कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बुटवल विजयी

कान्तिपुर संवाददाता

रूपन्देही — रूपन्देहीको तिलोत्तमामा जारी सर्वोत्तम सिमेन्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा बुटवल युनाइटेडले तिनाउ टाइटन्सलाई १३ रनले पराजित गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रनको योगफल खडा गरेको थियो । मृनल गुरुङले ५२ बलमा सर्वाधिक ४५ रन बनाए । मैनुद्धिन खानले ३०, अमित तामाङले ११ तथा प्रनित थापामगरले १० रनको योगदान गरे । बलिङतर्फ तिनाउका सुवास विकले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए । अर्जुन गिरी र सन्दीप जोराले समान १/१ विकेट लिए ।


जवाफमा तिनाउले अन्तिम बलमा सबै विकेट गुमाएर १ सय २८ मात्र बनाउन सक्यो । उसका लागि सन्दीप जोराले २९ रनबाहेक अन्यले अपेक्षाकृत रन बटुल्न सकेनन् । अजयकुमार लुनियाले २३, मानबहादुर थापाले १६, राजु साहनीले १५, कप्तान प्रकाश केसीले १४ र अर्जुन गिरीले १० रन बनाएका थिए । बिलिङमा बुटवलका मैनुद्धिन खान र राहुल प्रजापतिले समान ३/३ विकेट लिए । कप्तान सुशान भारीले २ विकेट लिए । प्रतियोगितामा बुटवलका मृनल गुरुङ मस्ट भ्यालुएबल खेलाडी बने भने बुटवलकै मैनुद्धिन खानले म्यान अफ द म्याचको उपाधि चुमे ।


यस्तै सन्दीप सुनार र राजवीर सिंहको उत्कृष्ट खेलसँगै एक्स्पर्ट रोयल शंकरनगरले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । एक्स्पर्टले सुपर–११ भैरहवालाई ६३ रनले पराजित गरेको हो ।


पहिला ब्याटिङ गरेको शंकरनगरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ६० रनको योगफल खडा गरेको थियो । जवाफमा भैरहवा १७.३ ओभरमा ९७ रनमा समेटियो । प्रतियोगिताबाट बाहिरिइसकेको शंकरनगरको जितमा सन्दीप सुनारले ३४ बलमा ४४ रनको योगदान गरे बलिङमा पनि उनले २ विकेट लिएका थिए । शंकरनगरका राजवीर सिंहले ३९ बलमा ४८ रन बनाए ।


प्रतियोगितामा शंकरनगरका राजवीर सिंह मस्ट भ्यालुएबल खेलाडी बने भने म्यान अफ द म्याचको उपाधि सन्दीप सुनारले जिते । सोमबारको पहिलो खेल सेमिफाइनल प्रवेशका लागि रूपन्देही पल्टन्स र बुटवल युनाइटेडबीच हुनेछ भने दोस्रो खेलमा सियारी राइनोजले मणिग्राम किङ्सको सामना गर्नेछ ।


पोल ‘ए’मा रहेको ज्ञानोदय गोल्डसले सेमिफाइनलमा स्थान सुरक्षित बनाइसकेको छ भने रूपन्देही पल्टन्स र बुटवल युनाइटेडबीच हुने सोमबारको पहिलो खेलको विजेता पोल ‘ए’बाट सेमिफाइनल जाने अर्को टिम हुनेछ । पोल ‘बी’बाट मणिग्राम किङ्स र पाल्पाली लिजेन्ड्स यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रकाशित : कार्तिक ४, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?