पूर्णविरामतर्फ धोनी युग

एएफपी

नयाँ दिल्ली — भारतीय प्रमुख छनोटकर्ताले दिएको संकेत मान्ने हो भने महेन्द्रसिंह धोनीको लोभलाग्दो अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लाग्दैछ  । ती छनोटकर्ताले बिहीबार भनेका छन्, ‘भारतीय टिम अब अगाडि बढ्ने छ  । टोलीको नीति हुनेछ, नयाँ युवा खेलाडीलाई मौका दिने ।’

पूर्णविरामतर्फ धोनी युग

पूर्व कप्तान तथा एकदिवसीय क्रिकेटका विशेषज्ञ धोनीले जुलाईको विश्वकपपछि भारतका लागि खेलेका छैनन् । धेरैको अनुमान के छ भने ३८ वर्षीय धोनीले ढिलो चाँडै संन्यास लिनेछन् । भारतले अब बंगलादेशविरुद्ध अर्को महिना तीन ट्वान्टी–२० को शृंखला खेल्दै छ । त्यसका लागि घोषित टिममा धोनी छैनन् ।

दक्षिण अफ्रिकाविरुद्ध हालै टुंगेको शृंखलामा पनि उनको कुनै भूमिका रहेन । भारतीय टिमको छनोट कमिटीका प्रमुख एमएसके प्रसादले टिमको विकेटकिपर भूमिकामा नयाँ खेलाडीलाई नै मौका दिने नीति भएको बताए । उनको स्पष्ट संकेत ऋषभ पन्ततर्फ थियो । ‘विश्वकप पछि हाम्रो सम्पूर्ण ध्यान ऋषभ पन्तमै केन्द्रित छ,’ प्रसादले पीटीआईलाई बताएका छन् ।

उनले यो धोनीको भविष्यलाई लिएर सोधिएको प्रश्नमा दिएका थिए । उनले भने, ‘विश्वकपपछि हामी अगाडि बढ्न चाहन्छौं । हाम्रो ध्यान युवा खेलाडीमा हुनेछ र तिनलाई टिममा स्थापित गर्ने हुनेछ ।’ सन् २०११ को विश्वकपमा नेतृत्व गर्दै भारतलाई विश्वकप दिलाएपछि धोनी नयाँ नायक साबित भएका थिए ।

धोनीले सन् २०१४ मै टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए । ९० खेलमा ४ हजार ८ सय ७६ रन बनाएका थिए । यिनै धोनीले एकदिवसीय क्रिकेटमा भने ३ सय ५० खेल खेलेर १० हजार ७ सय ७३ रन बनाएका छन् । पछिल्लो विश्वकपमा उनले राम्रो गर्न सकेनन् र भारत सेमिफाइनलबाटै बाहिरिएको थियो । ‘कप्तान कुल’ को उपनाम पाएका धोनीले भारतका लागि तीनै ढाँचाको क्रिकेटमा नेतृत्व गरे ।

उनको आगमनले टिमको अन्तिम समयसम्म संघर्ष गर्ने बानी बसेको थियो । तर भारतीय क्रिकेट प्रमुखमा सौरभ गांगुलीको उदय र टिममा विराट कोहलीको पकडपछि धोनीको संन्यास उनले घोषणा गर्नमात्र बाँकी रहेको स्थिति बनेको छ । ‘अब आफ्नो भविष्यबारे धोनीले मात्र अन्तिम निर्णय गर्न सक्छन्,’ प्रसादले भने, ‘हामीले भारतीय क्रिकेटको भविष्यलाई लिएर खास योजना बनाएका छौं र त्यसैअनुसार टिम बनाउने छौं ।’

प्रकाशित : कार्तिक १०, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?