साग तयारी : अधिकांश टिम वैदेशिक प्रशिक्षणमा

कुशल तिमल्सिना

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमा आयोजना हुने संशय बाँकी नै रहेको अवस्थामा सागमा समावेश २७ खेलका नेपाली टिमको तयारी भने तीव्रताका साथ चलिरहेको छ । 

साग तयारी : अधिकांश टिम वैदेशिक प्रशिक्षणमा

असार दोस्रो सातादेखि बन्द प्रशिक्षण सुरु भएकोमा केही विभिन्न चरणका छनोटहरू सम्पन्न भएका छन् । १४ खेलको अन्तिम टिम छनोट भइसकेको छ भने १३ खेल संघ अन्तिम छनोटको तयारीमा छन् ।


मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद आयोजना हुनेछ । सागका लागि नेपालबाट २७ खेलका ६ सय ४४ खेलाडीले सहभागिता जनाउँदै छन् । अहिलेसम्म १४ खेलका २ सय ९९ जना खेलाडी अन्तिम छनोट पार गरी प्रतियोगिताको तयारीमा छन् । बाँकी १३ खेलको अन्तिम छनोट पनि कात्तिक २५ गतेसम्म सम्पन्न भइसक्ने राष्ट्रिय टिम तयारी समितिले जानकारी दिएको छ ।


राष्ट्रिय खेलकुद परिषद्ले सागका लागि खेलाडीहरूलाई वैदेशिक प्रशिक्षण उपलब्ध गराएको थियो । परिषद्ले अन्तर्राष्ट्रिय प्रशिक्षण तथा प्रतियोगितामा सहभागी गराएर खेलाडीको एक्स्पोजर वृद्धिको रणनीति लिएको थियो ।

१६ खेलको राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षणका लागि वैदेशिक भ्रमणमा छन् । कुस्ती, खो–खो, कवड्डी, पुरुष ह्यान्डबल, पुरुष भलिबल, पौडी र स्क्वासले भारतमा वैदेशिक प्रशिक्षणको व्यवस्था गरेका छन् ।


त्यसमध्ये पौडी टिम बैंग्लोरमा भएको प्रतियोगिता खेलेर फर्किएको छ भने कुस्ती र पुरुष भलिबल सागको अन्तिम तयारीका लागि भारत जाने क्रममा छन् । फेन्सिङ, ह्यान्डबल (महिला टिम), महिला भलिबल, गल्फ र बक्सिङ टिमले थाइल्यान्डका प्रशिक्षण गरेका छन् । यीमध्ये बक्सिङ र गल्फ टिम प्रशिक्षण सकेर नेपाल फर्किसकेको छ । आर्चरी टिम जापान र बंगलादेशमा प्रशिक्षण सकेर फर्किसकेको छ । जुडो टिम अन्तर्राष्ट्रिय क्याम्पका लागि मंगोलिया र जापान जाँदै छ । भारोत्तोलन संघले राष्ट्रिय टिमलाई उत्तर कोरिया र उज्वेकिस्तानमा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्था गरेको छ ।


सागमा सहभागी हुने यू–२३ पुरुष फुटबल टिमले हालै कतारमा म्यानमार यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने टिम बेल्जियममा प्रशिक्षण तथा मैत्रीपूर्ण फुटबलका लागि जाने तयारीमा छ । बीच भलिबल टोली आइतबार मात्र श्रीलंका प्रस्थान गरेको छ । गत महिना किर्गिस्तानमा आयोजित नादेज्दा कपमा नेपालको सहभागिता सागकै तयारीको अंश रहेको राष्ट्रिय टिम तयारी समितिले जानकारी गराएको छ ।


पदकको अधिक सम्भावना बोकेको तेक्वान्दो टोली इन्डोनेसियामा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी भएर अहिले मलेसिया र चीनमा प्रशिक्षणरत छ । पुम्से टिम मलेसियामा र गेरोगीतर्फ १८ जना खेलाडी चीनमा प्रशिक्षणरत छन् । बाँकी ७ खेलाडी लिएर मुख्य प्रशिक्षक नवीन श्रेष्ठ पनि यसै साता चीन जानेछन् ।


विश्व मिलिटरी खेलकुदमा सहभागिता जनाएका त्रिभुवन आर्मी क्लबका काजल श्रेष्ठ, सक्षम कार्की, ज्ञानेन्द्र हमाल र युनिशा राई अहिले काठमाडौंमै प्रशिक्षणरत छन् । त्यसबाहेक ओलम्पिक कोर्ष सकेर फर्किएका भुपेन श्रेष्ठ तथा डेंगु संक्रमणका कारण नेपालमै आराम गरेका गोविन्द आलेमगर र किरण आलेमगर चीन जाने तयारीमा छन् ।


