ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान

विनोद पाण्डे

काठमाडौँ — ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टोलीका नयाँ कप्तान बनेका छन् । उनले लामो समयदेखि नेपाली क्रिकेट हाँकिरहेका पारस खड्काको स्थान लिएका हुन् । पारसले तीन साताअघि कप्तानी पदबाट राजीनामा दिएका थिए । पारसले दशक नेपाली टोलीको कप्तानी गर्दा ज्ञानेन्द्र अधिकांस समय उपकप्तानमा रहे ।

ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सामाजिक सञ्जालबाट ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको जनाएको थियो । नेपाली राष्ट्रिय टोलीबाट सन् २००६ मा खेल्न थालेका ज्ञानेन्द्र २००९ मा उपकप्तान बनेका थिए । सोमबार नेपाल भ्रमणमा आएको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध ज्ञानेन्द्रको पूर्ण कप्तानीमा नेपालले पहिलोपल्ट खेल्नेछ ।


क्यानले दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । ज्ञानेन्द्र व्यक्तिगत कारण हालै सिंगापुरमा भएको त्रिकोणात्मक ट्वान्टी–२० शृंखला र ओमानमा भएको पाँच राष्ट्रसम्मिलित ट्वान्टी–२० शृंखलामा अनुपस्थित रहँदा नै दीपेन्द्रलाई पारसको कप्तानीमा उपकप्तान बनाइएको थियो । ज्ञानेन्द्रका अनुसार उनलाई एमसीसीसँग शृंखला, डिसेम्बर १ देखि १० सम्म काठमाडौं आयोजना हुने दक्षिण एसियाली खेलकुदसम्मका लागि कप्तानीको जिम्मेवारी दिइएको छ । यस बीचमा नेपालले बंगलादेश भ्रमणमा गएर पनि खेल्न सक्नेछ । ज्ञानेन्द्रले सन् २०१४ मै नेपालको कप्तानी गरेका थिए । न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा पारस घाइते भएपछि ज्ञानेन्द्रले यूएईसँगको पहिलो खेलमा नेपालको नेतृत्व गरेका थिए । पारस अस्वस्थ रहेको समयमा ज्ञानेन्द्रले केन्यासँग विश्व क्रिकेट लिग छनोटको दुई खेल र बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालको कप्तान गरेका थिए ।


कप्तानको पूर्ण जिम्मेवारी पाउनु गर्वको क्षण भएको ज्ञानेन्द्रले बताए । ‘जिम्मेवारी आएको छ, चुनौती पनि थपिएको छ । पूर्ण कप्तानी पाउनु र कामचलाउ जिम्मेवारीमा धेरै फरक पर्छ,’ उनले भने, ‘चुनौतीसँगै अवसर पनि छ, सजिलो त पक्कै छैन । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट कप्तानको छाप छोडिसकेको छ । पारसको कप्तानीको त्यो पहिचान पछ्याउन चुनौती नै छ । त्यो सँगै नेपाली क्रिकेटलाई अगाडि बढाउने अवसर हामीसामु आएको छ ।’

कामचलाउ कप्तानीको जिम्मेवारी दिँदा ज्ञानेन्द्रले केन्यासँगको एक खेलमा जिताउनुबाहेक खासै उल्लेखीय केही गर्न सकेका थिएनन् । पारसले राजीनामा दिएपछि मात्र आफ्नो मनमा पूर्ण कप्तानी लिने सोच आएको र त्योभन्दा अघि कहिल्यै कप्तानीबारे नसोचिएको ज्ञानेन्द्रले बताए ।

प्रकाशित : कार्तिक १३, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?