जेसिज विकास रनिङ सिल्ड : संकटा विजयी 

रमेशकुमार पौडेल

चितवन — टाइ ब्रेकरमा जावलाखेल युथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटा क्लब जेसिज विकास रनिङ सिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ ।

जेसिज विकास रनिङ सिल्ड : संकटा विजयी 

नारायणगढ क्याम्पाचौरमा मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलको निर्धारित समयभित्र दुवै टिमले एक एक गोल गरेका थिए । टाइबेकरमा संकटाका गोल रक्षक राजाबाबु थापा नायक बने ।


खेलको १५ औं मिनेटमा संकटाका लागि जर्सी नम्बर ९ का खेलाडी विश्वास श्रेष्ठले गोल गरेर टिमलाई अग्रता दिए । जुन अग्रता संकटाले खेलको इन्जुरी समयमा गुमायो । जावलाखेल युथ क्लबले मध्यान्तरपछि खेलको अन्तिम १० मिनेट आक्रमक खेल खेल्दै संकटालाई दबाबमा राख्यो । सात मिनेट थपिएको खेलको अतिरिक्त समय (इनजुरी टाइम)मा जावलाखेलले बल्ल गोल फर्काएको हो ।


इन्जुरी समय सकिनै लाग्दा जर्सी नम्बर २१ का खेलाडी विमल घिसिङले जावलाखेलका लागि गोल गरेका हुन् । खेल एक एक गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरका लागि भएको पेनाल्टी प्रहारमा जावलाखेल चुकेको हो । दुवै टिमका सुरुका खेलाडीले प्रहार गरेको बल गोल हुन सकेन । त्यसपछि संकटाको चारजना खेलाडीको सबै प्रहार गोलमा परिणत भयो ।


तर जावलाखेलका लागि चौथो नम्बरमा पेनाल्टी हान्न आएका खेलाडी विमल घिसिङको प्रहार संकटाका गोल रक्षक राजाबाबु थापाले रोके । जसका कारण जावलाखेलले पाँचौ प्रहार नगर्दै परिणाम संकटाको पक्षमा गयो ।


महत्वपूर्ण गोल बचाएका थापा मंगलबारको खेलको प्लेयर अफ दी म्याच हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार पाए । संकटाले सेमिफाइनलमा बिहीबार नेपाल प्रहरीको सामना गर्ने छ ।


प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार त्रिभुवन आर्मी क्लब र घरेलु टोली चितवन–११ बीच हुने छ । २०३१ सालदेखि विकास सिल्ड समितिले नारायणगढ क्याम्पाचौरमा विकास रनिङ सिल्ड फुटबल प्रतियोगिता गर्दै आएको छ ।


०७४ सालमा १३ औं प्रतियोगिता भएको विकास रनिङ सिल्डको त्यसपछि अहिले नेपाल जेसीसको नारायणगढ शाखाले आयोजना गरेको छ । प्रतियोगितामा विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ सिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाइनल खेल कात्तिक ९ गते हुने छ ।

प्रकाशित : कार्तिक ५, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?