कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रथम श्रेणीको क्रिकेट : एमसीसीको बलियो ब्याटिङ

विनोद पाण्डे

काठमाडौँ — दशकपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको नेपालले पहिलो दिनको खेललाई भने त्यसअनुरुप स्मरणीय बनाऊन सकेन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा बुधबार तीनदिवसीय खेलमा ब्रिटिस टोलीले ब्याटिङबाट नेपालमाथि धावा बोलेको छ ।

प्रथम श्रेणीको क्रिकेट : एमसीसीको बलियो ब्याटिङ


नेपालले टस जितेपछि ब्याटिङमा आएको एमसीसीले ८६ ओभरमा ६ विकेट गुमाई ३ सय ११ रन बनाएको छ । खराब प्रकाशका कारण १० ओभरअगाडि नै पहिलो दिनको खेल रोकिन पुगेको थियो । पाकिस्तानका पूर्व टेस्ट खेलाडी यासिर अराफत ३५ रन बनाएर खेलिरहेका छन् । उनलाई एलेक्स थोम्सनले २२ रन बनाई साथ दिइरहेका छन् । यी दुईले सातौं विकेटमा अविजित ४७ रनको साझेदारी गरिरहेका छन् ।


विल रोड्सले ७३, माइल्स हमोन्डले ५२ र विलियम्स भानडेरस्परले ५३ रन बनाएपछि एमसीसीले पहिलो दिनको खेलमा प्रभाव जमाएको हो । कप्तान ज्ञानेन्द्र मल्लले बिहीबार नेपालले पुनरागमन गर्नसक्ने विश्वास लिएका छन् । ‘भोलिको सत्रमा उनीहरूलाई चाँडोभन्दा चाँडो आउट गर्ने हाम्रो रणनीति रहन्छ,’ ज्ञानेन्द्रले भने, ‘बल पनि नयाँ नै छ, बिहानी सत्रमा उनीहरूलाई ३ सय ५० रनको लक्ष्य भित्र आउट गर्न सक्यो भने एकदम राम्रो हुन्छ । त्यसपछि हामीले ब्याटिङ पनि राम्रो गर्नुपर्छ ।’


बिली गोडलम्यानलाई सोमपाल कामीले १० रनमा आउट गरे पनि रोड्सले टिम वेस्ट्लीसँग दोस्रो विकेटमा ९५ रनको साझेदारी गरे । योर्कसायरका रोड्सको स्टम्स सोमपालले उडाइदिए । आउट हुनुअघि रोड्सले १ सय १० बल खेली १२ चौका प्रहार गरे । क्रिजमा टिकेर खेलेका वेस्ट्लीले १ सय २ बल खेल्दै ५ चौकासहित ३९ रन बनाए ।


हमोन्ड र भानडेरस्परले चौथो विकेटमा ५१ रनको साझेदारी गरे । सातौ बलरका रूपमा आएका अफ स्पिनर शरद भेषावकरले हमोन्डलाई बोल्ड गरी साझेदारी तोडे । वेस्ट्लीलाई पनि शरदले नै एलबीडब्लू आउट गरेका थिए । हमोन्डले ५८ बल खेली ८ चौका र १ छक्का प्रहार गरे ।


लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो सत्रमा आएर मात्र विकेट पाए । उनको बलमा ज्ञानेन्द्रले पहिलो स्लिपमा चुस्त क्याच लिएपछि इड योङ १७ रनमा पेभेलियन फर्के । भानडेरस्परको विकेट पनि सन्दीपले नै लिए । भानडेरस्परले ९६ बल खेली ८ चौका प्रहार गरे । आठ बलर प्रयोग गरेको नेपालबाट सोमपाल, शरद र सन्दीपले २–२ विकेट लिए ।


'हामी सिक्दैछौं'

प्लेइङ ११ मा परेका ९ नेपाली खेलाडीले प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरे । नेपालले २००४–०५ मा खेलेको सबै चार प्रथम श्रेणीको क्रिकेट शरदले खेलेका थिए । सोमफाल कामीले श्रीलंकामा क्लब क्रिकेट खेल्नेत्रममा सन् २०१५ को डिसेम्बर र २०१६ को जनवरीमा सारासेन्स स्पोर्ट्स क्लबबाट दुई प्रथम श्रेणीको क्रिकेट खेलेका थिए । सोमपालसहित अन्य ९ जनाले नेपालबाट प्रथम श्रेणीमा ‘डेब्यु’ गरेका हुन् ।


