रंगशाला रुङ्दै मन्त्री

कुशल तिमल्सिना

काठमाडौँ — मन्त्री जगतबहादुर विश्वकर्मा घण्टा–घण्टाको हिसाब गरेर दशरथ रंगशाला निर्माणको काममा निगरानी गर्दैछन् । अबको २–३ दिनमा सम्पूर्ण तयारीले ठोस परिणामको आकार लिने उनको दाबी छ ।

मन्त्रालयमा मुस्किलले भेटिन्छन्– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । अचेल उनको दिनचर्या फेरिएको छ– मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै दशरथ रंगशाला पुग्नु र राति १०–११ बजेसम्म त्यहीँ रहेर प्रत्यक्ष निगरानी गर्नु ।

नेपालमा हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलकुद मेला हो– दक्षिण एसियाली खेलकुद (साग) । सागको १३ औं संस्करण मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुँदै छ । बिडम्बना त्यसका लागि अहिलेसम्म भौतिक पूर्वाधार निर्माण पूरा भएको छैन । प्रतियोगिताको उद्घाटन र समापनसहितको मुख्य खेलस्थल दशरथ रंगशाला नै तयार हुनसकेको छैन । निर्धारित समयमै प्रतियोगिता गर्नुपर्ने बाध्यात्मक अवस्थाबीच पछिल्लो केही सातादेखि रंगशाला बनाउने कामले उल्लेख्य गति लिएको छ । त्यसमा एउटै कारण हो, निर्माणस्थलमा खेलकुद मन्त्रीको ‘धर्ना’ ।

राष्ट्रको प्रतिष्ठासँग जोडिएको १३ औं साग आयोजनाको मिति दुई पटक सरेर मंसिरका लागि तय भएको हो । यसपालि पनि निर्धारित समयमै प्रतियोगिता आयोजनाप्रति ढुक्क नभएपछि युवा तथा खेलकुदमन्त्री विश्वकर्मा आफैं निर्माणस्थलमा खटिएका हुन् । सरकारको बहालवाला मन्त्रीबाटै प्रत्यक्ष निगरानी भएपछि ठेकेदार कम्पनीलाई दबाबमात्र भएको छैन, उसले स्रोतसाधनको आपूर्ति पनि सहज रूपमा पाएको छ । साग आयोजनाका लागि २२ दिनको समय बाँकी छँदा अहिले दशरथ रंगशाला तयार गर्न सय बढी कामदारले दुई सिफ्टमा काम गरिरहेका छन् ।

कात्तिक १४ देखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा नवनिर्मित खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको भवनमा सचिवालय स्थापना गरी मन्त्री विश्वकर्माले साग तयारीलाई नजिकबाट निगरानी सुरु गरेका हुन् ।
मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै परिषद् आउने र राति १०–११ बजेसम्म रंगशालामै रहेर सम्पूर्ण तयारीमा प्रत्यक्ष अनुगमन गर्नु मन्त्रीको दिनचर्या बनेको हो ।

‘मन्त्रिपरिषद बैठक र मन्त्रालयमा अत्यावश्यक बैठकबाहेक अरु समय यहीं हुन्छु । तयारीलाई मसिनो गरी नियालिरहेको छु । आवश्यक ठाउँमा सुझावहरू दिएको छु,’ शुक्रबार अपराह्न निर्मार्णाधीन भीआईपी प्यारापिटबाट कान्तिपुरसँग मन्त्री विश्वकर्माले भने, ‘हामीले घण्टा–घण्टाको हिसाव गरेर काम गर्नुपर्नेछ । त्यसको अपडेट लिने, निर्माण कम्पनीसँग निरन्तर कुराकानीमा रहने गरी काम गरिरहेको छु ।’

एक सातायता मन्त्री विश्वकर्मा आफ्नै घर निर्माणमा खटिएझैं रंगशालावरिपरि देखिन्छन् । उनी कहिले भीआईपी प्यारापिटको छानोलाई तयार पारिएको फलामे पोलको कामको निरीक्षणमा हुन्छन्, कहिले साधारण प्यारापिटतर्फ कुर्ची राख्ने कामको अनुगमन गर्न पुग्छन् । कहिले रंगशालाको उत्तर–पश्चिममा निर्माण भइरहेको हिमाल–पहाड–तराईको पहिचान झल्काउने प्रतिमाका सुझाव दिइरहेको भेटिन्छन् मन्त्री, कहिले सदस्य–सचिव रमेशकुमार सिलवालसँग प्रशासनिक तयारीबारे ब्रिफिङ लिइरहेका हुन्छन् ।

खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेको डेढ वर्षबीचमा मन्त्रिपरिषदको कार्य मूल्यांकनमा अहिलेसम्म सकारात्मक परिणाम नपाएका मन्त्री विश्वकर्माका लागि साग आयोजना आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । पटक–पटक सरेर अन्तर्राष्ट्रिय बेइज्जतको नैतिक जिम्मेवारीबाट जोगिन पनि मन्त्रीको यो सक्रियता देखिएको हो । नत्र भने गत वर्षको फागुनमै मन्त्री विश्वकर्माकै आग्रहमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले यो मितिका लागि आयोजनाको निर्णय गरेको थियो । यसबीचको ९ महिना निस्क्रियप्राय: देखिएका मन्त्री विश्वकर्माको अन्तिम समयको सक्रियता उदेकलाग्दो देखिन्छ ।

‘२०७३ सालमै नेपालले यो प्रतियोगिताको जिम्मा पाएको थियो । त्यसयता जिम्मेवार व्यक्तित्वले आ–आफ्नो जिम्मेवारी सही रूपमा निभाएको भए हामी यस्तो कठिन स्थितिमा आउनुपर्ने थिएन,’ आफ्नो सक्रियताबारे मन्त्री विश्वकर्माले भने, ‘युवा तथा खेलकुद मन्त्रालय, राखेप, ओलम्पिक कमिटी सबै मिलेर १३ औं सागलाई भव्य बनाउन सम्पूर्ण सामर्थ्य लगाएका छौं । राज्यको प्रतिष्ठा र अन्तर्राष्ट्रिय महत्त्वको रूपमा रहेको यो प्रतियोगिता निर्धारित समयमै भव्य आयोजना हुन्छ ।’

आफ्नो मातहतका निकायलाई विश्वास नगरेजस्तो देखिनेगरी मन्त्री आफैं निर्माणस्थलमा खटिनुपर्नाका कारण के हो त ? मन्त्री विश्वकर्माले दुई तर्क अघि सारे । ‘यसअघिका कार्यकारीले आफ्नो जिम्मेवारी वहन गरेको भए गत फागुनमै प्रतियोगिता आयोजना हुन्थ्यो । मेरो कार्यकालमा हामीलाई सबै काम शून्यदेखि सुरु गर्दा समय लाग्यो । अर्को कुरा, धेरैजसो निर्माण सामाग्री विदेशबाट ल्याउनुपर्ने र प्राविधिक कारणले समयमै सामान नआउने, सार्वजनिक खरिद प्रक्रियालगायतका सरकारी झमेला र नेपाली निर्माण कम्पनीको आफ्नै सीमित दायराले पनि समय खाइदियो,’ मन्त्रीले थपे, ‘अन्तिम समयमा जसरी पनि काम सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था र निर्माण कम्पनी कामदारको हौसलाका लागि निर्माणस्थलमै प्रत्यक्ष निगरानीमा बसेको हुँ ।’

आफ्नो प्रत्यक्ष निगरानीयता पूर्वाधार निर्माण र प्रशासनिक काममा सबैले देख्ने गरी परिणाम आउन थालेको मन्त्रीको विश्लेषण छ । पूर्वाधार निर्माणमा ठेकेदार कम्पनीलाई दबाब बढेको छ । यसबीचमा आउने समस्याको समाधान मन्त्री आफैंले गरिदिएका छन् । कार्यस्थलमा सर्वोच्च व्यक्तिकै उपस्थितिले प्रशासनिकतर्फ विषयगत समितिलाई काम गर्ने ऊर्जा मिलेको छ । ‘हामीले यहाँ प्रत्यक्ष निगरानी सुरु गरेयता कार्यप्रगति धेरै नै बढेको छ । निर्माणका क्रममा आउने स–साना समस्याको समाधानका लागि चुस्त समन्वय भएको छ । व्यवस्थापनतर्फ सबै समितिले आ–आफ्नो जिम्मेवारीप्रति तीव्र पारेका छन्,’ मन्त्रीले भने, ‘हिजो–अस्तिसम्म हामीले परिणाम देखेका थिएनौं भने आज–भोलिमा त्यसको प्रतिफल देख्न थालेका छौं । अबको २–३ दिनमा सम्पूर्ण तयारीले ठोस परिणामको आकार लिनेछ ।’

