कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

डब्लूसीएल फाइनल आज : रुबिना र इन्दुको उपाधि होड

कुशल तिमल्सिना

काठमाडौँ — महिला क्रिकेटको पहिलो फ्रेन्चाइज वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) जित्ने लक्ष्यसहित चितवन राइनोज र क्याट क्विन्स काठमाडौं बिहीबार फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । ट्वान्टी–२० संरचनामा हुने डब्लूसीएलमा राष्ट्रिय टिमको नेतृत्व गरिसकेकी काठमाडौंकी कप्तान रुबिना क्षेत्रीलाई चितवनकी इन्दु बर्माले पुन: टक्कर दिँदैछिन् । यी दुई टिमबीच डब्लूसीएल उद्घाटन खेल भएको हो । 

डब्लूसीएल फाइनल आज : रुबिना र इन्दुको उपाधि होड

चितवन शतप्रतिशत जित निकाल्दै उपाधि दाबेदार हुँदा काठमाडौंले चितवनसँग खेल गुमाएको हो । चितवन शीर्षस्थानमा रहेर सोझै फाइनल पुग्यो । काठमाडौंले क्वालिफायरमा विराटनगर टाइटन्समाथि जित रच्दै चितवनसँग पुन: भेट पक्का गरेको हो । फ्रेन्चाइज क्रिकेटको अन्तर्राष्ट्रिय अभ्यास र प्रतियोगिताको प्रचार उद्देश्यले आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले डब्लूसीएल ट्रफीसहित फाइनलिस्ट कप्तानद्वयलाई चन्द्रागिरिमा लगेर प्रस्तुत गरेको थियो । जहाँ दुवै कप्तान फाइनल जितप्रति आत्मविश्वास देखिएका थिए ।


चितवनकी इन्दुले जितयात्रा उपाधिसहित टुंग्याउने योजना सुनाइन् । काठमाडौंकी रुबिनाले सुरुआती हारबाट पाठ सिक्दै सुखद अन्त्यको प्रयास गर्ने बताइन् ।


‘फाइनललाई हामी निकै उत्साही छौं । सबै खेल जितेर आएका छौं । भोलिको फाइनलमा जितलाई निरन्तर गर्ने प्रयास गर्छौं,’ कप्तान इन्दुले भनिन्, ‘पहिलो खेलमा हामीले हराए पनि काठमाडौं त्यसपछि चार खेलमा उत्कृष्ट प्रदर्शन गरेरै फाइनल आइपुगेको हो । दुवैको आत्मविश्वास उच्च छ । नतिजा जसले राम्रो क्रिकेट खेल्न सक्छ त्यसैले जित्नेछ ।’


इन्दु आफ्नो व्यक्तिगत प्रदर्शनबाट भने सन्तुष्ट देखिइनन् । फाइनलमा एउटा राम्रो इनिङ्सका लागि प्रयास गर्ने उनको भनाइ छ । ‘व्यक्तिगत रूपमा सुरुका खेलमा राम्रो गर्न सकिनँ । पछिल्लो दुई खेलमा ठीकै गरेजस्तो लाग्छ । व्यक्तिगतभन्दा पनि हामी सामूहिक प्रयासबाट फाइनल पुगेका छौं । फाइनलमा सबैले आफ्नो उत्कृष्ट प्रदर्शन दिने प्रयासमा हुनेछन्,’ उनले थपिन् ।


इन्दुले प्रतियोगिताको चार इनिङ्समा ५२ रन बटुलेकी छन् । पोखरा पल्टनसँग २४ रन र विराटनगरसँग अविजित १७ रन बनाएकी उनी काठमाडौंसँग १ र ललितपुर फाल्कोन्ससँग १० रनमै पवेलियन फर्किएकी थिइन् ।


पछिल्ला चार खेलमा चितवनको सन्तुलित प्रदर्शन छ । ऋतु कनौजिया, काजल श्रेष्ठ र कञ्चन श्रेष्ठ ब्याटिङमा जिम्मेवार देखिएका छन् । राष्ट्रिय टोलीकी ओपनर काजलले एक अर्धशतकसहित उत्कृष्ट इनिङ्स खेलेकी छन् । काठमाडौंले सकारात्मक नतिजाका लागि काजललाई रोक्नु अनिवार्य हुनेछ । ४ खेलमा १ सय १३ रन जोडेकी काजल सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो नम्बरमा छन् । मध्यक्रममा ऋतुले जिम्मेवारी बहन गर्नेछिन् । उनलाई कप्तान इन्दु, सुमन खतिवडा, प्रिया चौधरीसहितको सन्तुलित ब्याटिङलाइनले साथ दिनेछ ।


