कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अलपत्र टुँडिखेल

दैनिक अभ्यासमा आउने सबै खेलाडीको एउटै गुनासो छ, ‘प्रशिक्षण गर्न एकदमै गाह्रो छ’
माधव अर्याल

(पाल्पा) — तानसेनको एकमात्र खेल मैदान टुँडिखेल स्तरोन्नतिको अभावमा अलपत्र छ । यहाँका फुटबल खेलाडीले अभ्यास गर्न पाएका छैनन् । दुई वर्षदेखि स्तरोनन्ति गर्ने भन्दै टुँडिखेलमा डोजर लगाएर अलपत्र छाडिएको छ । खेलमैदान स्तरोन्नति गर्ने योजना तानसेन नगरपालिकाले अघि सारेको थियो । कामै अघि नबढाई त्यत्तिकै छाडेको हो । खेलाडीहरू धूलो र हिलोमा फुटबल अभ्यास गर्छन् । ‘हामीले पछिल्लो समयमा अभ्यास गर्न पनि पाएका छैनौं,’ दैनिक अभ्यासमा जुट्ने खेलाडी विकास ठाडाराईले भने, ‘टुँडिखेलमा अभ्यास गर्न साह्रै अप्ठेरो हुन्छ ।’ 

अलपत्र टुँडिखेल

उनीमात्र होइनन्, दैनिक अभ्यासमा आउने सबै खेलाडीको एउटै गुनासो छ । नगरपालिकाले अलपत्र पारेर छाडेपछि खेलाडीसमेत निराश छन् । उनीहरू हिलो, धूलो, खाल्डाखुल्डी भएको मैदानमा अभ्यास गर्न बाध्य छन् । जुनियर, सिनियर सबै खेलाडीको गुनासो एउटै छ । खेलमैदान सुधार्न नसकेकामा उनीहरूको चिन्ता बढेको छ । ‘जहिले सुधार्ने भन्ने योजना हुन्छ,’ अर्का खेलाडी आयुश अधिकारीले भने, ‘तर कहिल्यै काम अघि बढ्दैन ।’

तानसेनमा एकमात्र खेलमैदान छ । दैनिक कम्तीमा ३० जनाभन्दा बढी जुनियर र त्यति नै संख्यामा सिनियर खेलाडीले अभ्यास गर्छन् । खेल मैदानको अवस्था देखेर प्रशिक्षकहरू पनि हैरान छन् । उनीहरूले पाल्पा जिल्ला फुटबल संघ, तानसेन नगरपालिकालाई पटक–पटक मैदानको विषयमा गुनासो राखे पनि सुनुवाइ भएको छैन ।


यस वर्ष प्रदेश सरकारको बजेटबाट मैदान स्तरोन्नति गर्ने नगरपालिकाको योजना थियो । मैदानको छेउमा होर्डिङ बोर्ड पनि टाँसियो । तर, काम नै नगरी आर्थिक वर्ष सकियो । बजेट खर्च हुन सकेन । देखिने गरी कामै भएन । नाली निर्माण गरेर पानी तीनधारा साइडमा फाल्ने काम भएको छ । अघिल्लो आर्थिक वर्षमा विनियोजित बजेटबाट काम हुन नसक्दा धेरै काम अलपत्र छ । नगरपालिकाको काखैमा भएको खेलमैदान उपभोक्ता समितिमार्फत काम गराइयो । तर काम भने हुन सकेन ।


प्रशिक्षक गौरवमान शाक्यका अनुसार खेलाडीलाई सधैंको हैरानी हुन्छ । ‘नेपाली सेनाले राम्रो बनाएको खेलमैदान बिगार्ने काम भयो,’ उनले भने, ‘अहिले अलपत्र छाड्दा पुन: पुरानै अवस्थामा फर्किएको छ ।’ खाल्डाखुल्डी, हिलो, धूलो भएपछि खेलाडीलाई अभ्यास गराउन सकिने अवस्था नभएको उनले बताए ।


