मुख्य चिन्ता ‘भीआईपी प्यारापिट’

कुशल तिमल्सिना

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य खेलस्थल (उद्घाटन/समापन) को रूपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई प्रयोग गर्ने तयारी छ । साग तयारीका लागि अब थोरै दिनमात्र छ । मंसिर १५ देखि २४ सम्म सागको मिति तय छ ।

त्यसअघि मंसिर ३ गते विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतसँगको खेल सोही रंगशालामा खेलाउनुपर्नेछ । भूकम्पपछि पुनर्निर्माण चरणमा रहेको दशरथ रंगशाला निर्धारित समयसम्म तयार हुनेमा अझै विश्वस्त हुन सकिएको छैन । अन्य कामहरू लगभग अन्तिम चरणमा पुगिसकेको छ । अबको मुख्य चिन्ता निर्माणाधीन भीआईपी प्यारापिटतर्फको छ ।

पश्चिमतर्फ अवस्थित करिब ३ हजार दर्शक क्षमताको भीआईपी प्यारापिटको ‘सिमेन्टेड’ छानो २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले जीर्ण बनाएपछि दशरथ रंगशाला बन्द छ । राष्ट्रिय खेलकुद परिषद्ले भीआईपी प्यारापिटका लागि अत्याधुनिक फ्याब्रिक प्रणाली प्रयोग गर्दैछ । यही फ्याब्रिक छानो मंसिर ३ गतेअगाडि नै दशरथ रंगशालामा फिट गर्न सकिनेमा शंका छ । किनभने चीनबाट आउनुपर्ने यो छानो अहिलेसम्म नेपाल आइपुगेको छैन ।

परिषद् सदस्य–सचिव रमेशकुमार सिलवालले असोज १४ मा विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया जान लागेको राष्ट्रिय फुटबल टोलीको बिदाइका बेला भनेका थिए, ‘रंगशालाकै समस्याले तपाईहरूले सुरुका चारै खेल अवे खेल्नुपर्‍यो । मंसिर ३ मा कुवेतसँग हुने खेल त्रिपाल टाँगेरै भए पनि दशरथ रंगशालामा खेलाउँछु ।’

राखेपका प्रमुख इन्जिनियर अरुण उपाध्यायका अनुसार फ्याब्रिकबाहेक चीनबाट आउनुपर्ने कुर्सी नेपाली भन्सारमा आइसकेको छ । भारतबाट फलामे पोलहरू आइसकेको छ, त्यसलाई ‘फ्रेम’ बनाउने काम भइरहेको छ । ‘अबको दुई सातामा हामीले प्यारापिटमाथि फलामका फ्रेम जोडिसक्नेछौं, फ्र्याब्रिक आएपछि सागअगावै सम्पन्न गर्नेगरी काम भइरहेको छ,’ उनले थपे, ‘हामीले मंसिर ३ को मितिका लागि रंगशाला तयार गर्नुपर्छ भनेर ठेकेदारलाई दबाब दिएका छैनौं ।’

राखेपको मुख्य चिन्ता पनि यही प्यारापिटको मात्र हो । चेन्जिङ कक्ष, मिडिया बक्स र सेन्टर, मेडिकल र डोपिङ कक्ष तथा रेफ्री कक्ष करिब करिब तयार भइसकेका छन् । पूर्व फिफा रेफ्री तथा मैदान विशेषज्ञ दिलीप रजकको नेतृत्वमा मैदान तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । चीनको सहयोगमा बनेको स्कोर बोर्ड र साउन्ड सिस्टमको काम पनि सम्पन्न हुने चरणमा छन् । चीनको सहयोगमा एथलेटिक्स ट्र्याक निर्माण समपन्न भइसकेको छ ।

‘रंगशालाका लागि अहिले ५ सयको हाराहारीमा कामदार परिचालन गरिएको छ । रंग लगाउने र फलामको फ्रेम तयार पार्ने काम एक सातामा सकिन्छ, इन्टेरियरको काम र मैदान तयार गर्ने काम भइरहेको छ,’ सदस्य–सचिव सिलवालले भने, ‘यही मसान्तसम्ममा रंगशाला तयार हुन्छ, शंका गर्नुपर्दैन ।’ सदस्य–सचिवको टाइमलाइनअनुसार अहिलेसम्म एउटा काम पनि समयमा सम्पन्न भएको छैन । चीनबाट अक्टोबर १० मा कुर्सी र १७ मा फ्याब्रिक आउने भनिए पनि अहिलेसम्म दुवै सामान आइपुगेको छैन ।

‘साधारण प्यारापिटतर्फ ११ हजार ४ सय र भीआईपीका लागि ४ हजार कुर्सी वीरगन्ज भन्सारमा आइसकेको छ । भोलि या पर्सीसम्म काठमाडौं ल्याइनेछ र साधारण प्यारापिटतर्फ १० दिनभित्र फिट सकिनेछ,’ उनले थपे, ‘फ्याब्रिक सुरुमा पानीजहाजबाट ल्याउने तयारी थियो, कम समयलाई मध्यनजर गरी हामीले हवाईजहाजबाट ल्याउने भएका छौं, १० दिनजतिमा सबै सामान काठमाडौं आइसक्छ ।’ भीआईपी प्यारापिटमा कुर्सी जडान गर्ने काम भने छानो राखेपछि मात्रै हुनेछ ।

सदस्य–सचिवले रंगशाला मौलिक शैली देखाउन उत्तर–पश्चिम कुनामा हिमाल, पहाड र तराई झल्कने सांकेतिक संरचना बनाउने बताएका छन् । ‘यो संरचनाको निर्माण कार्य सुरु भइसकेको छ । त्यहाँ ढुंगेधारा निर्माण हुनेछ, रंगशालाको त्यही कुनामा झण्डोत्तोलन गर्ने भाग राखिनेछ,’ सिलवालले भने ।

‘मैदानको चिन्ता नगर्नुस्’
मैदान विशेषज्ञ रजकले आफ्नो नेतृत्वमा रहेको मैदान निर्माण समयअगावै सम्पन्न गरी हस्तान्तरण गरिने बताएका छन् । उनले भदौ १६ देखि मैदानको काम सुरु गरेका हुन् । डेढ महिनाको अवधिमा दशरथ रंगशालाको मैदान खेल्नयोग्य बनिसकेको छ । यसलाई स्तरीय बनाएर कात्तिक २० सम्म हस्तान्तरण गर्ने गरी तयारी भइरहेको उनले बताए ।

‘दुई महिना अगाडिदेखि जिम्मेवारी पाएको भए म यस मैदानलाई अन्तर्राष्ट्रिय रूपमै सर्वोत्कृष्ट बनाउन सक्थें । ५ वर्षदेखि जंगलको रूपमा रहेको घाँस काट्नै झन्डै एक महिना लाग्यो,’ उनले भने, ‘दसैंअघि रोलर गरेर छाडेको थिएँ अहिले दूबो राम्रोसँग पलाएको छ, दूबो नभएको ठाउँमा नयाँ दूबो रोपिएको छ, तिहारपछि अर्को एकपल्ट रोलर लगाएपछि मैदान तयार हुन्छ ।’

रंगशालामा १५ जना कामदारले डेढ महिनादेखि काम गरिरहेका छन्, उनीहरूको संयोजन रजकको जिम्मामा छ । उनले भने, ‘चिसो बढ्न थालेपछि दूबो हुर्काउन कठिन हुन्छ । अहिले दूबो रोप्ने काम भइरहेको छ र हामीलाई अहिले हुर्काउने चुनौती छ, दूबोलाई शीतबाट जोगाएर ३ साताभित्र मैदान तयार बनाउने छौं ।’

रंगशाला पुनर्निर्माणका क्रममा मैदानमै निर्माण सामग्री थुपार्ने, टिपर तथा स्काभेटर मैदानमै गुडाउने र सिन्थेटिक ट्र्याक बनाउँदा केमिकल भण्डारण गर्नेजस्ता लापरबाहीले मैदानको सतह बिग्रिएकोमा रजकको गुनासो छ । उनले सतह समान बनाउन समय नभएको प्रस्ट पारे । ‘प्राविधिक रूपमा सतह केही खराब हुन्छ तर प्रस्ट देखिने र खेल्नै नमिल्ने चाहिँ होइन,’ रजकले भने ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यसकारण दिए कप्तानबाट पारसले राजीनामा

कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का मंगलबार मध्याह्न इमेलमार्फत कप्तान पदबाट राजीनामा दिएको सार्वजनिक गरे । लगत्तै उनले सामाजिक सन्जालबाट पनि त्यसबारे जानकारी गराए । सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो । 


१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ । कप्तानबाट बाहिर्गमन भए पनि खेलाडीको रूपमा करिअरलाई निरन्तरता दिने र जीवनभर क्रिकेटमै रहिरहने प्रतिबद्धता पारसले मंगलबार दिउँसो अनौपचारिक पत्रकार सम्मेलनमा गरे । क्रिकेट विकासका लागि कप्तान पद गौण रहेको भन्दै सबैले आ–आफ्नो जिम्मेवारी पूर्णत: निभाउन सके नेपाली क्रिकेटले अझै ठूलो उपलब्धि हासिल गर्ने उनको भनाइ छ । त्यो भनेको टेस्ट मान्यता हो । पत्रकार सम्मेलनमा पारसले दिएको अभिव्यक्तिको सारसंक्षेप :

राष्ट्रिय क्रिकेट टोलीमा सन् २००४ मा छनोट भएपछि २००९ देखि कप्तानी भूमिकामा छु । कप्तानका भएको पनि १० वर्ष भइसकेछ । मेरो यो निर्णय हठात आएको होइन । उत्कृष्ट अवस्थामै बहिर्गमनको चाहना थियो । एउटा खेल हारे वा जितेमा कप्तानी वा खेलजीवनबाट संन्यासबारे मैले कहिल्यै सोचिनँ । मैले सधैं एउटा खेलाडीका रूपमा टिमलाई पहिलो प्राथमिकता दिएँ । सधैं जितको सोच बनाएँ । अहिलेको घटनाक्रम हेर्दा, हिजोमात्रै क्यान निलम्बन फुकुवा भयो । म आफैं पनि निलम्बन चाँडै खुलोस् भनेर प्रतीक्षा गरिरहेको थिएँ । मैले आफ्ना नजिकका शुभचिन्तकसँगको सल्लाहमा के ठीक, के बेठीक हो भनी सोधेर गरेको निर्णय हो । यो रातारात आएको होइन ।

क्रिकेट मेरो लगाव हो । यसमा म कहिल्यै सम्झौता गर्ने छैन । कप्तानको रूपमा बहिर्गमनको यो नै उपयुक्त समय हो । किनभने नयाँ नेतृत्व आएको छ । उहाँहरूलाई उपयुक्त व्यक्तिमा कप्तानीको जिम्मेवारी सुम्पने दायित्य रहनेछ । मेरो आवश्यकता परेको खण्डमा खेलाडीको रूपमा म सधैं उपलब्ध हुनेछु । कप्तानीबाट बाहिरिनु मेरा लागि कठिन निर्णय थिएन, मात्र आईसीसीको निलम्बन फुकुवा कुरिरहेको थिएँ ।

म खेलाडीमा योगदान जारी राख्न चाहन्छु । तर केही समय विश्राम चाहन्छु । किनभने मैले पछिल्लो समय कप्तानको मात्र नभएर मेन्टर, सेलेक्टर र मैदानको प्रदर्शनको जिम्मेवारी पनि निर्वाह गर्नुपरेको थियो । विश्राम कति लामो हुनेछ भन्ने निर्णय सेलेक्सन कमिटी र प्रशिक्षकको हुनेछ । नयाँ कप्तानको रूपमा जो आए पनि उत्कृष्ट आउनेछ भन्ने अपेक्षा गरेको छु । उसका लागि मेरो साथ र सहयोग सदैव रहनेछ । अहिलेको स्थितिमा उपकप्तान ज्ञानेन्द्र मल्लले कम्तीमा एक वर्ष कप्तानी गर्नुपर्छ जस्तो लाग्छ । किनभने ऊ धेरै सिनियर खेलाडी हो । त्यसपछिको निर्णय क्यानले गर्नेछ ।

हाम्रो चासो भनेको को अध्यक्ष बन्यो वा को कप्तान बन्यो ? भन्दा पनि नेपाली क्रिकेट अगाडि बढ्न संस्थागत सहकार्य र जिम्मेवारीबोध हुनुपर्छ । मैदानबाहिर नयाँ नेतृत्व आएको छ । मैदानभित्र हामी हुन्छौं । सबै मिलेर नयाँ सुरुआत गर्नुपर्छ । आगामी दिनहरू धेरै चुनौतीपूर्ण छन् र सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नेछन् भन्ने आस गर्छु ।

