आयोजक लिटिल विजयी

मोहन बुढाऐर

(धनगढी) — लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटअन्तर्गत शनिबार उद्घाटन खेलमा आयोजक टिमले विजयी सुरुआत गरेको छ । आयोजक टिम लिटिल फ्लावरले त्रिनगर माविलाई ९ विकेटले हरायो । टस जितेको त्रिनगरले १८.३ ओभरमा सबै विकेट गुमाई ९९ रनमात्रै बनायो । यू–१९ का सन्दीप विष्टले ३२ र दीपक जोशीले १८ रन जोडेका थिए । 

आयोजक लिटिल विजयी

लिटिल फ्लावरका यू–१९ का दीपक रोकायले ४, अनिल थापा र महेश अधिकारीले २–२ विकेट लिएका थिए । दीपक रोकाय म्यान अफ द म्याच घोषित भए । जवाफमा लिटिल फ्लावरले ६.४ ओभरमै जित निकालेको थियो । एक विकेट गुमाएको फ्लावरले १ सय ३ रन बनायो । यू–१९ का विपिन रावत अविजित ५९ रन बनाए । उनले ६ छक्का र ४ चौका प्रहार गरे । नरेन्द्र भट्ट (११) को विकेट त्रिनगरका सन्दीप विष्टले लिए ।


धनगढी उपमहानगर प्रमुख नृपबहादुर ओडले धनगढीलाई क्रिकेटको सहरमा चिनाउन क्रिकेट गतिविधि बढ्नुपर्ने धारणा राखे । नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष विक्रम विष्टले अर्को वर्षदेखि यस्ता प्रतियोगितालाई क्यानको वार्षिक क्यालेन्डरमा राख्ने बताए ।


धनगढी क्रिकेट प्रिमियर लिग (डीपीएल) आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले धनगढीलाई विद्यालयस्तरबाट राम्रा खेलाडी उत्पादनमा एलपीएलको महत्त्वपूर्ण योगदान हुनसक्ने बताए । एलपीएल आयोजक सत्कार एकेडेमीले क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्‍याएका वनदेवी क्रिकेट क्लबका ठक्कर बम र सुवास शाहीलाई सम्मान गरेको थियो ।


आयोजक सत्कार क्रिकेट एकेडमीका अध्यक्ष रामचन्द्र शाहीले एलपीएललाई विद्यालयस्तरमा ठूलो प्रतियोगिताका रूपमा गरिने बताए । एलपिएलले चौथो संस्करणमा पुरस्कार राशि तीन लाख रुपैयाँ पुर्‍याएको छ । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाएका थिए । पहिलो संस्करणमा विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।


खेल धनगढीको संघीय प्रहरी इकाईको मैदानमा भइरहेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा काठमाडौं, भक्तपुर, नेपालगन्ज, कैलाली र कञ्चनपुरका १२ विद्यालय टिम सहभागी छन् ।


प्रकाशित : कार्तिक १७, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?