीडब्लू आउट भए । सन्दीपले अघिल्लो दिन एलेक्स थम्पसनलाई लगातार ३ छक्का प्रहार गरेका थिए । उनले शुक्रबार पनि थम्पसनलाई लगातार बलमा २ चौका र १ छक्का प्रहार गरे ।


कप्तान ज्ञानेन्द्र मल्ललाई ६ रनमै गुमाएको नेपालबाट शरद भेषावकर १५, आरिफ शेख १९ र करण केसी ८ रनमा आउट भए । ओपनर राजु रिजालले ३१ रन बनाए । दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता खोल्नै सकेनन् । नेपालका ६ खेलाडी एलबीडब्लू आउट भए । एमसीसीका ओलिभर हेनोन डाल्बीले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ११ रन खर्चे । थम्पसनले ३ विकेट लिए ।


यसअघि एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर शुक्रबार बिहान इनिङ्स समाप्तिको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दियो । नेपालबाट शुक्रबार करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए ।


एमसीसीबाट इड योङ ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए । नेपालले एमसीसीलाई पहिलो इनिङ्समा ३ सय ६४ रनमा अलआउट गर्दा पनि करण र सन्दीप लामिछानेले ३–३ विकेट लिएका थिए । जवाफमा नेपालले १ सय ५३ रनमात्र बनाउन सके पनि नेपाललाई फलोअनमा बोलाएको थिएन ।

प्रकाशित : कार्तिक २३, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?