१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विश्वकप छनोट : 'नेपालमै भेटौंला’

विनोद पाण्डे

अम्मान, जोर्डन — जोर्डनका प्रशिक्षक भिटेल बोर्केलमान्सले खेलको अघिल्लो दिन नेपालसँग जित हात पार्न नसके आफू निकै निराश हुने बताएका थिए । जोर्डनले विश्वकप छनोटमा खासै धार समात्न सकेको थिएन । त्यसैले उनीमाथि कतिसम्मको दबाब थियो भनेर महसुस गर्न सकिन्थ्यो ।

विश्वकप छनोट : 'नेपालमै भेटौंला’

जोर्डनले छनोटमा नेपालसँग ३-० ले जित हात पार्दा प्रशिक्षक बोर्केलमान्स नभएर जोर्डनको खेल सञ्चारकर्मीमा त्यो निराशा सरेको थियो । उनीहरू बोर्केलमान्सले जोर्डनी फुटबललाई उँभो लगाउन नसक्ने भनाइ दोहोर्‍याइरहेका थिए । जोर्डनका खेलकुद पत्रकारको भनाइ मान्ने हो भने नेपालसँगको खेल प्रशिक्षकको रूपमा उनको अन्तिम खेल भन्नेसम्म थियो ।


जोर्डनको ५ गोलको भिन्नताले मात्र बोर्केलमान्सलाई बचाउन सक्ने राय उनीहरू दिइरहेका थिए । तर स्थानीय सञ्चारकर्मी आफ्नो टोली विशेष गरी बेल्जियन प्रशिक्षक बोर्केलमान्समाथि विश्वास देखाउन सकिरहेका थिएनन् । उनीहरूको अनुमान जोर्डनले मुस्किलसँग ३ गोलले जित्छ भन्ने थियो । नेपाल गोल गर्नसक्ने टिम होइन भन्नेतर्फ उनीहरूको कुनै ध्यान गएको पुगेको देखिन्थ्यो ।


त्यस विपरीत नेपालका प्रशिक्षक योहान कालिनमाथि कुनै दबाब थिएन । कुवेतसँगको खेलमा ७-० को हारपछि उनको क्षमतामा प्रश्न नउठेको भने होइन । कुवेत त्यही टोली हो, जो सँग नेपालले फेब्रुअरीमा मैत्रीपूर्ण खेल्दा गोलरहित नतिजा निकालेको थियो । नेपालको प्रशिक्षकका रूपमा कालिनको त्यो पहिलो खेल थियो । कुवेतसँग विश्वकप छनोटमा भोगेको ७-० को हारलाई कालिनले अझै स्वाभाविक रूपमा लिन सकेका छैनन् ।


त्यसबाहेक अन्य खेलमा नेपालले क्रमिक सुधार गरिरहेको कालिनको दाबी छ । यस्तै दाबी उनको अस्ट्रेलियासँग ५-० ले र जोर्डनसँग ३-० ले पराजित खेललाई लिएर पनि छ । बोर्केलमान्सजस्तै कालिन पनि जोर्डन-नेपालको खेललाई लिएर सन्तुष्ट थिए । कालिनसँग त्यसको आधार छ । सन् २०११ मा विश्वकप छनोट खेल्न अम्मान आउँदा जोर्डनले नेपाललाई ९-० को पराजय चखाएर पठाएको थियो ।


‘यो राम्रो खेल रह्यो, हामीले आफ्नो सक्दो राम्रो गर्‍यौं । अस्ट्रेलियासँगको खेलभन्दा हाम्रो रक्षापंक्ति राम्रो भएको छ । मलाई लाग्छ हामीले पनि राम्रो अवसर पाएका थियौं,’ कालिनको प्रतिक्रिया थियो, ‘तर जोर्डन बलियो टोली हो र आफ्नै मैदानमा खेलिरहेकाले उसले त्यसको उपयोग पनि गर्‍यौं ।’


नेपालले मध्यान्तरसम्म गोलरहित बराबरी रोकेर जोर्डनलाई राम्रै चुनौती तेर्स्याएको हो । ५६ औं मिनेटमा यस्तो क्षण आयो जहाँबाट नेपाली टोली माथि उठ्न सकेन । दिनेश राजवंशीले यासिन महम्मद बखितलाई तानेर लडाएको भनी रेफ्रीले पेनाल्टी दिएको थिए । त्यही पेनाल्टीमा जोर्डनले खाता खोलेको थियो । कालिन त्यो गोलले खेलको नक्सा परिवर्तन गरिदिएको बताउँछन् । उनले त्यो पेनाल्टीलाई स्वाभाविक रूपमा लिएनन् । त्यसलाई निकै कठिन पेनाल्टी मान्दै उनले भनेका थिए, ‘म अर्को छेउमा थिएँ, त्यही भएर मैले स्पष्ट देखिनँ । तर पेनाल्टी निकै सामान्य थियो ।’


कुवेत, अस्ट्रेलिया र जोर्डनसँगको खेलमा नेपालको लगभग एकै शैली छ, जतिसक्दो हुन्छ रक्षात्मक खेल्ने । यसलाई लिएर कालिनले आलोचना पनि सुन्ने गरेका छन् । नेपालको खेल र स्तर कहिल्यै परिवर्तन भएन भनेर । अस्ट्रेलियासँग त नेपालले खासै कुनै गोल अवसर सिर्जना गर्न सकेन । चार रक्षक, पाँच मिडफिल्डर र एक्लो स्ट्राइकरको संरचना भएको नेपाली टोलीलाई आफूभन्दा निकै माथिको टोलीसँग अवसर बनाउन सजिलो छैन । जोर्डनसँग भने नेपालले केही राम्रो अवसर पाएको थियो । अनन्त तामाङ र सन्तोष तामाङले पहिलो हाफ तथा विमल घर्तीमगर र रोहित चन्दले दोस्रो हाफमा पाएको अवसर गुमाउँदा नेपाल चुक्चुकाइरहेको छ ।


जोर्डनका अहमद इस्रानको प्रहार रोक्दै नेपालका सुमन अर्याल । तस्बिर :एएफपी


नेपाल फिफा विश्व वरीयतामा १ सय ६१ औं स्थान र जोर्डन ९६ औं स्थानमा छन् । नेपालले अहिलेसम्म वरीयताको शीर्ष सयभित्रको टोलीलाई एक गोल मात्र गर्न सकेको छ । त्यो गोल पनि त्यही जोर्डनसँग ९ गोल खाएपछिको दोस्रो लेगमा दशरथ रंगशालामा भरत खवासले गोल गरेका थिए । त्यसैले जोर्डनसँग नेपालले मौका गुमाएको अवसर निकै महँगो देखियो । गोल भाको भए कथा अर्कै हुनसक्थ्यो । विशेष गरी पहिलो हाफको अवसर र पहिलो गोल खाएसँगै विमलले गुमाएको मौकाबाट कालिनलाई अझै विस्मात छ ।


कालिनले आफू आएपछि नेपाली टोलीले क्रमश:सुधार गर्दै आएको दाबी यिनै हुन् । कुवेतसँग नेपालले फेब्रुअरीमा दुई खेल खेलेको थियो । पहिलो खेलमा गोलरहित बराबरीपछिको अर्को खेलमा कुवेतले नेपाललाई १-० ले पराजित गरेको थियो । त्यसपछि मलेसिया र चाइनिज ताइपेईसँगको मैत्रीपूर्ण खेल हुँदै नेपाल विश्वकप छनोटमा उभिएको हो । चाइनिज ताइपेईमाथि छनोटमा उसैको मैदानमा पाएको २-० को विजय विश्वकप छनोट इतिहासमा नेपालको घरेलु मैदानमा पहिलो हो ।


बोर्केलमान्सलाई भने नेपालसँग भन्दा पनि जोर्डनकै सञ्चारमाध्यम झेल्न कठिन भइरहेको थियो । नेपालसँगको खेलअघि उनी आफूलाई अहिले नै मूल्यांकन नगर्न अनुरोध गर्दै छनोटपछि जोर्डन कुन स्थानमा हुन्छ अनि आफ्नो बारेमा धारणा राख्न भनिरहेका थिए । जोर्डनले छनोट चरणको यात्रा राम्रोसँग गर्न सकेको छैन । पहिलो खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २-१ ले पराजित गरेको जोर्डन त्यसपछि आफ्नै मैदानमा कुवेतसँग गोलरहित बराबरीमा रोकिएको थियो । जोर्डनले त्यसअघि पनि सिंगापुरसँग मैत्रीपूर्ण खेलमा गोलबिहीन बराबरी खेल्नुपरेको थियो ।


जोर्डनको पछिल्ला खेलको प्रभाव नेपालसँग मैदानमा देखिएको थियो । अम्मान अन्तर्राष्ट्रिय रंगशालाका आधाभन्दा बढी सिटहरू खाली थिए । जोर्डनका युवराज आफ्ना छोरासँगै खेल हेर्न आएका थिए । रंगशालामा उपस्थित आधाजति त उनै राजपरिवारका सदस्यको सुरक्षाका लागि जस्तो देखिन्थे । जोर्डनको खेलाडीलाई केही जोश उनै राजपरिवारले दिएको थियो । दर्शकले पनि बोर्केलमान्सलाई हुटिङ गरेर अब उनको दिन सकिएको भनिरहेका थिए ।