मन्त्री विश्वकर्माले निर्धारित समयमै साग आयोजना हुने कुरामा शंका नगर्न सबैमा अनुरोध गरे । ‘अन्तिम समयमा आइपुग्दासमेत हामीमा प्रतियोगिता हुनेमा शंका यथावत थियो तर अहिले बाँकी पूर्वाधार निर्माणको दैनिक कार्यप्रगति हेर्दा म कसैलाई पनि आयोजनाप्रति शंका नगर्न अनुरोध गर्छु । बरु प्रतियोगिता भव्य बनाउन सबैको सहयोग अपेक्षा गर्छु,’ उनले थपे, ‘मैले अन्तर्राष्ट्रिय पाहुनाहरूलाई मंसिर १५ गतेको उद्घाटन समारोहमा उपस्थ्िितका लागि पत्राचार पनि गरिसकेको छु ।’

पूर्वाधार निर्माणतर्फ साग आयोजनाको मुख्य चुनौती दशरथ रंगशाला, पोखरा रंगशाला र सातदोबाटोस्थित वातानुकूलित पौडी पोखरी नै हो । दशरथ रंगशालाको अन्य काम लगभग सम्पन्न भए पनि भीआईपी प्यारापिटको छानो राख्ने काम बिहीबारमात्रै सुरु भएको छ । मन्त्री विश्वकर्माले मंसिरको पहिलो सातासम्म तीनवटै पूर्वाधार तयार भइसक्ने दाबी गरेका छन् ।

रंगशालाको भीआईपी प्यारापिट निर्माणका लागि चिनियाँ र नेपाली कम्पनीले संयुक्त जिम्मेवारीसाथ काम गरिरहेका छन् । सीएमई–एचटीसी जेभीले ठेक्का पाएको कामअनुसार भीआईपी प्यरापिटको छानोका लागि फलामे बिम ठड्याउने काम बिहीबार सुरु भएको छ । १९ वटा पिलर र त्यसलाई फलामे बिममार्फत एकअर्कामा सेट गरिनेछ । त्यसपछि मात्रै अत्याधुनिक प्रविधिको फ्याब्रिक जडान गर्ने काम हुनेछ । फ्याब्रिक अहिलेसम्म चीनमै छ । चाइना साउदर्न एयरलाइन्सको कार्गो विमानबाट बुधबार फ्याब्रिक नेपाल ल्याइने मन्त्री विश्वकर्माले जानकारी दिए ।


‘साग सार्नेबारे सोच्न सकिन्न’
उद्घाटन र समापनस्थल दशरथ रंगशाला, अर्को मुख्य खेलस्थल पोखरा रंगशाला र वातानुकूलित पौडी पोखरी निर्माण सम्पन्न नहुनुका बीच नेपालले २२ दिनपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्दै छ । पूर्वाधार र प्रशासनिक तयारीको अपडेटसहित मंसिर १५ देखि २४ सम्म हुने प्रतियोगिताको आयोजना निश्चित गर्न शनिबारदेखि काठमाडौंमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक बस्दैछ । बैठकका लागि सार्कका सबै देशका ओलम्पिक कमिटीका प्रतिनिधिको आगमन भइसकेको छ । आइतबार सहभागी सबै देशका ‘सेभ द मिसन’ को सेमिनार पनि हुनेछ ।

दक्षिण एसियाली ओलम्पिक कमिटीको अध्यक्षता गरिरहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बस्ने बैठकले प्रतियोगिताको आयोजना निश्चित हुने जानकारी दिए । ‘भोलिको बैठकमा हाम्रो खास एजेन्डा छैन, अहिलेसम्मको तयारीको अपडेट हुनेछ र सहभागी सदस्यहरूले खेलस्थलको अनुगमन गर्नेछन्,’ संघीय सांसदसमेत रहेका अध्यक्ष श्रेष्ठले भने ।

सेभ र मिसनको सेमिनारका लागि नेपालबाट ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र राखेपबाट राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले प्रतिनिधित्व गर्नेछन् । शनिबार, आइतबार र सोमबार सेभ द मिसनका प्रतिनिधिलाई काठमाडौं र पोखराका खेलस्थल पनि निरीक्षण गराउने कार्यतालिका छ ।

पूर्वाधार तयारीमा भइरहेको अन्योलबीच दक्षिण एसियाली ओलम्पिक काउन्सिल कार्यकारी समितिको बैठकमा प्रतियोगिताको मिति परिवर्तन गर्नेबारे छलफल हुने सम्भावनालाई अध्यक्ष श्रेष्ठले ठाडै इन्कार गरे । ‘हामीले प्रतियोगिता नेपालमै आयोजना गर्न पटक–पटक सम्झौता गरिसकेका छौं । दुईपल्ट मिति सरिसकेको छ । पछिल्लो मितिका लागि अन्तर्राष्ट्रिय पाहुनालाई निमन्त्रणा पनि पठाइसकिएको छ । मंसिर १५ गतेको मितिमा साग उद्घाटन हुन सकेन भने नेपालमा साग हुँदैन,’ उनले थपे, ‘२०२० मा ओलम्पिक वर्ष पर्ने तथा धेरै खेलकुद गतिविधि भएका कारणले डिसेम्बरभित्रमा जसरी पनि साग आयोजना गर्नैपर्छ, सागमा सहभागी धेरैजसो देशको आर्थिक वर्ष जनवरीबाट सुरु भएर डिसेम्बरमा सकिन्छ । डिसेम्बरमा खेल आयोजना भएन भने अर्को मितिका लागि आर्थिक व्यवस्था मिलाउन सम्बन्धित देशलाई समस्या हुन्छ । त्यसैले भोलिको बैठकमा साग सार्नेबारेको छलफल सोच्न पनि सकिन्न ।’

अध्यक्ष श्रेष्ठले पूर्वाधार निर्माणको जिम्मेवारी सरकारको भएकाले निर्धारित समयमै सबै पूर्वाधार सम्पन्न भइसक्ने विश्वास व्यक्त गरे । ‘पछिल्ला प्रतियोगिताहरूमा भन्दा हामी केही पछि परेका छौं तर सम्भावना सकिएको होइन । चुनौतीका रूपमा रहेको वातानुकूलित पौडी पोखरी र दशरथ रंगशालाको निर्माण छिट्टै सम्पन्न हुने रिपोर्ट पाएका छौं, हामी सकारात्मक छौं,’ उनले थपे ।

सेभ र मिसनको टिमले पूर्वाधारमा चित्त बुझाएन भने के गर्ने त ? अध्यक्ष श्रेष्ठले भने, ‘आयोजक कमिटीबाट उनीहरूलाई विश्वस्त पार्ने गरी जवाफ दिन सक्नुपर्छ । सबै देशबाट टेक्निकल कमिटीका पनि प्रतिनिधि आउँछन् र हरेक खेलस्थलको निरीक्षण गर्छन् । सबै उपयुक्त भएपछि नै खेल हुने हो । अहिलेसम्म सम्झौता गरेरै यहाँसम्म आएका हौं र अन्तिमसम्म प्रतियोगितामा पनि सबै सदस्य राष्ट्रले सम्भव भएसम्म सम्झौता गर्नेछन् ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पनि निर्धारित मितिमै साग आयोजना निश्चित भइसकेको दाबी गरेका छन् । उनका अनुसार सबै तयारीले अन्तिम रूप लिएको छ र मिति सार्ने सम्भावना नै रहँदैन ।

प्रकाशित : कार्तिक २३, २०७६ ०७:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आकार लिँदै हिटिङ पुल

‘सागको पौडी सञ्चालनका लागि वैकल्पिक स्थान छैन । जसरी पनि सातदोबाटोकै इन्डोर पुल बन्नुपर्छ । अरु विकल्प हामीसँग छैन ।’
राजु घिसिङ

काठमाडौँ — भवनमा प्रवेश गरेलगत्तै ‘चेन्जिङ रूम’ मा पुगिन्छ । जुन कामदारहरूको बस्ने कोठा र खाना पकाउने किचनको रूपमा प्रयोग भइरहेको छ । ती कोठाहरूसँगै रहेका बाथरुमको ‘फिनिसिङ’ भने भएको छैन । कोठातिर उक्लिने भर्‍याङ पनि ‘रफ’ नै देखिन्छ । भर्‍याङ उक्लिएलगत्तै अगाडि हेर्दा ठूलो खाडल सामुन्ने छ, जहाँ चार जना महिलाले धूलो बढार्ने र टिप्ने काम गरिरहेका छन् । छानो हाल्नका लागि तयार भएको ‘ट्रस्ट’ रंगाउने काममा एक दर्जन खटिरहेका छन् । निर्माण गरिएका भित्तामा छिटपुट देखिएका टुटफुटमा एक जनाले सिमेन्ट भर्दैछन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडीपरिसरमा निर्माणाधीन इन्डोर स्विमिङ पुल (हिटिङ सिस्टमवाला) मा शुक्रबार दिउँसोको देखिएको दृश्य हो यो । यससँगै सीमा जोडिएको छ, सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का लागि बनाइएको ५० मिटर लम्बाइको खुला स्विमिङ पुलको । २० वर्षअघिको उक्त पुलमा जाडोका कारण पौडी खेल्नेहरू देखिँदैनन् । तर, पौडिनेका लागि तयार उक्त पुलले छिमेकी बन्न आइपुगेको हिटिङ सिस्टमको स्विमिङ पुललाई जिस्क्याइरहे जस्तो लाग्छ । अहिले झट्टै हेर्दा पत्याउन गाह्रो पर्छ । तर, सत्य यो हो कि मंसिर १५ देखि नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीको प्रतियोगितास्थल यही हिटिङ सिस्टमवाला स्विमिङ पुल हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग २०७४ सालमा भएको सम्झौताअनुसार ठेक्का पाएको किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीले १८ महिनाभित्र हिटिङ सिस्टमको स्विमिङ पुल बनाइसक्नुपर्थ्यो । त्यो अवधिको सीमा भनेको चैतमसान्त थियो । तर, समय गुज्रँदै जाँदा पुलको भौतिक पूर्वाधारका काम सम्बन्धित विभागका मन्त्री र सदस्य–सचिवको भाषणमा मात्रै बनिरहेको थियो । सातदोबाटोको अवस्था भने सम्झौता र दुई–चार मजदुरको ठाकठुकमै सीमित थियो । ठेकेदार कम्पनीले दिएको अर्को समय (कात्तिक १५) पनि सकियो तर स्विमिङ पुल तयार भएन । ५ फिट गहिरो पुलको लागि अर्को समयसीमा तोकिएको छ, कात्तिकमसान्त ।

२० करोड रुपैयाँ बढीको योजनाबारे नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न वज्राचार्यले शुक्रबार भने, ‘ट्रस्टको काम सकियो । टायल राख्न सुरु भयो । आजदेखि पूर्ण रूप (फुल फेज) मा काम सुरु भयो । अबचाहिँ काम भ्याइन्छ होला । बल्ल सागलाई स्विमिङ पुल सकिएला जस्तो देखियो ।’ उनले थपे, ‘पहिला जति कराउँदा पनि काम गर्ने मान्छे नै कम थियो । काम गर्ने जनशक्ति थपिएका छन् ।’ ठेकेदार कम्पनी र इन्जिनियरले ७०–८० जना मजदुरले बिहान ७ देखि राति ११ बजेसम्म काम गरिरहेको बताइए पनि अझै त्यति जनशक्ति कार्यस्थलमा देखिएन ।

खेलाडीले मंसिर १ देखि प्रशिक्षण गर्न पाउनेगरी ठेकेदार कम्पनीले स्विमिङ पुल हस्तान्तरण गर्ने वाचा गरेको पनि अध्यक्ष वज्राचार्यले सुनाए । त्यसप्रति उनी आशावादी छन् । निर्माणका लागि आवश्यक सबै सामग्री आइसकेको पनि उनले बताए । कम्पनीले पनि सबै कार्यको फिनिसिङ (अन्तिम चरण) को काममात्रै बाँकी रहेको जनाएको छ । यो १० लेनको स्विमिङ पुल २५ गुणा २५ मिटरको हो, जसलाई अन्तर्राष्ट्रिय पौडीमा ‘शर्ट कोर्स’ भनिन्छ ।

नेपालले दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता तेस्रोपल्ट आयोजना गर्न लागेको हो । सन् १९८४ मा भएको पहिलो संस्करणमा पौडी त्रिपुरेश्वरमै खेलाइएको थियो । ६ लेनको यो स्विमिङ पुल चार वर्षअघिको महाभूकम्पले क्षतिग्रस्त बनेको छ । आठौं साफ गेम्सका लागि सातदोबाटोमा अन्तर्राष्ट्रिय पौडी परिसर तयार गरिएको थियो । चिसो मौसमको कारण १३ औं सागलाई हिटिङ सिस्टिमको पुल आवश्यक परेको हो, जसको निर्माणलाई प्रतियोगिता नजिकिँदै गर्दा तीव्र पारिएको छ ।

अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) को नियमानुसार हिटिङ सिस्टमको स्विमिङ पुलको तापक्रम प्रतियोगिताका बेला २६ देखि २८ डिग्री सेल्सियस हुनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डको यस्तो किसिमको पहिलो पुलको रूपमा सातोबाटोमा निर्माण भइरहेको हो । १३ औं सागमा पौडीको प्रतिस्पर्धा मंसिर १९ देखि २३ सम्म तोकिएको छ । नेपाली खेलाडीले लिंकन स्कुल, रविभवनमा एक सातायता प्रशिक्षण गरिरहेका छन् । तर, सागको पौडी प्रतिस्पर्धा सञ्चालनका लागि वैकल्पिक स्थान नभएको उल्लेख गर्दै पौडी अध्यक्ष वज्राचार्यले भने, ‘सातदोबाटोकै इन्डोर पुल बन्नुपर्छ । यसको विकल्प हामीसँग छैन ।’

प्रकाशित : कार्तिक २३, २०७६ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT