१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

महिला लिगमा शतकीय साझेदारी

कान्तिपुर संवाददाता

काठमाडौँ — कविता कुँवर र विन्दु रावलको जोडी महिला फ्रेन्चाइज लिग क्रिकेटमा शतकीय साझेदारी निभाउने पहिलो जोडी बनेको छ । यी दुईको १ सय ६ रन साझेदारीमा पोखरा पल्टनले वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) ट्वान्टी–२० क्रिकेटमा ललितपुर फाल्कोनलाई ६ विकेटले पराजित गरेको छ ।

महिला लिगमा शतकीय साझेदारी

यसअघि नै राउन्ड रोबिन लिगको पहिलो तीन खेल हारेर यी दुवै टोली बाहिरिइसकेका थिए । त्यसैले पल्टनका लागि यस जित सान्त्वनामात्र बन्यो । राष्ट्रिय महिला टोलीका पूर्व कप्तान नेरी थापाको नेतृत्वमा रहेको फाल्कन सबै ४ खेलमा पराजित रह्यो ।


महिला क्रिकेटको पहिलो फ्रेन्चाइज लिगमा पहिलो शतकीय साझेदारी सम्भव भएको हो । यसअघि विराटनगर टाइटन्सकी ज्योति पाण्डे र सोनु खड्काले पहिलो विकेटमा जोडेको ८३ रन प्रतियोगितामा ठूलो साझेदारी थियो ।

टस जितेको फाल्कनले ७ विकेट गुमाई १ सय २२ रन बनायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पल्टनले ५ ओभर खेल्दै गर्दा रनमै ३ विकेट गुमाइसकेको थियो । कविता र विन्दुको साझेदारीपछि पल्टनले १७.२ ओभरमै लक्ष्य पूरा गर्‍यो । विन्दु ४० रनमा नेरीको बलमा विकेटकिपर कविता जोशीबाट क्याचआउट भएपछि यो साझेदारी टुटेको हो ।


विन्दुले ४४ बल खेली ४ चौका प्रहार गरिन् । प्लेयर्स अफ द म्याच भने कविता थिइन् । उनले ४२ बलमा अविजित ६१ रन बनाउँदा १० चौका प्रहार गरिन् । ओपनरद्वय कप्तान सीता रानामगर र रेवती धामी समान १ र रुबी पोदार शून्यमा आउट भएपछि विन्दु र कविताको जोडी जमेको हो । अञ्जली चन्द ५ रनमा अविजित रहिन् ।


प्लेयर्स अफ द म्याच कविता ट्रफीसाथ


फाल्कनको इनिङ्समा ममता चौधरीले अविजित ५२ रन जोडेकी थिइन् । उनले ५१ बल खेल्दै ७ चौका प्रहार गरिन् । ओपनरद्वय गीता गोसाईं र रोशनी बोहरा समान १ रन, नेरी ८, करुणा भण्डारी १ रनमा आउट भएको अवस्थामा ममताले पाँचौं विकेटमा कविता जोशीसँग ५१ रनको साझेदारी गरिन् । कविताले २३ बलमा ६ चौकासहित ३१ रन बनाइन् । सम्झना खड्काले १० रन जोडिन् । पल्टनकी सीता रानामगरले २ तथा नविना खड्का, अञ्जली र राजमति ऐरीले १–१ विकेट लिए ।


मंगलबार एकमात्र प्लेअफमा क्याट क्विन्स काठमाडौं र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले चितवन राइनोजसँग बिहीबार फाइनल खेल्नेछ ।


प्रकाशित : कार्तिक ५, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?