कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रिय फुटसल टिमको प्रारम्भिक सूचीमै नभएका खेलाडी इरान पुगे

राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक छनोटको सूचीमै नरहेका खेलाडीलाई राष्ट्रिय टिममा समावेश गर्दै एएफसी फुटसल च्याम्पियनसिप २०२० छनोटमा प्रतिस्पर्धा गर्न इरान पठाएको छ ।

राष्ट्रिय फुटसल टिमको प्रारम्भिक सूचीमै नभएका खेलाडी इरान पुगे

एन्फाले व्यक्तिगत रूपमा नाम दर्ता गरेर ५ दिनको ट्रेनिङ–ट्रायलपछि १ भदौमा ३२ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । त्यो सूचीमा नरहेका संजोग चाम्लिङ राईलाई समावेश गर्दै एन्फाले राष्ट्रिय फुटसल टिमलाई आइतबार इरान पठाएको हो । प्रारम्भिक सूचीको वैकल्पिकमा पाँच खेलाडीको नाम पनि सार्वजनिक गरिएको थियो । एन्फाले त्यो प्रारम्भिक सूचीका खेलाडीलाई बेवास्ता गर्दै वैकल्पिकमा रहेका एरुज सिंह र सुरज गुरुङलाई पनि १४ सदस्यीय राष्ट्रिय टिममा राख्यो ।


मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतद्वारा हस्ताक्षरित १४ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा पनि एन्फाले विजया दशमी (२१ असोज) को दिन गरेको थियो । प्रारम्भिक सूचीमा नभएका खेलाडीलाई राष्ट्रिय टिममा समावेश गरिएकोबारे मुख्य प्रशिक्षक विष्णु गुरुङले भने, ‘एरुज यू–१९ फुटबल टिमको क्याम्पमा थिए । त्यसबाट फर्केपछि उनलाई टिममा समावेश गरिएको हो ।’


‘संजोग र सुरजको पहिलो चरणको छनोटमा नाम छुटेको थियो । तर, उनीहरूको प्रदर्शन पहिलो दिनदेखि अन्तिम दिनसम्म पनि राम्रो थियो,’ मुख्य प्रशिक्षक गुरुङले भने, ‘पोखराका विजय श्रेष्ठ र पुलिसका सुमन लामा प्रारम्भिक सूचीमा नाम भए पनि ट्रेनिङमा आएनन् । त्यसैले संजोग र सुरजलाई छनोट गरिएको हो, सम्भावना भएका खेलाडीहरूलाई अवसर दिइएको हो ।’


यसबारे एन्फाका उपाध्यक्ष एवं प्राविधिक समितिका प्रमुख कृष्ण थापाले भने, ‘फुटसल टिमको छनोटबारे प्राविधि समितिलाई कुनै जानकारी आएको छैन, के भएको हो थाहा भएन ।’


विष्णु र गौरवसँगै ११ प्रशिक्षकले प्रारम्भिक चरणमा खेलाडी छनोट गरेका थिए । त्यसपछि फुटसलको ‘लेवल १’ कोचिङ कोर्स गरेका विष्णुलाई एन्फाले फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यस बेला उनको नियुक्तिको विरोध गर्दै एन्फामा महिला यू–१५ टिमको मुख्य प्रशिक्षक रहेका राकेश श्रेष्ठ, राजेश शाही, सरोज थापा, नरेश श्रेष्ठ, दीपक भुसाल, चेतन घिमिरे, विक्रम महर्जन, पुरुषोत्तम थापा र चक्र तामाङले ‘जुनियरलाई अवसर दिएको’ भन्दै विज्ञप्ति जारी गरेको थियो ।


एरुज गत वर्षको एसियाली च्याम्पियनसिप पनि खेलेका थिए भने संजोग र सुरज पहिलोपल्ट राष्ट्रिय टिममा स्थान पाएका हुन् । अनिश श्रेष्ठ, सुमित आले, अभय राणा, विनोद गुरुङ, मणि लामा र निर्मल गुरुङले पनि पछिल्लो संस्करणको एसियाली छनोट खेलेका थिए । सरोज तामाङ, आदिल हामिद, विजय श्रेष्ठ, विजय गुरुङ र आशिष लामा राष्ट्रिय टिमका नयाँ सदस्य हुन् । राष्ट्रिय फुटबल टिमका पूर्वविंगर विजय गुरुङलाई फुटसल टिमको कप्तान बनाइएको छ ।


एएफसी फुटबल च्याम्पियनसिप २०२० तुर्कमेनिस्तानमा फेब्रुअरी–मार्चमा हुँदै छ । त्यसमा आयोजकसहित १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसैका लागि हुने छनोटमा प्रतिस्पर्धा गर्न नेपाली टिम आइतबार इरान प्रस्थान गरेको छ । मध्य तथा दक्षिण एसियाली क्षेत्रको छनोटमा नेपालले उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । इरानको उर्मियामा हुने छनोटको पहिलो खेलमा नेपालले बुधबार ताजकिस्तानको सामना गर्नेछ ।


प्रारम्भिक सूची : सुमित आले, नेशबहादुर श्रेष्ठ, अनिश श्रेष्ठ, रविचन्द्र थापा, नवीन लामा, आदिल हामिद, विजय श्रेष्ठ, विनोद गुरुङ, आशिष लामा, अमित लामा, दीपेश घले, निर्मल गुरुङ, अभय राणा, विजय गुरुङ, आशिष कपाली, सन्दीप कार्की, विश्वजित राई, एलिक तामाङ, जेनिश प्रजापति, मणि लामा, सरोज तामाङ, प्रवेश जोशी, दीपेश श्रेष्ठ, रुपेश क्षत्री, कृजल खड्का, उर्जेन श्रेष्ठ, रफी महर्जन, मनिष सेढाईं, मिसन लामा, सन्जय राजवाहक, विजय बोहरा, हिमसैल जीसी


वैकल्पिक : मनोज तामाङ, सुरज गुरुङ, विजय श्रेष्ठ, एरुज सिंह, सुसन श्रेष्ठ


इरानतर्फ उडेको राष्ट्रिय टिम : अनिश श्रेष्ठ, सुमित आले, संजोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हामिद, अभय राणा, एरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सुरज गुरुङ, विनोद लामा, आशिष लामा, मणि लामा, निर्मल गुरुङ


प्रकाशित : कार्तिक ४, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?