अन्नपूर्णमा विश्वका अल्ट्रा खेलाडीहरू

कुशल तिमल्सिना

काठमाडौँ — अल्ट्रा म्याराथनको विश्व सिरिजअन्तर्गत फाइनलका लागि अहिले विश्वभरका उत्कृष्ट अल्ट्रा धावकहरू नेपालमा आएका छन् । खेल सामाग्री उत्पादक कम्पनी सालोमोनको आयोजनामा हुने गोल्डेन ट्रायल वर्ल्ड सिरिजको अन्तिम चरणको दौड शुक्रबार कास्कीको अन्नपूर्ण ट्रायलमा हुँदै छ ।

अन्नपूर्णमा विश्वका अल्ट्रा खेलाडीहरू

विश्व सिरिजको स्थानीय आयोजक अल्ट्रा रनिङ नेपालले सम्पूर्ण धावकलाई काठमाडौंमा स्वागतसहित पोखराका लागि बिदाइ गरेको छ । सन् २०१९ को जुन महिनादेखि सुरु यो सिरिजको अघिल्ला चरणको नतिजाका आधारमा शीर्ष १० वरीयताभित्रका महिला र पुरुष खेलाडीलाई आयोजक सालोमोनकै खर्चमा सहभागी गराइएको हो । त्यसबाहेक ३ सय हाराहारीमा सहभागिता अनुमान गरिएको स्थानीय आयोजक नेपालकी अध्यक्ष तथा अल्ट्रा धाविका मीरा राईले बताइन् ।


‘गोल्डेन वर्ल्ड सिरिजअन्तर्गत फाइनल रेस ४२ किलोमिटरको हुनेछ, त्यसबाहेक हामीले शनिबार अन्नपूर्ण अल्ट्रा रनिङको रूपमा ५५ किलोमिटर र १०० किलोमिटरको छुट्टै रेस आयोजना गर्दैछौं । त्यसमा नेपाली खेलाडीको सहभागिता रहनेछ,’ धाविका मीराले भनिन् । सालोमोनको टिममा भए पनि इन्ज्यूरीका कारण मीराले यस सिरिजमा सहभागिता भाग लिएकी छैनन् । अल्ट्रा दौडतर्फ नेपालमा हुन लागेको यो पहिलो ठूलो प्रतियोगिता हो ।


यो सिरिजअन्तर्गत पहिलो प्रतिस्पर्धा जुन २ मा स्पेनमा भएको थियो । जुन ३० म फ्रान्स, जुलाई २१ मा इटाली, अगस्ट ११ मा स्विट्जरल्यान्ड, अगस्ट २५ मा अमेरिका र सेप्टेम्बर २१ मा स्कटल्यान्डमा प्रतियोगिता आयोजना भएको थियो । फाइनलमा स्थान बनाउन अघिल्ला ६ मध्ये कम्तीमा ३ स्पर्धामा सहभागिता जनाउनुपर्ने नियम छ ।


समुद्र सतहदेखि छोटो दूरीमै कम र बढी उचाइका ठाउँहरूको सन्तुलनले अल्ट्रा रनरका लागि नेपाली डाँडापाखा उत्कृष्ट गन्तव्यको रूपमा रहेको छ । सालोमोनले यसैलाई मध्यनजर गरी विश्व सिरिजको दोस्रो संस्करणको फाइनल नेपालमा आयोजना गरेको हो । अन्नपूर्ण म्याराथनको नाममा अघिल्लो वर्ष पनि दौड भएको थियो । त्यसको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका थिए ।


शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित १२ सय मिटर उचाइमा रहेको लुम्रेबाट सुरु हुने दौड ३७ सय ६० मिटर उचाइसम्म पुगेर १ हजार ७ सय मिटर उचाइमा अवस्थित धम्पुसमा समाप्त हुनेछ । ‘सालोमोनको सहयोगमा हामीले सम्पूर्ण व्यवस्थापन गरेका छौं, यसलाई भ्रमण वर्ष २०२० को प्रचारका लागि ‘भिजिट नेपाल २०२०’ सँग सहकार्य गरेका छौं र नेपाल माउन्टेनर्स एसोसिएसनको पनि साथ छ,’ मीराले भनिन् ।


संसारभरका सर्वोत्कृष्ट धावक शुक्रबार कास्कीमा करिब ६ महिना लामो सिरिजको सुखद अन्त्यको पर्खाइमा हुनेछन् । तीमध्ये कतिपय भेट्रान त कति युवा स्टार छन् । महिलातर्फ उपाधिका लागि ३ जनाको प्रतिस्पर्धा हुने सम्भावना छ । तर हाइअल्टिच्युड उनीहरूका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।


अघिल्लो संस्करणमा जस्तै यस वर्ष पनि ११ देशबाट महिला र पुरुषमा १०–१० उत्कृष्ट खेलाडी सिरिजअन्तर्गत प्राप्त गोल्डेन अंकका आधारमा चयन गरिएको हो । ३ सयभन्दा बढी गोल्डेन अंक पाएका स्पेनिस धावक किलियन होर्नेट पुरुषतर्फ र समान ३ सयभन्दा बढी अंक पाएकी स्विस धाविका जुडिथ वेडर महिलातर्फ शीर्षस्थानमा छन् । जुडिथसँगै अर्की स्विस धाविका मोउडी माथिज र न्युजिल्यान्डकी रथ क्रफ्टबीच प्रतिस्पर्धा हुने अनुमान छ ।


पुरुषतर्फ भने टिम सालोमोनका स्पेनिस धावक किलियन उपाधिका लागि सबैभन्दा बलिया दाबेदार हुन् । नेपालमा हुन लागेको स्पर्धा किलियनका लागि अर्को फाइदा पनि छ । उनी नेपालको हाइअल्टिच्युडसँग राम्ररी परिचित छन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको दुईपल्ट आरोहण गरिसकेका छन् । हालैमात्र पारिवारिक छुट्टीमा नेपाल आएर ८ हजार मिटर उचाइको खुम्बु क्षेत्रसम्म पुगेका थिए । उनी यस सिरिजअन्तर्गत आफू सहभागी अघिल्ला तीनै स्पर्धाका विजेता हुन् ।


‘सन् २०१२ देखि नै मैले वर्षमा दुई पटकसम्म नेपालको भ्रमण गरेको छु, अहिले म दसौंपल्ट नेपाल आएको हुँ । विभिन्न स्थानको ट्रेकिङ र सगरमाथाको चुचुरोसम्म पुगिसकेकाले म यहाँको मौसमबारे राम्रो जानकारी राख्न सक्छु । खुम्बु क्षेत्र, लामटाङ पुगेको छु,’ कालियनले कान्तिपुरसँग भने ।


उनले अन्नपूर्ण क्षेत्रमा पहिलोपल्ट जान लागेको बताए । अन्नपूर्ण म्याराथनमा फाइनल तयारीमा रहेका किलियनले थपे, ‘नेपालमा मैले पहिलोपल्ट प्रतिस्पर्धात्मक दौडमा सहभागिता जनाउँदै छु । हाइअल्टिच्युडमा दौडनु मेरा लागि पहिलो अनुभव हो । अन्नपूर्ण क्षेत्र निकै नै रोमान्चक छ र नयाँ स्थानमा दौडने मेरो सोख पनि पूरा हुँदै छ । खासमा मजस्ता युरोपियन धावकका लागि नेपालको अल्टिच्युडले निकै कठिन बनाउँछ तर मेरो प्रयास जित्नका लागि हुनेछ ।’ यो स्पर्धा जितेको खण्डमा किलियनले सन् २०१९ मा सहभागिता जनाएको चारै रेसमा सफलता हासिल गर्नेछन् ।


टपटेन अल्ट्रा खेलाडी

पुरुष

किलियन होर्नेट (स्पेन)

नादिर मागुएट (इटाली)

डेभिड माग्निनी (इटाली)

बार्टोमिज प्रेवोजेस्की (पोल्यान्ड)

स्टेन एन्गरमड–भिच (नर्वे)

थिवाउट बारोनियन (फ्रान्स)

सेज कानाडाय (अमेरिका)

आर्टिज एजिया (स्पेन)

रेमी बोन्नेट, (स्विट्जरल्यान्ड)

मार्क लुन्स्टेइन (स्विट्जरल्यान्ड)


महिला

जुडिथ वेदर (स्विट्जरल्यान्ड)

माउड मिथ (स्विट्जरल्यान्ड)

रुथ क्रफ्ट (न्युजिल्यान्ड)

एली एन्नी भर्गस्डल (नर्वे)

सिल्भिया राम्पाज्जो (इटाली)

इलिसा डेस्को (इटाली)

मेगान म्याक्केन्जी (दक्षिण अफ्रिका)

यङभिल्ड कास्पर्सेन (नर्वे)

अमान्दिन फेर्राटो (फ्रान्स)

होली पेग (बेलायत)

प्रकाशित : कार्तिक ६, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?