नेपालको मिश्रित नतिजा

कान्तिपुर संवाददाता

काठमाडौँ — पहिलो दक्षिण एसियाली यू-१६ नेटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाकिस्तानलाई ३८-१३ स्कोरले पराजित गर्‍यो ।

नेपालको मिश्रित नतिजा

नेपालको जितमा वुमन अफ दी म्याचसमेत बनेकी ओजस्वी निरौलाले १३ अंक बटुलिन् । अर्को खेलमा नेपालले माल्दिभ्ससँग पराजय बेहोर्‍यो । निकै प्रतिस्पर्धातमक खेलमा माल्दिभ्सले नेपाललाई ३५-२७ ले रोक्यो । माल्दिभ्सकी आमिनाथ आनी वुमन अफ दी म्याच घोषित भइन् ।


लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शुक्रबार अर्को खेलमा भारतले मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा माल्दिभ्सलाई ४१-२१ अंकले पराजित गरेको भारत दोस्रो खेलमा श्रीलंकासँग ४०-२४ ले पराजित भयो । पहिलो खेलमा भारतलाई विजयी बनाउन अन्ली कुमारीले २४ स्कोर जोडेकी थिइन् । श्रीलंकाको जितमा हिरोनी हिसानीले २५ स्कोर गरिन् ।


नेपालमा पहिलो पटक आयोजना भएको च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन् । महिला सशक्तीकरणका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले च्याम्पियनसिप आयोजना गरिएको नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी दिए । च्याम्पियनसिप कात्तिक ५ सम्म चल्नेछ ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?