बायर्न र युभेन्ट्स अन्तिम १६ मा

(एजेन्सी)

पेरिस — बायर्न म्युनिख र युभेन्ट्सले बुधबार राति युरोपेली च्याम्पिन्स लिगको अन्तिम १६ को यात्रा तय गरेका छन् । रोबर्टो लेवनडोस्कीले गोल गर्ने आफ्नो लय कायम राखेपछि बायर्नले ओलम्पियाकोजलाई समूह बी २–० ले हरायो ।


यसै समूहको अर्को खेलमा टोटनहमले एफके क्रभेनालाई ४–० ले पराजित गर्‍यो । समूह डी मा डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गरेपछि युभेन्ट्सले लोकोमोटिभ मस्कोलाई २–१ ले पन्छायो ।

यसै समूहमा बायर लेभरकुजनले एटलेटिको म्याड्रिडमाथि २–१ को जित रच्यो । समूह ए मा पीएसजीले क्लब ब्रगलाई १–० र रियल म्याड्रिडले गालाटासारेलाई ६–० ले हरायो ।

समूह सी मा भने एटलान्टा र म्यानचेस्टर सिटीले १–१ तथा डायनामो जागरेभ र साख्तर डोनेस्कले ३–३ को बराबरी खेले ।

प्रकाशित : कार्तिक २१, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

आतंकवादबारे अमेरिकी रिपोर्ट : 'भारतीय माओवादी विश्वकै छैटौं खतरनाक'

(एजेन्सी)

नयाँदिल्ली — अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको एक रिपोर्टमा भारतीय माओवादीलाई विश्वकै छैटौं सबैभन्दा खतरनाक आतंकवादी संगठनका रूपमा सूचीकृत गरेको छ । रिपोर्टमा भारत आतंकवादी समूहबाट सबैभन्दा प्रभावित मुलुकमध्ये चौथो स्थानमा रहेको पनि उल्लेख छ ।

जम्मु–कश्मीरमा पछिल्लो वर्ष ५७ प्रतिशत आतंककारी आक्रमण भएको भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ ले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले अघिल्लो साता जारी गरेको रिपोर्टमा भनिएको छ, ‘सन् २०१८ मा कम्युनिस्ट पार्टी अफ इन्डिया–माओवादी (सीपीआई–माओवादी) ले ३११ जनाको ज्यान जाने गरी १ सय ७७ वटा हिंसात्मक आक्रमण गरेका थिए । ’

तर, भारतीय गृह मन्त्रालय तथ्यांक अमेरिकी रिपोर्टभन्दा फरक छ । गृह मन्त्रालयका अनुसार ऊक्त समूहले ८ सय ३३ वटा हिंसात्मक आत्रमण गर्दा गत वर्ष २ सय ४० जना मारिएका थिए । अमेरिकी रिपोर्टमा भारतीय माओवादीलाई तालिवान (अफगानिस्तान), इस्लामिक स्टेट (आईएस), अल सबाब (अफ्रिका), बोको हराम (अफ्रिका) र कम्युनिस्ट पार्टी अफ फिलिपिन्सपछि छैटौं सबैभन्दा खतरनाक आतंकवादी संगठनको सूचीमा रहेको उल्लेख छ ।

विश्वव्यापी रूपमा सबैभन्दा बढी आतंकवादी आक्रमणबाट प्रभावित मुलुकहरूमा अफगानिस्तान, सिरिया र इराकपछि भारतलाई सूचीकृत गरेको छ । भारतले आतंकवादलाई प्रतिकार गर्न नसक्नुको प्रमुख कारणहरूमा ‘गुप्तचर संस्थाको कमजोरी र राज्य तथा केन्द्रीय कानुन कार्यान्वयनमा ल्याउने निकायहरूबाट सूचनाहरूको गलत सम्प्रेषण’ रहेको जनाइएको छ ।

‘सीपीआई–माओवादी (नक्सलवादी नामले समेत चिनिने) ले भारतमा सन् २०१८ मा १७६ (कूल आक्रमणको २६ प्रतिशत), जैस–ए–मोहम्मद (जेईएम) ले ६० (कूल आक्रमणको ९ प्रतिशत) आतंकवादी घटना गराएको थियो । हिजबुल मुजाहिद्दिनले ५९ (कूल आक्रमणको ९ प्रतिशत) र लस्कर–ए–तैइबा (एलईटी) ले ५५ (कूल आक्रमणको ८ प्रतिशत) घटना गराएका थिए,’ रिपोर्टमा छ, ‘अन्य समूहहरूमा युनाइटेट लिबरेसन फ्रन्ट अफ असाम, नेसनल सोसलिस्ट काउन्सिल अफ नागाल्यान्ड (मुईवाह समूह) र आईएसआईएस–जम्मु–कश्मीर पनि भारतमा सक्रिय रहेका छन् ।’ रिपोर्टमा पाकिस्तानमा प्रधान कार्यालय रहेको एलईटीलाई सन् २००८ को मुम्बई आक्रमणको प्रमुख दोषी र जेईएमले भारतीय र अफगान लक्षित आक्रमणको क्षमता विस्तार गरेको उल्लेख छ ।

अमेरिकी विदेश विभागको रिपोर्टमा एउटा चाखलाग्दो कुरो त के छ भने, भारतमा ३७ प्रतिशत आतंकवादी आक्रमणका घटनाहरूका लागि कुनै खास समूहलाई जिम्मेवादी ठहराएको छैन । विदेश विभागले आतंकवादी घटनाहरू, प्रवृत्ति र सरकारी नीतिहरूको तथ्यांकका आधारमा रिपोर्ट तयारी गरी बर्सेनि सार्वजनिक गर्ने गर्छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयका अधिकारीहरूले माओवादी हिंसामा मारिएकाहरूको तथ्यांक भारतभन्दा अमेरिकाको किन बढी भएको बारे केही बोलेको छैन । तर एक अधिकारीले आफ्नो नाम नछाप्ने सर्तमा भनेका छन्, ‘अमेरिका..., डेटा लगभग हाम्रोजस्तै प्रवृत्तिलाई दर्साएको छ । भारत सरकारले पछिल्लो केही वर्षहरूमा आतंकवादविरुद्ध लडाइँका क्रममा धेरै कदम चालेको छ ।’ एक अर्का अधिकारीले भनेका छन्, ‘विगत पाँच/छ वर्षयता राज्यहरू तथा केन्द्रीय नियोगहरूबीच राम्रो समन्वयन छ ।’

तर अमेरिकी रिपोर्टमा यी अधिकारीको भनाइले मेल खाँदैन । भारतीय मामिलाका जानकारहरूका अनुसार यदि यसो हुँदो हो त सयभन्दा बढी आक्रमण हुने थिएनन् ।

अमेरिकी विदेश विभागले आफ्नो रिपोर्टमा भनेको छ, ‘सन् २०१८ मा सबै २९ भारतीय राज्यहरू आतंकवादबाट प्रभावित रह्यो र पछिल्लो वर्ष ६ सय ७१ आक्रमणमा ९ सय ७१ जना मारिए । यसमा सन् २०१८ मा १ सय ११ घटनाहरू (१६ प्रतिशत) सहित जम्मु–कश्मीरपछि छत्तिसगढको सबैभन्दा खराब अवस्था देखिएको छ ।

त्यसपछि मणिपुर २२ (३ प्रतिशत) का साथ दोस्रो स्थानमा रह्यो । जम्मु–कश्मीरमा सन् २०१८ मा भारतमा ३ सय ८६ आतंकवादी घटना भएका थिए ।’ रिपोर्टमा अनुसार आतंकवादविरोधी एकाई राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) को तीव्र प्रतिक्रिया दिने क्षमता भए पनि सानो आकारका कारण अपेक्षा गरेअनुसारको प्रतिफल दिन नसकेको
औंल्याएको छ ।

प्रकाशित : कार्तिक २१, २०७६ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×