सिटी जितको लयमा

(एएफपी)

लन्डन — म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई शनिबारको खेलमा २–० ले हरायो र राहत महसुस गर्‍यो । डिफेन्डिङ च्याम्पियनले लन्डनको भ्रमण गर्दा उसको खेलमाथि शंका कायम थियो ।

त्यसलाई निस्तेज पार्दै सिटीले पहिलो हाफमा दुई गोल गरे। ग्याब्रिएल जेससको गोलमा अग्रता लिएको सिटीका लागि डेविड सिल्भाले दोस्रो गोल थपे।

यसअघिका खेलमा चेल्सीले लेस्टर सिटीले बर्नलीलाई २–१, चेल्सीले न्युकासल युनाइटेडलाई १–० ले हरायो भने टोटनहम वाटफोर्डको हातबाट १–१ को बराबरीमा रोकियो।

प्रकाशित : कार्तिक ३, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘सत्यको बयान’ सुनाउँदै बेपत्ताका परिवार

सत्य निरुपण आयोगले काम नगरेपछि प्रमाण संकलन र संरक्षणमा जुटे पीडित
घनश्याम खड्का, कलेन्द्र सेजुवाल

(सुर्खेत) — सानोमा बाबु गुमाउँदाको पीडा कस्तो हुन्छ ? बर्दियाका विष्णुप्रसाद चौधरीलाई सोध्यो भने जवाफ दिनुअघि भक्कानिन्छन् । ‘यो दु:ख भन्ने त कुनै शब्दै छैन,’ उनी भन्छन्, ‘बुबा नभएपछि जीवनको सबै सुख सकिँदो रहेछ ।’

तिनताक उनी १० वर्षका थिए । ५ कक्षामा पढ्थे । बाबु जगतराम थारूलाई २०५९ साउन १४ मा सेनाले घरै आएर पक्रियो । त्यस बेला उनकी आमा दुई जीउकी थिइन् । ‘हामी साना, बुबा नाइँ,’ विष्णु भन्छन्, ‘पेट पाल्न अर्काको घरमा काम गर्नुपर्‍यो, मेरो पढाइ पनि छुट्यो ।’

जगतराम जीवित रहे/नरहेको अझै पत्ता लागेको छैन । ‘बहिनी अपांग छे, दुई हजार महिनामा खर्च लाग्छ । आमा रोएको रोयै गर्नुहुन्छ,’ विष्णुप्रसाद भन्छन्, ‘मैले कति मात्रै सम्झाउनु ?’

उनले झैं द्वन्द्वकालमा बाबु गुमाएका कर्णालीका १० युवाले शुक्रबार आफ्ना कथाव्यथा सुनाउँदा नरुने कोही भएनन् । यी त प्रतिनिधि पात्र मात्र हुन् । मानवअधिकारवादी संस्था इन्सेकका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वमा साविक मध्यपश्चिममा राज्य र विद्रोही पक्षबाट ४ हजार ६ सय १६ को हत्या भएको छ भने ४ सय ८२ बेपत्ता छन् । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जनाको हत्या भएको छ भने ९९ जना बेपत्ताको सूचीमा छन् ।

राज्यले न्याय दिन आलटाल गरेपछि द्वन्द्वपीडित आफैंले आफ्ना कथा सार्वजनिक गरी अभिलेख राख्न सुरु गरेका हुन् ।

अभियानमा विष्णुप्रसादले लुटिएको बालापनको कुरा सुनाउँदा वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालका पनि आँखा रसाए । ‘न्याय दिने निकायले पीडितलाई न्याय दिने कुरा बिर्सिसकेको छ,’ उनले भनिन्, ‘सत्यको यस्तो बयानले विगतलाई झन् झस्काउने काम गरेको छ ।’

द्वन्द्वका क्रममा के भएको थियो भनी खोजतलास गर्ने जिम्मेवारी पाएको सत्यनिरूपण आयोगले काम गर्न नसकेपछि पीडितहरूले विगतका मानव अधिकार उल्लंघन घटनाको दस्तावेजीकरण गर्न थालेका छन् । यसलाई उनीहरूले ‘सत्यको बयान’ भनेका छन् । सुर्खेतमा शुक्रबार सुरु भएको सोही कार्यक्रम बालबालिका र किशोरमा परेको हिंसाको असरको अभिलेख राख्नमा केन्द्रित थियो । ‘सशस्त्र द्वन्द्वमा पीडा भोग्ने बालबालिका अहिले युवा भएका छन्,’ सत्यको बयानको आयोजक संस्था द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरी भन्छन्, ‘अभिभावक गुमाएपछि तिनको जीवनमा के–कति अप्ठेरो आइलाग्यो भन्ने नै कसैलाई चासो छैन, त्यसैले हामी यी घटनाको अभिलेख राख्न जुटेका छौं ।’