नयाँ कप्तान को बन्छ भन्ने मेरो निर्णय हुन सक्दैन । म आफैं पनि कप्तान बन्दा तपाई कप्तान बन्दै हुनुहुन्छ भनेर पूर्वसूचना दिइएको थिएन । त्यो भनेको संघ र प्रशिक्षकले निर्णय गर्ने हो । नेपाल क्रिकेट अहिले जहाँ छ, खेलाडी र प्रशिक्षकको ठूलो भूमिकाकै कारणले छ । म कप्तान भएर यहाँ आइपुगेको होइन । म नहुँदा खत्तम हुने पनि होइन । कप्तान जोसुकै होस्, पदाधिकारी जोसुकै हो र खेलाडी तथा प्रशिक्षक जोसुकै होस्, सबैको सोच नेपाल क्रिकेट अगाडि बढाउने हुनुपर्छ । यस्तो भएमा नेपाली क्रिकेटले अहिलेभन्दा राम्रो प्रगति गर्नेछ ।

१० वर्षे मेरो कप्तानी यात्रामा खेलाडी र प्रशिक्षकको साथ/सहयोग महत्त्वपूर्ण रह्यो । तीन विदेशीसहित ४ प्रशिक्षकमातहत काम गर्ने अवसर पाएँ । रोय डायस, पुबुदु दासानायके, उमेश पटवाल र जगत टमाटा सबैले कप्तानको रूपमा मलाई धेरै सहयोग गर्नुभयो । हाम्रो एउटा प्रस्ट दृष्टिकोण नेपाली क्रिकेट माथि पुर्‍याउने नै थियो । यसमा खेलाडीले असीमित साथ दिए । सबैको सामूहिक र सकारात्मक साथले यहाँसम्म आएका हौं । व्यक्तिगत रूपमा म निकै भाग्यमानी महसुस गरिरहेको छु । मैले सपनामा पनि सोचेको थिइनँ कि मैले देशका लागि क्रिकेट खेल्नेछु । भाग्यमा लेखेको कुरा पुगेरै छाड्छ, राष्ट्रिय टिम हुँदै नेतृत्व गर्ने अवसर पनि पाएँ । यो एउटा अविश्वसनीय यात्रा थियो । त्यो कुनै न कुनै दिन अन्त्य हुनु नै थियो ।

यदि हामी आफ्नो जिम्मेवारी पूर्णत: निर्वाह गर्न सक्यौं भयो हामीले हाम्रो अन्तिम गन्तव्य छिट्टै भेट्ने छौं । त्यो भनेको टेस्ट मान्यता हो । आफ्नो कप्तानी कार्यकालमा ट्वान्टी–२० विश्वकप खेल्नु र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनु मेरा लागि सबैभन्दा खुसीको क्षण हो । हरेक हारेको खेल दु:खको क्षण हुन्छ ।

यस खेलले मलाई सबैथोक दिएको छ । जति मैले सोचेको थिएँ वा सपना देखेको थिएँ । जीवन रहेसम्म म आफ्नो सबै कुरा नेपाली क्रिकेटका लागि दिनेछु । म कहिल्यै क्रिकेटबाट बाहिरिने छैन । जस्तोसुकै भूमिकामा भए पनि यहीँ रहनेछु ।

क्यानको नयाँ नेतृत्वसँग मेरो कुरा भएको छैन । चुनावका बेला पनि हामी यहाँ थिएनौं । क्यान निलम्बनमा परेदेखि नै क्यानका मान्छेहरूसँग कुरा भएको छैन । हामीले आईसीसीसँग समन्वय गर्ने गरेका थियौं । हामी खेलाडी र प्रशिक्षकले आवश्यक कुराहरू यसअघि नै मागे राखेका थियौं । पारस खड्का भनेको नेपाली क्रिकेट होइन, यहाँ थुप्रै राम्रा खेलाडी छन् । मैले अवसर पाएँ, प्रदर्शन गरें र अहिले यहाँ छु । व्यक्तिमा अड्किने हो भने हामी अगाडि बढ्न सक्दैनौं ।

भविष्यमा नेपाल क्रिकेट संघ वा बोर्ड जे हुन्छ त्यसको नेतृत्व गर्ने सोचेको छु । तर सोचेजस्तो सजिलो छैन । त्यसका लागि नयाँ संरचनामा आफूलाई ढाल्नुपर्छ । अहिलेसम्म म खेलाडी छु, पदाधिकारी भएर आउने हो भने मैले क्रिकेट विकासका लागि योजनासहितको काम गर्नुपर्छ । आज पारस कप्तान भयो भनेर भोलि संघको अध्यक्ष हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसका लागि काम गर्नुपर्छ । मेरो कामको मूल्यांकनले नै भविष्य निर्धारण गर्नेछ ।


ज्ञानेन्द्र मल्ल, उपकप्तान
राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले पारसको व्यक्तिगत निर्णयको सम्मान गर्नुपर्ने बताए । ‘ऊ जतिको मान्छेले यति ठूलो निर्णय लिनु भनेको धेरै सोचे सम्झेर गरेको हुनुपर्छ । मेरो विचारमा हामीले र व्यक्तिगत रूपमा मैले उसको निर्णयको सम्मान गर्नुपर्छ ।’

पारसको कप्तानी अवधिभर उपकप्तानको भूमिकामा रहेका ज्ञानेन्द्रले व्यक्तिगत रूपमा पारसलाई एक पूर्ण नेतामा मूल्यांकन गरे । साथै भविष्यमा उनको कप्तानी ‘मिस’ गर्ने पनि बताए । ‘हामीले जतिबेला क्रिकेट सुरुआत गरेका थियौं, त्यतिबेला केही थिएन । क्रिकेटको पूर्वाधार र प्रतियोगिता नै थिएन र यसको लोकप्रियता शून्यप्राय: थियो,’ उनले भने, ‘हामीले त्यतिबेलैदेखि लिएको संकल्प के थियो भने जबसम्म टिमको प्रदर्शन राम्रो हुँदैन तबसम्म नेपालमा क्रिकेट विकास हुँदैन र यसको प्रचार पनि हुँदैन । सौभाग्यवश हामी दुईले कप्तान/उपकप्तानको जिम्मेवारी लिएयता नेपाली क्रिकेटमा कायपलट नै भयो, यसर्थ हामी आफ्नो लक्ष्यमा सफल भएको जस्तो लाग्छ ।’

‘हरेक खेलमा एउटा उदाहरण बनेर सबैको मार्गदर्शकका रूपमा पारस एउटा टिमको रोलमोडल नै हो, मैदानभित्र र बाहिर पनि । टिमको असल नेता, राम्रो मान्छे, सहयोगी भावना र युवालाई प्रोत्साहित गर्ने,’ पारससँगको सहकार्य अनुभवबारे ज्ञानेन्द्रले भने । पत्रकार भेटघाटमा पारसले ज्ञानेन्द्रले आफ्नो प्रतिस्थापन गर्नसक्ने बताएका थिए । ‘१० वर्षदेखि पारस कप्तान र म उपकप्तानमा रहयौं । उसको अनुपस्थितिमा कतिपय खेलमा मैले कप्तानी गरिसकेको अवस्थामा मलाई त्यो नौलो कुरा होइन । पारसले त्यो भन्नु मेरा लागि राम्रो हो र म तयार पनि छु । तर कप्तानको जिम्मेवारी क्रिकेट संघ, छनोट समिति र प्रशिक्षकले दिने कुरा हो ।’

सन्दीप लामिछाने, खेलाडी
पारसको राजीनामा सार्वजनिक भएपछि राष्ट्रिय टोलीका स्टार बलर सन्दीप लामिछानेले सामाजिक सन्जालमार्फत कप्तानसँगको सहकार्यको स्मरण गरेका छन् । पारसबारे आफ्नो प्रेरणास्रोत रहेको भन्दै उनले लेखेका छन्, ‘तपाईले विगतका वर्षहरूमा मलाई र धेरै युवालाई प्रेरित गर्नुभयो र हामीलाई यो सुन्दर खेलको सम्मान गर्न सिकाउनुभयो । तपाईको नेतृत्वमा नेपाली क्रिकेट यस्तो स्थानमा पुगेको छ जुन कहिल्यै पनि पुग्न सकेको थिएन ।’

सन्दीपले पारसले धेरै वर्षसम्म राष्ट्रिय टोलीका लागि योगदान निरन्तर राखेको हेर्न चाहेको पनि बताएका छन् । ‘तपाईको भविष्यका लागि शुभकामना र हामी तपाईले सकेसम्म धेरै वर्ष नेपालको प्रतिनिधित्व गरेको हेर्न चाहन्छौं, तपाई साँच्चै महान हुनुहुन्छ र सधैं हाम्रो प्रेरणा हुनुहुन्छ, तपाई वास्तविक कप्तान हुनुहुन्छ ।’