मध्यान्तरसम्म उनी अत्यधिक तनावमा देखिन्थे । खेल अधिकांश समय जोर्डनको नियन्त्रणमा थियो । जोर्डनले अधिक अवसर पाएका पनि थिए । जति पाएका थिए, त्यसमा केही नेपालका गोलरक्षक किरण चेम्जोङले बचाउ गरे भने केही पोस्टलक्षित नै हुन सकेन । त्यसमा बोर्केलमान्सको आक्रोश पनि बढ्दै गएको थियो । पहिलो गोलसँगै उनी खुल्न सकेका थिए । त्यसपछिका दुई गोलबाट उनको अनुहार पनि खुलेको थियो ।


त्यसले जोर्डनका सञ्चारकर्मीको अनुहार भने खोल्न सकेन । उनीहरूको ‘अस्वाभाविक’ प्रश्नबाट आर्जित भएर बोर्केलमान्स कहिले माइक आफ्नो टाउकोमा ठोकिरहेका हुन्थे भने कहिले यस्ता प्रश्नले आफू र जोर्डनलाई बलियो रूपमा उभिन सजिलो भएको तर्क दिइरहेका थिए । उनका लागि खेलअघि र पछिको पत्रकार सम्मेलन बक्सिङ रिङजस्तै बनेको थियो । ‘जोर्डनले ८४ मिनेटसम्मको खेलमा ८० प्रतिशतभन्दा बढी बल आफ्नो नियन्त्रणमा राखेको छ, त्यसमा नेपालको १० खेलाडी आफ्नो पोस्टवरपर हुन्थे, त्यही पनि तपाईहरू यो प्रदर्शनबाट किन निराश हुनुहुन्छ ?,’ उनी जोर्डनका सञ्चारकर्मीलाई प्रश्न गरिरहेका हुन्थे ।


जोर्डनमा लिग हुन नसकेको ५ महिना भइसकेको छ । प्रतिस्पर्धात्मक खेल खेल्न नपाएकाले जोर्डनको प्रदर्शन सोचेको हुन नसकेको उनी पनि स्विकार्छन् । तर यो पक्षबारे सञ्चारजगतमा कहिले नआएको उनको दुःखेसो छ । नेपालमा पनि ५ वर्षयता दुईपटक मात्र लिग हुन सकेको छ । धेरै नेपाली खेलाडीको प्रदर्शन र रोजीरोटी लिग नहुँदा प्रभावित हुँदै आएको छ । यसको प्रभाव राष्ट्रिय टोलीसम्म पुग्ने गरेको छ ।


दशरथ रंगशालाको स्वरुपमा कुनै परिवर्तन नआएकाले विश्वकप छनोटको पहिलो चरणमा नेपालले सबै अवे म्याच खेलेको थियो । जोर्डनसँगको खेल नेपालको छनोट यात्रामा चौथो अवे खेल थियो । भूकम्पपछि भत्काइएको रंगशाला पुनर्निर्माणकै क्रममा छ । डिसेम्बर १ देखि १० सम्म नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदअघि दशरथ रंगशालाको पुनर्निर्माण कार्य सिध्याइसक्ने योजना छ । त्यसअघि नै नेपालले नोभेम्बर १९ मा कुवेतसँग घरेलु मैदान दशरथ रंगशालामा पहिलो खेल्नुपर्नेछ ।


नेपाल-जोर्डनको खेल हेर्न रंगशाला पुगेका जोर्डनका राजकुमारसहित परिवारका सदस्य । तस्बिर :एएफपी


घरेलु मैदानमा छनोट चरणको बाँकी चार खेल खेल्न सुरु गरेसँगै नेपाली प्रशिक्षक कालिनमाथि धेरै आशा हुनेछ । एक क्रमिक सुधार भइरहेको नेपाली टोली कुन स्थितिमा पुगेको छ भनेर घरेलु दर्शकले पहिलो पटक हेर्न पाउनेछन् । अर्को नेपालले घरेलु मैदानमा खेल्दा धेरैका आकांक्षा ठूलो हुनेछ, प्रतिद्वन्द्वी जस्तोसुकै होस् । घरेलु दर्शकसामु कालिनले नेपाली टोलीलाई केही आक्रामक रूपमा प्रस्तुत गर्न सक्छन् ।


प्रशिक्षक बोर्केलमान्सको जोर्डनको स्थितिमा कालिन परिचित थिए र छन् । म्याचपछिको टनेलमा यी दुईको केही वार्तालाप चलिरहेको थियो । कालिनले उनलाई अब नेपालमै भेटौंला भन्दै निमन्त्रणा गर्दा बोर्केलमान्सले त्यसलाई खुला हृदयबाट लिन नसकेको बुझ्न सकिन्थ्यो ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?