पदकको सम्भावना भएका प्याराग्लाइडिङ, एथ्लेटिक्स, ट्रायथोलनसहित महिला फुटबल, बास्केटबल, सुटिङ, क्रिकेट (पुरुष र महिला), टेनिस, ब्याडमिन्टन, उसुलगायतका खेलको तयारी नेपालमै भइरहेको छ । तीमध्ये अधिकांशले विदेशी प्रशिक्षक अनुबन्ध गरेर साग तयारीलाई तीव्रता दिएका छन् ।


अन्तिम छनोट भएका खेलहरू : फेन्सिङ (पुरुष १२, महिला १२), टेबलटेनिस (पुरुष ५, महिला ५), कुस्ती (पुरुष ७, महिला ७), स्क्वास (पुरुष ४, महिला ४), जुडो (पुरुष ९, महिला ९), सुटिङ (पुरुष १२, महिला १०), उसु (पुरुष १२, महिला १०), बीच भलिबल (पुरुष ४, महिला ४), टेनिस (पुरुष ६, महिला ६), आर्चरी (पुरुष ८, महिला ८), बक्सिङ (पुरुष १०, महिला ६), कराँते (पुरुष १५, महिला १४), ब्याडमिन्टन (पुरुष १०, महिला १०), भलिबल (पुरुष १४), ह्यान्डबल (पुरुष १६, महिला १६) र तेक्वान्दो (पुरुष १७, महिला १७)


अन्तिम छनोट बाँकी खेलहरू : बास्केटबल, एथ्लेटिक्स, साइक्लिङ, गल्फ, फुटबल, कवड्डी, खो–खो, प्याराग्लाइडिङ, ट्रायथोलन, महिला भलिबल, भारोत्तोलन, क्रिकेट र कुस्ती ।



सागमा समावेश खेल र खेलस्थल

आर्चरी : पोखरा रंगशाला (१७–२१ मंसिर)

एथ्लेटिक्स : दशरथ रंगशाला (१६–१९ मंसिर)

ब्याडमिन्टन : पोखरा रंगशाला कभर्डहल (१०–१६ मंसिर)

बास्केटबल : राखेप कभर्डहल (१८–२३ मंसिर)

थ्री बाई थ्री बास्केटबल : राखेप सेमी कभर्डहल (१८–२३ मंसिर)

बक्सिङ : कराँते कभर्डहल (१९–२३ मंसिर)

साइक्लिङ : गोकर्ण, काठमाडौं (१९–२३ मंसिर)

पुरुष क्रिकेट : त्रिवि मैदान (१६–२३ मंसिर)

महिला क्रिकेट : पोखरा रंगशाला (१६–२३ मंसिर)

फेन्सिङ : कीर्तिपुर (२०–२३ मंसिर)

पुरुष फुटबल : दशरथ रंगशाला (१२–२३ मंसिर)

महिला फुटबल : पोखरा रंगशाला (१२–२३ मंसिर)

गल्फ : गोकर्ण गल्फ कोर्स (१५–२० मंसिर)

ह्यान्डबल : पोखरा कभर्डहल (१३–१८ मंसिर)

जुडो : नेपाली सेनाको कभर्डहल, लगनखेल (२१–२४ मंसिर)

कराँते : कराँते कभर्डहल (१६–१९ मंसिर)

कवड्डी : त्रिविवि, कीर्तिपुर १९–२३ मंसिर)

खो–खो : नयाँबजार कीर्तिपुर (१६–१९ मंसिर)

प्याराग्लाइडिङ : सराङकोट, पोखरा (१३–२२ मंसिर)

सुटिङ : सुटिङ रेन्ज, सातदोबाटो (१६–२२ मंसिर)

पौडी : सातदोबाटो, ललितपुर (१९–२३ मंसिर)

स्क्वास : स्क्वास कम्प्लेक्स, ललितपुर (१९–२३ मंसिर)

टेबलटेनिस : टीटी हल, लैनचौर (१६–२० मंसिर)

टेनिस : टेनिस कम्प्लेक्स, सातदोवाटो (१८–२० मंसिर)

तेक्वान्दो : तेक्वान्दो एकेडेमी, सातदोबाटो (१६–१९ मंसिर)

ट्रायथोलन : पोखरा १५–१८ मंसिर)

महिला/पुरुष भलिबल : राखेप कभर्डहल (१९–२४ मंसिर)

बीच भलिबल : लेकसाइड पोखरा (१९–२४ मंसिर)

भारोत्तोलन : पोखरा (१६–२१ मंसिर)

कुस्ती : जनकपुर (२०–२३ मंसिर)

उसु : नेपाली सेनाको कभर्डहल, लगनखेल (१४–२० मंसिर)


प्रकाशित : कार्तिक १८, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?