चतुरबहादुर चन्द, क्यान, अध्यक्ष
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पारसको राजीनामाबाट आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । तर उनले आधिकारिक रूपमा आफूलाई थाहा नभएको, संचारमाध्यम र सामाजिक सन्जालमार्फत जानकारी भएको बताएका छन् ।

‘आधिकारिक रूपमा त जानकारी भएको छैन तर हिजोमात्रै साढे ३ वर्षको कालो बादल हटेर समग्र नेपाली क्रिकेट समर्थकमाझ खुसीको संचार भएको समयमा यस्तो ठूलो निर्णय पारसबाट नआएको भए हुन्थ्यो भन्ने मेरो व्यक्तिगत धारणा हो,’ अध्यक्ष चन्दले कान्तिपुरसँग भने ।

पारसको राजीनामासँग नयाँ कार्यसमितिको भूमिकाको रूपमा नहेर्न पनि उनले सबैमा आग्रह गरेका छन् । चन्दले भने, ‘मानिसहरूले पारसको राजीनामा केही विवादास्पद रूपमा पनि हेरे । तर म के प्रस्ट पार्न चाहन्छु भने नयाँ कार्यसमितिसँगको मतभेदका कारण यो घटनाक्रमको विकास भएको होइन । विगतका कुरा बिर्सेर नेपाली क्रिकेटको भविष्यका लागि अगाडि बढ्दा हामीलाई कुनै समस्या नहुनुपर्ने हो । उहाँले हामीसँग कुनै छलफल पनि गर्नुभएको छैन ।’ अध्यक्ष चन्दले नयाँ कप्तानको छनोट प्रक्रिया क्यानको बैठकले निर्धारण गर्ने पनि जानकारी दिए । ‘हामीलाई आधिकारिक जानकारी आएपछि संघको बैठकमा त्यसबारे छलफल हुन्छ,’ उनले भने ।

आईसीसीले क्यान निलम्बन ससर्त फुकुवा गरेको थियो । यसबीचमा आफूहरूले पालना गर्नुपर्ने सर्तबारे पनि कुनै जानकारी आइनसकेको अध्यक्ष चन्दले बताए । यस्तोमा कप्तान चयनमा पनि अन्योल हुनसक्छ । चन्दले भने, ‘नयाँ विधानअनुसार टेक्निकल कमिटी, खेलाडी छनोट कमिटी बन्न बाँकी छ । त्यसैले नयाँ निर्णय गर्नेछ, उहाँ (पारस) सँगै सल्लाह गरेर मात्र निर्णय लिनेछौं । पारसमा नेपालको ठूलो लगानी छ, उहाँले पनि त्यहीअनुसा। प्रतिफल दिनुभएको छ । उहाँको योगदानको मूल्यांकन गर्नेछौं ।’

कप्तानीमा पारसको मुख्य उपलब्धि
२००९ नोभेम्बरमा एसीसी ट्वान्टी–२० प्रतियोगितामा कप्तानी जिम्मेवारी
२०१० विश्व क्रिकेट लिग डिभिजन–५ उपाधि
२०११ एसीसी ट्वान्टी–२० कपमा सेमिफाइनल
२०१२ विश्व क्रिकेट लिग डिभिजन–४ उपाधि
२०१२ ट्वान्टी–२० विश्वकप छनोटमा सातौं
२०१३ विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि
२०१३ एसीसी ट्वान्टी–२० फाइनल
२०१३ विश्वकप छनोटमा तेस्रो भएपछि विश्वकपमा ऐतिहासिक छनोट

२०१४ ट्वान्टी–२० विश्वकपमा अफगानिस्तान र हङकङलाई हराए पनि बंगलादेशसँग पराजित, समूहबाटै बाहिर
२०१४ एकदिवसीय विश्वकप छनोटमा नवौं हुँदै डिभिजन २ बाट रेलिगेसन
२०१४ विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि
२०१५ देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप
२०१७ विश्व क्रिकेट लिग डिभिजन–२ फाइनल
२०१८ एकदिवसीय विश्वकप छनोटमार्फत ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता
२०१९ ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित हुँदै बाहिर

प्रकाशित : आश्विन २९, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT