भावी कार्यक्रम बनाउन समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको पहिलो बैठकले क्यानको भावी कार्यक्रम बनाउनका लागि विभिन्न समिति गठन गरेको छ । ठीक एक महिनाअघि चतुरबहादुर चन्दलाई अध्यक्षमा चुन्दै क्यानको निर्वाचित साधरणसभा सम्पन्न भएको थियो । 

भावी कार्यक्रम बनाउन समिति

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले केही दिनअघि मात्र क्यानलाई लगाएको निलम्बन ससर्त फुकुवा गरेको थियो । त्यसलगत्तै क्यानको कार्यसमिति बैठकले विभिन्न कार्यक्रम प्रस्तुत गरेको हो । आईसीसीले निलम्बन फुकुवा गरे पनि आर्थिक पक्षको बारेमा अझै नखुलाएकाले कार्यलय सञ्चालनको अवस्थामा कठिनाइ रहेको क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले जनाए ।


क्यानको बैठकले प्राविधिक, प्रतियोगिता, मिडिया र आर्थिक समिति गठन गरेको छ । त्यसमध्ये प्राविधिक, प्रतियोगिता र आर्थिक समितिले क्यानको १ वर्षको भावी योजना कार्यक्रम बनाउने प्याकुर्‍यालले बताए । क्यानका सदस्य सञ्जयराज सिंहलाई प्राविधिक, प्रशान्त मल्ललाई प्रतियोगिता र कोषाध्यक्ष रोशन सिंहलाई आर्थिक समितिको संयोजक तोकिएको छ । प्राविधिक समिति ५ सदस्य हुनेछ र त्यसमा संघभित्रका ३ र बाहिरका २ जना बस्न पाउनेछन् ।


प्रतियोगिता समिति पनि ५ सदस्यीय र आर्थिक समिति ३ सदस्यीय हुनेछ । त्यस्तै प्याकुर्‍यालको संयोजकत्वमा मिडिया समिति हुनेछ र उनी स्वयं क्यानको प्रवक्ता हुनेछन् । अध्यक्ष, महासचिव र कोषाध्यक्षको हस्ताक्षरमा क्यानको खाता सञ्चालन हुनेछ । आर्थिक वर्ष २०१४/१५ को अडिट रिपोर्टलाई साधारणसभामा अनुमोदनका लागि पठाइने भएको छ ।


क्यानको निर्वाचनअघि सार्वजनिक प्रतिवेदनमा बेरुजु देखिएपछि क्यानका तत्कालिन पदाधिकारीहरू उत्तम कर्माचार्य, दिवाकर घले, नरेश श्रेष्ठ, शैलेश चौधरी, रतन कठायत, किरण राणा, सुनीलसिंह हमाललगायत प्रतिनिधि बन्नबाट रोकिएका थिए ।


पारसको राजीनामा !

नेपाल क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले दिएको राजीनामाका बारेमा बैठकले ठोस निर्णय लिन सकेन । आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्ट पारसले कप्तान पदत्याग गरेका थिए ।


‘पारसको राजीनामाको विषयमा बैठकमा छलफल भएको थियो । हामीले आधिकारिक रूपमा उनको राजीनामा पाएका छैनौं । मिडियामा उनको राजीनामा आएपछि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मिडियामा आएको विषयलाई हामीले आधार मान्ने कुरा भएन,’ प्याकुर्‍यालले भने, ‘राजीनामा क्यानलाई जानकारी दिनुपर्ने हो । क्यान निलम्बन हुँदा राजीनामा कहाँ दिने भनेर अन्योल भएको हुन सक्छ ।’


इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबले गर्न लागेको नेपाल भ्रमणको बारेमा पनि क्यान बैठकले ठोस निर्णय लिन नसकेको प्याकुर्‍यालले जनाए । उनका अनुसार नोभेम्बर ३ मा एमसीसी नेपाल आउने भनिए पनि आफूहरूलाई त्यसबारेमा कुनै आधाकारिक जानकारी दिइएको छैन ।


आईसीसीले प्रोजेक्ट म्यानेजरमा नियुक्त गरेका रौनक मल्लको बारेमा पनि क्यानले कुनै निर्णय लिन सकेन । नेपाली यू–१९ टोली भारत भ्रमणमा र यू–१९ टोली चीन भ्रमणमा जाँदै छ । दुवै टोलीले नोभेम्बर ३ बाट सुरु हुने प्रतियोगितामा खेल्ने छन् । त्यसको संयोजन मल्लले गर्ने भनेर आईसीसीले तोकेको छ । ‘मल्लको भुमिका के हो भनेर हामी अझै अस्पष्ट छौं, आईसीसीलाई उनको भूमिकाबारेमा सोधेका पनि छौं,’ प्याकुर्‍यालले भने ।


बैठकले क्यानको निलम्बन फुकुवा गर्न भूमिका खेल्ने आईसीसी, राष्ट्रिय खेलकुद परिषद् सबैलाई धन्यवाद दिएको छ । प्याकुर्‍यालले क्यान सञ्चालन गर्ने विषयमा जोड दिएको जनाउँदै भने, ‘क्यानका कर्मचारीले ३ वर्षदेखि तलब पाएका छैनन । त्यसैले कार्यालय सञ्चलानलाई

प्राथमिकतामा राखेका छौं ।’

प्रकाशित : कार्तिक ४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?