अर्का प्रशिक्षक रितशमान मल्लले योजनाअनुसार काम नगर्दा नै खेलमैदानमा सकस बेहोर्नुपरेको बताए । स्थानीय तहको निर्वाचनपछि खेलाडीले पनि मैदान स्तरोन्नति हुने अपेक्षा गरेका थिए । ‘सबै खेलाडीले अब मैदान स्तरोन्नति हुने भयो भन्ने आस राखेका थिए,’ प्रशिक्षक मल्लले भने, ‘तर सोचेअनुसार काम हुन सकेन ।’ आिर्थक वर्षको अन्त्यमा काम सुरु भए पनि पुन: रोकियो ।


उपभोक्ता समितिका अध्यक्ष प्रकाशनाथ गंगोलले नगरपालिकाको समन्वयमा नै काम भइरहेको दाबी गरे ।

योजना नै अघि बढेन

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले टुँडिखेलको बृहत्तर गुरुयोजना बनाइसकेको प्रतिक्रिया दिए । तर कार्यालयमा यसको गुरुयोजना माग्दा कोही कसैले दिन सकेनन् । जसअनुसार कामसमेत अघि बढेको छैन । ‘गुरुयोजनाअनुसार नै स्तरोन्नतिको काम अगाडि बढ्नेछ,’ प्रमुख शाहीको जवाफ छ । टुँडिखेललाई खेलमैदानकै रूपमा विकास गर्ने नगरपालिकाको योजना भएको उनले बताए । पहिलो काम अन्तर्राष्ट्रियस्तरको फुटबल खेल्न मिल्ने मैदान बनाउने रहेको उनले सुनाए । यसअघि दूबो रोपेर सफल नभएकाले नगरपालिकाले फुटबलका लागि आर्टिफिसियल दुबो ल्याउने योजना बनाएको थियो । महँगो पर्ने भएकाले उक्त योजना तुहियो । यतिमात्र होइन, सम्याउन समेत सकेको छैन । यसअघि सेनाले पटक–पटक दूबो रोपेर स्तरीय फुटबल मैदान बनाएको थियो ।


अहिलेको पैदल हिंड्ने ट्र्याकलाई समेत छेउमा लैजाने योजनाअनुसार सय मिटर काम भएको छ । त्यसबाहेक कुनै पनि काम अघि बढेको छैन । प्रमुख शाहीले अघिल्लो आर्थिक वर्षमै बनाउने भनेको गेटबाट भित्र पस्दा दायाँ भागको तीनकुनेमा ज्येष्ठ नागरिक कर्नर बनाइने योजना अघि बढेको छैन । टुँडिखेलका छेउछाउमा खाल्डो रहेकालाई मिलाउने योजनाअनुसार काम गरेनन् । खाल्डोको तल माथिकालाई मिलाएर बार लगाएर बस्ने कर्नर बनाउने शाहीको योजना थियो । विभिन्न स्थानमा टहलिएर बस्ने सेड निर्माणको योजना पनि थियो ।


तानसेन नगरपालिकामा सोलार प्यानल राख्ने र टुँडिखेलमा झिलिमिली बनाउने योजनाअनुसार कुनै थालिएको छैन । ‘अहिलेको कामलाई व्यवस्थित गर्दै अघि बढ्ने योजना नगरपालिकाको छ,’ प्रमुख शाहीले भने । नगरपालिकाले ४५ लाख र प्रदेश सरकारको २५ लाख बजेट टुँडिखेलका लागि अघिल्लो वर्ष नै छुट्याइएको थियो । त्यसमा थप १० लाखसम्म थप्न सकिने शाहीले बताए पनि अहिलेसम्म कामै हुन सकेन । पाँच वर्षअघि पनि टुँडिखेलको स्तरोन्नति साथै घेराबारका लागि छुट्टिएको बजेटका विषयमा अहिलेसम्म गुनासो रहँदै आएको छ । उक्त बजेटका विषयमा कोही कसैले खोजीसमेत नगर्दा अहिलेसम्म घेराबारसमेत हुन नसकेको स्थानीयको गुनासो छ ।


प्रकाशित : कार्तिक १६, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?