नेपालले यसै खेलबाट १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो । त्यसमा आफूहरूले मिश्रितखाले अनुभव बटुलेको कप्तान ज्ञानेन्द्र बताउँछन् । राष्ट्रिय टोलीबाट खेल्न लागेको १४ वर्षपछि ज्ञानेन्द्र पनि आफ्नो पहिलो फ्रथम श्रेणीको क्रिकेट खेल्दै थिए ।


‘खेलाडीहरूले राम्रै गरेका हुन् । बहुदिवसीय त्रिकेटका लागि हामी अझै अनुभवहीन छौं, सिकिरहेका छौं । पहिलो दिनको खेलमा यो स्कोरलाई राम्रै मान्नुपर्छ । ओपन फिल्ड भएकाले बाउन्ड्रीहरू पनि त्यत्तिकै आउने सम्भावना हुन्छ । यही कुरालाई हामीले निरन्तर दबाबमा राख्न सकेनौं, रन त्यही भएर अलिकति बढी गएको हो,’ ज्ञानेन्द्रले तीनदिवसीय खेललाई लिएर भने, ‘यसलाई हामीले अनुभवका रूपमा लिनुपर्छ । हाम्रो युवा खेलाडीलाई यस्तो लामो खाले क्रिकेटको अनुभव नै छैन, त्यस हिसाबमा यतिसम्मको स्कोर ठीकै हो ।’


निवर्तमान कप्तान पारस खड्का, भेट्रान बलर वसन्त रेग्मीबिना खेलेकाले नेपाली टोली त्यसै पनि नौलो देखिएको थियो । त्यो मैदानमै देखिएको थियो । २ घण्टाको पहिलो सत्रमा नेपालले २८ ओभरमात्र फाल्न सकेको थियो । भोजनअगाडि प्रतिघण्टा १६ को औसतमा ३२ ओभर फाल्नुपर्ने थियो । तर तीव्र गतिका बलर सोमपाल कामी र करण केसी तथा मध्यम गतिका आरिफ शेखलाई नियमित बलिङ गर्न लगाउँदा नेपालले भोजनअगाडि नै ४ ओभर कम बलिङ गर्न पुगेको थियो । तीनदिवसीय क्रिकेटमा धेरैको पहिलो अनुभव रहेकाले खेलाडीहरू अलिक कन्फ्युज जस्तो देखिएको कप्तान ज्ञानेन्द्र स्वीकार्छन् ।


उनले भने, ‘३० यार्डको बाउन्ड्रीलाइन नहुने भएकाले कता बस्ने हो भनेर फिल्डरमात्र नभएर बलर पनि अन्योल देखिएका थिए । कहिले यसरी फिल्ड सजाइएको थिएन । फिल्डरहरू यता उता गर्नुपर्दा अप्ठेरो मानिरहे जस्तो देखिन्थे । पछि पछि उनीहरूले बल्ल बुझ्न लागे ।’


तीन वर्षपछि क्यानको लोगो

नेपाली क्रिकेट टोली ३ वर्षपछि क्यानको लोगो लगाएर मैदानमा उत्रिएको थियो । नेफाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय त्रिकेट परिषद् (आईसीसी) ले २०७३ को वैशाखमा निलम्बन गरेको थियो । तर विश्व क्रिकेटको सर्वोच्च निकायले नेफाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय त्रिकेटमा भने खेल्न दिइरहेको थियो ।


नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहे पनि निलम्बनका कारण क्यानको लोगो लगाएर खेलेको थिएन । यो अवधिमा राष्ट्रिय क्रिकेट टोलीले नेपालको झन्डामात्र लगाएर खेलिरहेको थियो । एमसीसीसँगको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल क्यानको लोगो समावेश सेतो सर्ट लगाएर टसका लागि गएका थिए । उनीसँगै नेपाली टोली सोही किसिमको पोसाक लगाएर मैदानमा उत्रिएका थिए ।


प्रकाशित : कार्तिक २१, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?