कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गौतमबुद्ध क्रिकेट रंगशालाको डिपिआर तयार, लागत २ अर्ब ६० करोड

रमेशकुमार पौडेल

चितवन — धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा बनाउने प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा बुधबार उक्त डिपिआर प्रस्तुत गरेर सुझाव लिने काम भएको छ । केही परिमार्जन भए पनि डिपिआर निर्माण सकिएको फाउण्डेशनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले बताए ।

गौतमबुद्ध क्रिकेट रंगशालाको डिपिआर तयार, लागत २ अर्ब ६० करोड

कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ विघा १७ कट्ठा जमिनमा रंगशाला बन्दै छ । विश्वविद्यालयलाई सट्टाभर्ना दिने गरेर भरतपुर महानगरले उक्त जग्गा प्राप्त गरेको हो । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरमा सहयोग अभियान सञ्चालन गरेर रंगशाला निर्माण गर्ने छन् । रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण हुने छ ।


रंगशाला निर्माणका सम्बन्धमा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच गएको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यो बेला ६ महिनाभित्र डिपिआर बनाउने र दुई वर्षभित्र निर्माण पुरा गर्ने घोषणा भएको थियो । तर सहमतिपत्रमा हस्ताक्षर भएको नौ महिना २० दिनपछि डिपिआर सार्वजनिक गरिएको छ । रंगशाला निर्माणका लागि चाहिने सहयोग पनि सोचे जस्तो जुटेको छैन । यो बीचमा बार भत्काउने जस्ता काम पनि भए ।


डिपिआर अनुसार ३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याट बाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । क्रिकेट मैदान ७० मिटर रेडियसको हुने छ । पाँचवटा पिच हुने छन् । क्रिएटिभ डिजाइन आर्किटेक प्रालिले डिपिआर तयार पारेको हो । भारतीय र अमेरिकन परामर्श कम्पनीको पनि सहयोग लिएको प्रालिका शेरबहादुर केसीले जानकारी दिए ।


कमलको फुलको आकार अनुरुप मल्लकालीन नेपाली वास्तुकलाको मिश्रण रंगशालामा देख्न पाइने छ । अन्तर्राष्ट्रिय क्रिकेट आउन्सिल (आईसीसी)को प्रवधान अनुरुपको रंगशालाको डिजाइन गरेको केसीले बताए ।

सन् २०१७ पछि बनेका र बन्दै गरेका भारतका क्रिकेट स्टेडियमहरु हेरेर र अध्ययन गरेर डिजाइन गरेको उनको भनाइ छ । सबै खाले संरचना र डिजाइनको बारेमा अमेरिकाको मियामोतोसँग परामर्श लिएको उनले बताए ।


डिपिआर तयार भएका कारण आर्थिक स्रोत जुटे आउँदो १८ महिनाभित्र संरचना बनाएर सक्ने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । तर आर्थिक स्रोत जुटाउन फाउण्डेशनलाई हम्मे हम्मे परेको छ ।

रंगशाला निर्माण क्षेत्रमा अस्थायी बार लगाउँदै गर्दा गएको जेठ १५ गते बाटो सम्बन्धी विवाद झिकेर स्थानीयले डोजर चलाएर बार भत्काए । त्यसपछि यो अभियानका बारेमा देश/विदेशमा गलत सन्देश गएको छ ।


फाउण्डेशनका अध्यक्ष कट्टेल चितवनकै बलमा धेरै आर्थिक स्रोत जुटेमा मात्र रंगशाला निर्माण सम्भव हुने धारणा राख्न थालेका छन् । रंगशालाको बार भत्काएपछि चितवनमा भएका केही गतिविधिले देश/विदेशमा रहेका नेपाली माझ राम्रो सन्देश नगएको उनको अनुभव छ । जिल्लामा आर्थिक संकलन अभियानलाई जोड दिन स्थानीय तहसम्म नै समितिहरु बनेका छन् । तर त्यसले सोचे अनुरुप काम नगरेको उनले बताए ।


‘पछिल्लो समय चितवनमा काण्डैकाण्ड हुन थाले त्यहाँ रंगशाला किन बनाउने भन्ने भावना देश/विदेशका नेपाली माझ जागेको छ । त्यसैले अब पनि चितवन आर्थिक संकलनका लागि जागेन भने मैले पनि यो परियोजना स्थगित गरें है भनेर घोषणा गर्ने दिन नआओस्,’ कट्टेलले कार्यक्रममा भने । फाउण्डेशनलाई अहिलेसम्म सात करोडको हाराहारीमा सहयोगको घोषणा भएको छ । पैसा झनै कम उठेको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?