भागीराम आफैं पनि द्वन्द्वपीडित हुन् । उनी स्कुले केटो छँदा दाजु र भाउजूलाई माओवादी भएको आरोपमा सेनाले बेपत्ता पारेको थियो । ‘हाम्रो स्मरणशक्तिको सीमा छ, दिन बित्दै जाँदा घटनाहरूको सम्झना पनि विस्मरणमा पर्दै जाने भएकाले सत्य नै लोप हुने खतरा छ,’ चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी भन्छन्, ‘त्यसैले यसलाई जोगाइराख्न हामीले आफ्नो कथाको सार्वजनिक अभिलेख गर्न थालेका हौं ।’

वर्षौं मनमा गुम्सिँदै आएको सत्य आफूजस्तै पीडित र सञ्चारकर्मीका अघिल्तिर सार्वजनिक गर्न पाउँदा पीडित युवाले केही हलुको महसुस गरे । ‘द्वन्द्वले हामी सबको बालापनको खुसी मात्रै लुटेन, जिन्दगीभर बल्झिरहने दु:ख दिएर गएको छ,’ सुर्खेतकी २८ वर्षीया राजकुमारी ओली भन्छिन्, ‘हामीले अनाहकमा पाएको यो अन्यायको दु:ख कहिलेसम्म खेपिरहनुपर्ने हो ?’ आफ्नै लयमा चलिरहेको उनको परिवारलाई द्वन्द्वले तहसनहस पारिदियो । ‘मेरी दिदीलाई सेनाले बेपत्ता बनायो, जसको तोड सहन नसकेर बाबा बित्नुभयो, आमालाई प्यारालाइसिस भएकाले तीन वर्षदेखि बच्चालाई झैं खुवाउने र दिसाबपिसाब गराउँदै आएकी छु,’ उनी भन्छिन्, ‘जतिखेर पनि दिदीको फोटो हेरेर रोइरहनुहुन्छ ।’ उनकी दिदी दीपालाई स्कुलमै आएर माओवादीले आफूसँग लगेका थिए । त्यसको दुई वर्षपछि २०६० साउन २३ गते उनलाई सेनाले पक्राउ गरी बेपत्ता पार्‍यो । त्यतिखेर राजकुमारी १२ वर्षकी थिइन् । एउटा भाइ ४ र अर्को ६ वर्षका थिए । दिदीलाई बेपत्ता पारेसँगै सबैको खुसी खोसिएको उनले बताइन् ।

उनकी दिदीले ब्यारेकबाट बहिनी र बाबुको नाममा पत्र लेख्दै आफू ‘बाघको पञ्जामा छु, कतिखेर के हुन्छ थाहा छैन । जसरी हुन्छ मलाई यहाँबाट निकाल्नुहोला...’ भनी लेखेकी थिइन् । राजकुमारीसँग सुरक्षित रहेको यो चिठीले उनलाई अहिले पनि रुवाइरहन्छ । ‘तर हामीले केही गर्न सकेनौं दिदीका लागि,’ उनी भन्छिन्, ‘दिदीलाई त्यस्तो भएपछि आमाले चुरोट खान थाल्नुभयो, अहिले हातगोडा चल्दैनन् ।’ उनका एक भाइ विदेश गएका छन् भने अर्का भाइ सानै छन् । आफू विवाहित भए पनि आमालाई स्याहार गर्न उनी घरै छाडेर बसिरहेकी छन् । ‘एकक्षण म उहाँलाई छाडेर कतै निस्कन मिल्ने अवस्था छैन,’ उनले आँसु झारिन्, ‘घरकाले आइज् कि आइज् भनेर धर दिएका छैनन्, म घर सम्हालुँ कि आमा सम्हालुँ ? के गरूँ ? के नगरूँ ?’

राजकुमारीले यसरी कथा सुनाउँदा उनकै उमेरका युवा कृपासिंहका आँखा साउनको मूल फुटेझैं भए । उनले कथा सुनाउँदा राजकुमारी पनि त्यसै गरी रोएकी थिइन् ।

