कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

खेलाडीको चिन्ता सामाजिक सुरक्षा

कुशल तिमल्सिना

काठमाडौँ — दुई साताअघि सिंगापुर र ओमानमा आयोजित ट्वान्टी-२० शृंखलामा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले खेलाडीको सामाजिक सुरक्षा मुद्दा उठाएका थिए । यो आवाज उठाउने उनी एक्ला होइनन् । खेलकुद प्राथमिकतामा नपरेको नेपालजस्तो हरेक विकासशील देशमा आवाज उठ्ने तर कार्यान्वयन नहुने विषय हो खेलाडीको सुरक्षा । 

खेलाडीको चिन्ता सामाजिक सुरक्षा

जीवनको ऊर्जाशील समय राष्ट्रिय झण्डामुनि रहेर अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्बन्धित देशको ‘ग्लोबल एम्बासडर’ पनि भनिन्छ । तर उनीहरूको समस्यामा सरोकार संस्थाले अपेक्षाकृत सहयोग नगरिदिँदा खेलप्रति युवाको आकर्षण स्वाभाविक रूपमा कमजोर बनिरहेको छ ।


नेपालमा त्यस्ता धेरै उदाहरण छन् । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका कोही सप्तरीमा बालुवा चालिरहेका छन् ।कोही नेपालगन्जमा होटलमा काम गर्छन् भने पहुँच भएकाहरू विदेश पलायन भएका छन् । अनि केही चाहिँ अस्वस्थताका कारण क्रियाशील समयमा गरेको योगदानको स्मरणमा दु:खका दिन काटिरहेका छन् । यस्तै एउटा प्रतिनिधिपात्रका रूपमा छन्, ११ वर्षदेखि आधा हर (देब्रे अंग) को भरमा जीवन धानिरहेका वाईबी घले ।


नेपालका पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता को हुन् ?, वाईबी (यामबहादुर) घले । हाजिरीजवाफमा सोधिने उल्लेखित प्रश्न र आउने उत्तर सुन्दा जति गर्व लाग्छ त्यसविपरीत निरास जीवन व्यतित गरिरहेछन् घले । ३६ वर्षअघि यी जादुयी मिडफिल्डरले भारतको जवाहरलाल नेहरू रंगशालामा कुवेतविरुद्ध गरेको गोल नेपाली टिमले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । भर्खरै अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेको नेपाली टिममार्फत एसियाली खेलकुदमा त्यो इतिहास कोरिएको थियो । त्यसयता ८ वर्षसम्म उनी राष्ट्रिय टोलीमै रहेर योगदान गरेका वाईबीले नेपाललाई दक्षिण एसियाली च्याम्पियन पनि बनाए, सन् १९८४ मा ।


५० वर्षको उमेरमा प्यारालाइसिस भएयताको ११ वर्ष घलेले भोगेका दु:ख भनिसाध्य छैन । यसबीचमा उपचारका लागि भएको खर्चबारे लेखाजोखा छैन । ‘ऋण लागोस्, दिन नलागोस्’ भन्ने नेपाली उक्ति त्यसै बनेको होइन । प्यारालाइसिसको समस्या त छँदै छ त्यसमा हालै उनलाई गल ब्लाडर र पत्थरीको समस्याले थिच्यो । दुवैको शल्यक्रिया गरेको ४ महिनामात्र भयो । उमेरले ६१ छोएका उनको शरीर थप जर्जर बनेको छ ।


‘वाईबीजस्ता कीर्तिमानी खेलाडीले उपचार खर्चका लागि याचना गर्नुपर्ने दिन आउनु हुँदैनथ्यो,’ शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ यूके शाखाले संकलन गरेको २ लाख रुपैयाँ घलेलाई हस्तान्तरण गर्ने कार्यक्रममा अन्तर्राष्ट्रिय टिममेट तथा पूर्व कप्तान राजुकाजी शाक्यले प्रश्न गरे, ‘आफ्नो समयमा बाघझैं गर्जेर विदेशी भूमिमा धावा बोल्ने खेलाडीले यति निरीह हुनुपर्ने हो र ?’


भविष्यमा आफूलाई यस्तो समस्या नआओस् भनेर कामना गरेका शाक्यले खेलाडीको सामाजिक सुरक्षाका लागि सम्बन्धित खेल संघ र सरकारले पनि योजना तर्जुमा गर्नुपर्ने समय आइसकेको बताए । ‘समस्यामा परेका खेलाडीलाई सरकारीस्तरबाटै जीवन निर्वाह खर्च र नि:शुल्क स्वास्थ्योपचार भएमा यताउताबाट माग्नुपर्ने अवस्था आउँदैन,’ उनले भने ।


घलेका लागि सहयोग संकलनको चाँजोपाँजो मिलाएका खेलाडी संघ यूके शाखाका अध्यक्ष तथा पूर्व बक्सिङ खेलाडी सिद्धार्थविक्रम क्षेत्रीले कीर्तिमानी खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी लागेको तर घलेको अवस्थामा सरोकारवालाको उदासिन हुँदा दु:ख लागेको बताए । १३ वर्षदेखि लन्डनमा बस्दै आएका क्षेत्रीले दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता कृष्णमान मानन्धर, इन्द्र रानामगर, एसियाड पदक विजेता दीपक महर्जन, बक्सिङका प्रशिक्षक मञ्जुजंग शाहीलाई उपचार खर्चका लागि सहयोग गरिसकेका छन् । यो क्रम जारी रहने उनले सुनाए ।


समस्यामा परेका पूर्व खेलाडीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषदसँग मिलेर खेलाडी अक्षयकोषको स्थापना गरेको छ । संघका अध्यक्ष दीपक श्रेष्ठले आवश्यक प्रक्रिया पुर्‍याएर खेलाडीले अक्षयकोषबाट सहयोग लिनसक्ने जानकारी दिए । ‘वाईबी दाइजस्ता समस्यामा परेका खेलाडीको सहयोगकै लागि लामो प्रयासपछि हामीले अक्षयकोष स्थापना गर्न सकेका छौं । खेलकुद परिषद्को सहकार्यमा १ करोड ४० लाख रकम पुगेको छ, अब खेलाडीले थप समस्यामा पर्नु हुँदैन भन्नेमै हाम्रो चासो हो,’ अध्यक्ष श्रेष्ठले भने ।


घलेको सरोकार संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) हो । खेलाडीमात्र होइन घलेले संघको केन्द्रीय सदस्य, टेक्निकल डाइरेक्टर तथा युथ डाइरेक्टरको भूमिकामा पनि योगदान गरेका छन् । उनको सहयोगका लागि एन्फा आँखा चिम्लिएको चाहिँ होइन । यसअघि फरक फरक समयमा सहयोग भएकै हो । तर धेरैको चाहना भनेको उनीजस्ता ‘सुपरस्टार’ ले माग्ने होइन अधिकारले पाउनुपर्ने हो ।


‘अघिल्लो वर्ष हामी निर्वाचित भएपछि वाईबी दाइसँग आशीर्वाद लिन पुगेका थियौं, हामीले उहाँलाई बिर्सेका छैनौं र कहिल्यै बिर्सने छैनौं,’ कार्यक्रममा एन्फाका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंहले भने, ‘वाईबी दाइलाई मात्र होइन समस्यामा परेका सबै फुटबलरलाई नियमित सहयोगका लागि बीमा लगायतका योजना आउने क्रममा छन्, आउने पुस्ताले उहाँलेजस्तो समस्या भोग्नुपर्दैन ।’

प्रकाशित : कार्तिक ९, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?