१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सन्दीप हन्ड्रेड बलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा क्रिकेटर सन्दीप लामिछानेको नयाँ गन्तव्य हन्ड्रेड बल क्रिकेट हुने भएको छ । लेग स्पिनर सन्दीपलाई ओभल इन्भिन्सिबलले आइतबार रातिको ड्राफ्टबाट लिएको हो । इंग्ल्यान्ड एवं वेल्स क्रिकेट बोर्डले सन् २०२० को जुलाईमा आयोजना गर्ने प्रतियोगितामा महिला र पुरुषको ८–८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

सन्दीप हन्ड्रेड बलमा

टम मुडीको प्रशिक्षणमा रहने इन्भिन्सिबलले सन्दीपलाई ड्राफ्टको दोस्रो चरणमा लिएको हो । सन्दीपले राखेको १ लाख पाउन्ड मूल्यलाई इन्भिन्सिबलले ड्राफ्टमा सकारेको थियो । फ्रेन्चाइज लिग क्रिकेट खेलेर सन्दीपले पाउन लागेको यो सबैभन्दा ठूलो रकम हो । उनले इंग्ल्यान्डमा खेलेर १ करोड ४७ लाख नेपाली रुपैयाँ पाउनेछन् ।


यसै वर्ष ग्लोबल क्यानडा लिग खेल्दा टोरन्टो नेसनल्सले सन्दीपलाई ६५ हजार डलर तिरेको थियो, जुन उनले यसअघि पाएको सबैभन्दा बढी रकम हो । सन्दीपले गत सिजन मेलबर्न स्टार्सबाट बिग–बास र सिलेट सिक्सर्सबाट खेल्दा समान ६० हजार डलर पाएका थिए । उनी यसपालि बिग–बासमा मेलबर्नबाट अझै ठूलो रकम लिएर खेल्दै छन् ।


हन्ड्रेड बलमा एउटा टोलीले ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । सन्दीपसँगै इन्भिन्सिबलमा वेस्ट इन्डिजका सुनील नारिन र फाबिन एलेन छन् । इंग्लिस अलराउन्डर साम कुरान टोलीका मार्की खेलाडी हुन् । ड्राफ्टमा रहे पनि वेस्ट इन्डिजका क्रिस गेल र ड्वायने ब्राभो, श्रीलंकाका लासिथ मालिङ्गा, बंगलादेशका सकिब अल–हसन, दक्षिण अफ्रिकाका कागिसो राबाडा जस्ता ठूलो नामका खेलाडीलाई कुनै टोलीले लिएनन् ।

एक इनिङ्समा १ सय बल खेलिने हन्ड्रेड बलमा पावर प्ले २५ बलको हुनेछ । त्यसमा एक ओभर १० बलको हुनेछ ।


तर बलरले ५ बल वा १० लगातार बल फाल्ने निर्णय त्यो टोलीका कप्तानको हातमा हुनेछ ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?