चितवनको बलिङमा कविता गौतमको प्रदर्शन उत्कृष्ट छ । ४ खेलमा १० विकेट लिएकी उनी धेरै विकेट लिने बलर सूचीमा अगाडि छिन् । ४ खेलमा १५ ओभर बलिङ गर्दा १ मेडनसहित ५३ रन खर्चिएकी छन् । यू–१९ टिमकी उपकप्तानसमेत रहेकी दायाँहाते उनले पछिल्लो खेलमा विराटनगरविरुद्ध ३ ओभरमा ५ रन खर्चेर ३ विकेट झारेकी थिइन् । सरस्वती चौधरी, रेखा रावल, सुमन र ऋतुले उनलाई साथ दिनेछन् ।


चितवनसँग हारेपछि काठमाडौंले त्यसपछि चारै खेलमा सानदार जित निकाल्दा कप्तान रुबिनाकै प्रदर्शन निर्णायक थियो । ब्याटिङतर्फ ५ इनिङ्समा २ अर्धशतकसहित २ सय १२ रन बटुलेकी उनले क्वालिफायरमा विराटनगरसँग उत्कृष्ट बलिङ प्रदर्शन गरिन् । ४ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ४ विकेट लिएकी रुबिनाको खातामा समग्रमा ५ विकेट छ । पोखरा पल्टनविरुद्ध प्रहार गरेको अविजित ८३ रन पनि प्रतियोगिताको व्यक्तिगत ठूलो स्कोर हो । तेस्रो खेलमा रोमा थापाले अविजित ५३ रन बनाउनुबाहेक काठमाडौंका अन्य खेलाडी अहिलेसम्म आ–आफ्नो जिम्मेवारी बहन गर्न असमर्थ देखिएका छन् ।


कप्तान रुबिनाले फाइनलमा टिमका हरेक सदस्यले आफ्नो जिम्मेवारी सम्हालेको हेर्ने चाहन्छिन् । उनले भनिन्, ‘राष्ट्रिय टोलीको कप्तान भइसकेको नाताले पनि मैले उदाहरणीय प्रदर्शन गर्नुपर्छ । मबाहेक हामीसँग धेरै प्रतिभा छन्, जसले हरेक खेलमा आफैं जिम्मेवारी लिन सक्छन् । उनीहरूले आफ्नो क्षमताअनुसार प्रदर्शन कहिले गर्लान् भनेर प्रतीक्षा गरिरहेको छु । म के चाहन्छु भने रुबिनाभन्दा पनि अरु खेलाडीले राम्रो प्रदर्शन गरोस् । रुबिनाको स्थानमा अन्य खेलाडीको प्रचार हुँदा म खुसी हुनेछु ।’


पहिलो खेलमा पराजित टिमसँग फाइनल खेल्दा आफ्नो कमजोरी सुधार्ने अवसर रहने रुबिनाले बताइन् । ‘हारपछि टिमको कमब्याक निकै राम्रो छ । हामीले आफ्नो आत्मविश्वास बढाएका छौं र विपक्षीमाथि दबाब कायम गरेका छौं,’ उनले थपिन्, ‘फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको छु । दुवै टिम राम्रो छ र हामी राम्रो खेल प्रदर्शन गर्ने प्रयास गर्नेछौं । पहिलोपल्ट आयोजित प्रतियोगिताको ट्रफी उचाल्न पायौं भने हामी धेरै खुसी हुनेछौं ।’


लामो समयदेखि स्वदेशमै फ्रेन्चाइज क्रिकेटको सपना देखेकी रुबिनाले सबैको साथले देशमा महिला क्रिकेटको माहोल बढेको र यसले विस्तारमा सहयोग पुग्ने तर्क गरिन् । आसन्न दक्षिण एसियाली खेलकुदका लागि पनि महिला खेलाडीलाई आत्मविश्वास र खेल अनुभव हासिल गर्ने अवसरको रूपमा डब्लूसीएललाई पाएको रुबिनाको भनाइ थियो । चितवनकी कप्तान इन्दुले पनि नयाँ र नेपथ्यमा रहेका प्रतिभाले अवसर पाएकाले प्रतियोगिताबाट महिला क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुग्ने अपेक्षा गरिन् ।


प्रकाशित : कार्तिक ७, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?