कृपासिंहको बालापन पनि रमाइलो गरी बितिरहेको थियो । ‘तर अचानक सब कुरा बदलियो,’ उनी भन्छन्, ‘मेरा बालाई बेपत्ता पारियो र हामीलाई घरबाट लखेटियो अनि हाम्रा सुखका दिन गए ।’ संकटकाल थियो । प्लम्बिङको काम गर्ने उनका ४२ वर्षे बाबु पुष्कर घर्तीसँग गस्तीमा आएका सेनाले बास मागे । उनले एक रातलाई बस्न दिए । यसबापत माओवादीले सोधपुछ गर्न भनी २०५८ जेठ २८ गते पुस्करलाई घरबाट लगेका थिए, जो आजसम्म फर्केर आएका छैनन् । त्यसपछि कृपासिंहको पढाइ रोकियो । घरको जिम्मेवारी सम्हाल्ने र बिरामी आमालाई औषधिमूलो गर्ने काम उनको काँधमा आइपर्‍यो । यस क्रममा लागेको ऋण तिर्न उनले विदेशमा चार वर्ष पसिना बगाए । ‘बाउ हुनु र नहुनुले जीवनमा धेरै अर्थ राख्दो रहेछ, उहाँ भएको भए मैले पनि पढ्न पाउँथेँ होला, जीवनमा केही गर्न सक्थे हुँला,’ उनी भन्छन्, ‘तर मैले सबै खुसी गुमाउनुपर्‍यो, मजस्तै दु:ख पाएका अरू साथीहरू पनि रहेछन्, उहाँहरूलाई भेटेपछि भने मन अलिक हलुको भएको छ ।’

‘सत्यको बयान’ मा यस्तै अनुभव गरिन्, बर्दियाकी २३ वर्षीया गरिमा खड्काले पनि । ‘हामी सबै उस्तै गरी सताइएका रहेछौं र हाम्रा दु:ख पनि उस्तै रहेछन्,’ उनले भनिन्, ‘हाम्रो जीवनमा जे जस्तो भए पनि अब आउने पिढीका कसैले पनि यस्तो भोग्न नपरोस् ।’ उनका बाबु जोरबहादुर प्रहरीमा २०४१ सालदेखिका जागिरे थिए । राष्ट्र बैंकको पैसा बोकेर २०५७ चैतमा १२ प्रहरीको एउटा टोली जुम्ला पुग्यो जसमा उनका असई बाबु पनि सहभागी थिए । ‘जुम्लामा बुबाहरूमाथि हमला भएछ, १० जना मारिएछन्,’ उनी भन्छिन्, ‘बुबाको चाहिँ गालामा गोली लागेछ, घाइते मात्रै हुनुभयो ।’ अरू मर्दा पनि उनी बाँचेकामा सहकर्मी प्रहरीले नै उनका बाबुमाथि शंका गरेछन् । ‘माओवादीसँग मिलेको होस् तँ भनेर घाइते अवस्थाका उहाँलाई उपचार गर्नुको बदला टन्टलापुर घाममा १२ घण्टासम्म राखेर यातना दिएछन्,’ उनी भन्छिन्, ‘त्यसपछि बुबालाई १५ वर्ष ६ महिना खाएको जागिरबाट राजीनामा गर्न लगाएछन् ।’

जागिर गुमाएर घर दैलेख फर्किएका जोरबहादुरलाई यता माओवादीले प्रहरीको जागिरे भनेर घेरा हाल्न आए । ‘मलाई याद छ, बाबा पुगेको दुई दिनपछि दैलेखमा माओवादीहरू समात्न भनेर आए,’ गरिमाले भनिन्, ‘हामीले रातारात भगाएर दुल्लुमा लगेर राख्यौं, त्यहाँबाट उहाँ भागेर भारत जानुभयो ।’ त्यसपछि माओवादीले घरमा छापा मारेर सुन–सम्पत्ति सबै लुटेको उनले बताइन् ।

यो सब विपत्तिका कारण गरिमाले लेखपढ गर्न पाइनन् । बर्दियामा मामाले दिएको सात धुर जमिनमा सानो छाप्रो बनाएर आमाका साथ उनको कष्टकर बाल्यकाल अघि बढ्यो । ‘अहिले बाबा भारतबाट आउनुभएको छ, प्यारालाइसिस भएछ, आमा पनि बिरामी हुनुहुन्छ,’ उनी भन्छिन्, ‘दाइहरू बिहा गरेर छुट्टै बसे, दिदीहरूको पनि बिहा भयो, म एक्लै बाआमा पालेर बस्नुपर्ने अवस्थामा छु ।’ बाबुले पेन्सन मात्रै पाएको भए पनि यस्तो दुर्दशा नहुने उनले बताइन् ।

गरिमाले कथा सुनाइरहँदा ४५ वर्षीया चन्द्रकला उप्रेतीले मन थाम्न सकिनन् । ‘हरेकका कथा सुन्दा मलाई आफ्नै दु:खले सताउँछ,’ २९ वर्षको उमेरमा श्रीमान्लाई सेनाले बेपत्ता बनाएपछि १६ वर्षदेखि खोजखबर गरिरहेकी उनले प्रश्न गरिन्, ‘कति मात्रै सहनुपर्ने हो हामीले यो दु:ख ?’

प्रकाशित : कार्तिक ३, २०७६ ०७:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT