चन्द्रागिरि गोल्डकप यसै महिना

कान्तिपुर संवाददाता

काठमाडौँ — चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबलको तेस्रो संस्करण कात्तिक ३० देखि हुने भएको छ । दीपशिखा युवा समूहको आयोजनामा हुने प्रतियोगिता मंसिर ७ सम्म चल्नेछ । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ वर्गीकरणअनुसार ‘सी’ क्याटगोरीमा रहेको प्रतियोगितामा ८ देखि १० टिमको सहभागिता रहनेछ । 

सयोजक पूर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले १४ ‘ए’ डिभिजन क्लबलाई नै निमन्त्रणा पठाइएको बताए । आयोजकको दुई टिम रहनेछ । दीपशिखाको एउटा टिम र चन्द्रागिरि नगरपालिकाका १४ वटै वडा समेटेर एक टिम बनाइने संयोजक बुढाथोकीले जनाए । खेल पुरानो नैकापस्थित मैदानमा हुनेछ ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग रहने प्रतियोगिताको बजेट ५० लाख अनुमान गरिएको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रतियोगितालाई मैदान स्तरोन्नति गरिएको बताए । ‘प्यारापिट र शौचालयलगायतका संरचना निर्माण गरिएको छ, मैदानको स्तरोन्नतिका लागि यस आवमा प्रदेश र स्थानीय तहबाट करिब १ करोड बजेट आएको छ,’ मेयर गिरीले थपे, ‘अर्को संस्करणसम्म हामीले अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने प्रयास गर्नेछौं ।’
चन्द्रागिरि गोल्डकपको पहिलो संस्करण ब्राइट युथ क्लबले गरेको थियो । दोस्रो संस्करणदेखि आयोजना जिम्मा लिएको दीपशिखाले यसपल्ट पुरस्कार राशिमा वृद्धि गरेको छ । उपाधि विजेताले ६ लाख ५० हजार र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तुलसाको कीर्तिमान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली धाविका तुलसा खत्रीले महिला ४०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । चीनको वुहानमा भइरहेको सातौं सीआईएसएम मिलिटरी खेलकुदअन्तर्गत मंगलबार तुलसाले एथलेटिक्सको उक्त इभेन्टमा कीर्तिमान बनाएकी हुन् । उनले ५९.५७ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान बनाइन् ।

तुलसाले सन् २०१० मा प्रमिला रिजालले राखेको कीर्तिमान उछिनेकी हुन् । प्रमिलाले उक्त दौड ५९.९० सेकेन्डमा पूरा गरेकी थिइन् । १६ प्रतिस्पर्धीमा बहराइनकी सलवा नासेरले ५०.१५ सेकेन्डबाट स्वर्ण पदक जितिन् ।

महिला १०० मिटर दौडमा नेपालकी सरस्वती चौधरीले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । उनले १२ दशमलब ६६ सेकेन्डमा दौड पूरा गरिन् । गत सेप्टेम्बर अन्तिम साता कतारको दोहामा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपमा राखेको टाइमिङ उछिनेकी हुन् । विश्व च्याम्पियनसिपको हिटमा १२.७२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

महिला बक्सिङमा पुनम रावलले उत्तर कोरियाली प्रतिद्वन्द्वी चोइ हेइ सङसँग कडा प्रतिस्पर्धा गर्दै अंकका आधारमा ५–० ले पराजित भइन् । उनले ६० केजीमुनि लाइटवेटको क्वाटरफाइनल खेलेकी थिइन् ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT